बागमती प्रदशेमा भएको राष्ट्रियसभा निर्वाचनमा अपाङ्गता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार अधिकारी ६४३६ मतभारसहित विजयी हुनुभएको हो ।
अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याउनुभएको छ। यस्तै बाग्मती प्रदेशकै अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी हुनुभएको छ । बस्नेत ६५३१ मतभारसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याउनुभएको छ ।
गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित हुनुभएको हो ।
यस्तै कर्णाली प्रदेश्बाट पनि सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) र अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ । अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्नुभएको हो ।
मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित हुनुभएको छ । कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्नुभएको हो । अन्यमा कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभार पाउनुभयो ।









































