नुवाकोटको बेलकोटगढीमा रहेको कोटथुम्काको संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५ मा अवस्थित रहेको कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएपछि विभागको चासो देखिएको हो ।

चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त भएको रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाले गरेको आग्रहमा पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन गरेको छ ।
विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने भन्दै कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । उहाँले कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न लागि विभागीय निर्णय भएको बताउनुभयो ।

निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडाकार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गाविस वडा नं .४ मा अवस्थित कुमारीदेवी मन्दिर तथा दशैँघर नजिकै पर्ने कोटथुम्कामा जग खन्दा दुई मिटर गहिरोमा पुगेपछि माटोको करुवा, चिम्टा आकारको फलामे सामाग्री, ढुङ्गाको ओखल लगायतका पुरातात्विक संरचना भेटिएको थियो ।

त्यसपछि झिल्टुङ्ग सम्पदा बस्ती निर्माण समितिका अध्यक्ष बिनोदजंग भण्डारी र वडा नं.५ को तर्फबाट वडाध्यक्ष अनन्तराम नेपालले पुरातत्व विभागलाई पत्राचार गर्दै भेट्टिएका पुरातात्विक वस्तुहरुको अध्ययनको लागी आग्रह गरेका थिए ।

विभागले कोरोना सक्रमणको जोखिम कम भएपछि स्थलगत अनुगमन गरेर त्यसको इतिहासको अध्ययन गर्ने तयारी गरेको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभएको छ ।








































