काठमाडौँ, १२ जेठ ।
अखिल क्रान्तिकारीले सत्तारुढ नेकपाका विद्यार्थी संगठनका संयोजक ऐन महरलाई दम्भ नदेखाउन चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी दिएका हुन् ।
अध्यक्ष ढकालले माउ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना अनैतिक र गैरराजनीतिक टिप्पणी गरेको भन्दै सो टिप्पणीको घोर निन्दा एंव भत्सर्ना गरेका छन। उनले महरको तुच्छ विवेकहिन गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको खारेज गर्दै विगतको महान जनयुद्ध र हाल त्यसको उत्तराधिकारी आफ्नो माउ पार्टी र यसका हजारौँ शहिद बेपत्ता र घाइते योद्धाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको उल्लेख गरेका छन ।
अध्यक्ष ढकालले १९ दिने आन्दोलनमा खाली तिघ्रा ठटाएको भरमा मात्रै गणतन्त्र नआएको भन्दै यो परिवर्तन जनयुद्धको त्याग समर्पण बलिदानबाट प्राप्त भएको भनेका छन् । उनले माहाकाली सन्धी लगायत दर्जनौँ राष्ट्रघात अरबौँ हाम्रो खुन पसिना ठगेको एनसेलसँग मिलेमतो मेडिकल र शैक्षिक माफियासँग डिनर वालुवाटार जग्गा वाइडवडी घोटाला, होलि वाइन, सुन काण्ड, निर्मला काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार र अहिले एमसिसी जस्तो सदनबाट पारित गर्ने कर्म लगायत थुप्रै काण्डमा कालो पोतिएकाहरु साँचो अर्थमा राष्ट्रघाती र जनघाती भएको आरोप लगाएका छन ।
अध्यक्ष ढकालले बिज्ञप्तिमार्फत महरलाई आफ्नो टिप्पणी फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न समेत भनेका छन् ।