-जानुका धमला
शहर सुनसान छ । बसन्त ऋतुको आगमनसँगै फेरी गाउँको सम्झनाले तान्यो मेरो मनलाई । यो पटक शहरमा पनि कोलाहल कम छ । प्राकृतिक सम्पदासँग नजिकबाट मितेरी नलगाएको समयको लेखाजेखा छैन । त्यहि प्राकृतिक मोहसँग मितेरी लगाउन अन्तरहृदयबाट प्रकट भएको भावना पुरा गर्दैछु ।
विश्व यतिबेला कोभिड १९ संग लडिरहेको छ । यो बेलामा खासै धनि र गरिबको बीचमा फरक छैन । किनभने सबै बन्दाबन्दी अवस्थामा रहनुको विकल्प नै छैन । यही समय मलाई अन्तर मनले गाउँ सम्झायो ।
बिहान उषाको किरण मन्द पर्ने बित्तिकै एक थान साइकल निकालें घरबाट । यात्रा अघिल्लो दिन तय भैसकेको छ । पुग्नुपर्ने नुवाकोट जिल्लाको विदुर नगरपालिका, साइकलको पाइदल दबाएँ, हरियो जंगल, साँकुरा, गुराँस फुलेका, पाखाभरी चराहरुको चिरबिर आवाजसँग पोखिँदैछन् मनको बलेसिहरु । मनको आभाष आफ्नैपनको छ । प्राकृतिक सुन्दरतासँग रमाउनुको मज्जा पनि । सायदैले बुझ्छन् यतिखेर आभाष आफनै मनको । बर्षाैपछिको उकुस मुकुसलाई एक कुनामा थन्काएर प्राकृतिक संसारमा रमाउनु पनि चानचुन रोमाच्चक चाहिँ छैन जीवनमा । त्यो प्राकृतिक सुन्दरतासंग रमाउँदै शिवपुरी राष्ट्रिय निकुञ्ज पुगें । काठमाडौं र नुवाकोटको सिमानामा उभिएर गाउँशहर नियाल्दै थिएँ, गुर्जेको यो चुचुरोबाट । अघिल्ला यात्राहरुमा दर्ता गराउने सवारी साधान यो पटक दर्ता थिएन । यात्रा लिखुं खोलाको किनारै किनार, छहरे बजार, विदुर हुँदै साततले दरबार थियो मेरो लक्ष्य । एकपटक बेसरी स्थानीय शहरबाट गाउँ छिरेको म कहाँ आइपुगें ।
छहरे खोलाको दोभान उस्तै थियो, तर पानीघट्ट थिएन । कविलासतिर लाग्ने लिखु खोलामा पक्की पुल बनिसकेको रहेछ । त्यहि खहरे खोलामा थुप्रैपल्ट दुवाली थुनेर खिराको पात र माछा मार्ने झार कुटेर कयाँै माछा मारेको थिएँ । लिखुमा पौडी खेल्दै गर्दा पानी छयाप्न आउने जुठे र माइलो माझीको बालपन अहो ! त्यो लिखु खोलामा एउटा युग त बगेर गएछ ।
क्षितिजमा उदाउँदै गरेको मधुर जुनको उज्यालोमा हामी प्रेमगित गाउथ्यौं । घट्टको नजिकै खोलामा माछा मारेर घटुवारे दाईको कालो कराईमा पकाएको ढिँडो, मसिनो माछा ढुंगामा पिसेर खाएको ढिँडोको स्वाद आहा !
टक्क उभिएर विस्मृतिको दोधारे दोभानमा आश्चर्यको घडि र घडिका प्रत्येक सेकेण्ड सुईले यो बिस्मयमारी समय बिताएको थाहा नै भएन । नजिक अनुभुति गर्नै नपाई बिलाई गएको समय । बिर्सन नसकेको जिन्दगीको अविष्मरणीय क्षणहरु ।
‘छहरेमा यहाँहरुलाई स्वागत छ ।’ ठुलो अक्षरमा लेखिएको होडिङबोर्डमा आखाँ अडियो । साइकलको ब्रेक लगाएँ र रोकिएँ । सेतो पोसाकधारी २ जना स्वास्थ्यकर्मी आएर आग्रह गरे, यहाँबाट नयाँ यात्रा तय गर्दै हुनुहुन्छ, आवश्यक चेकजाँच गरेर जानुस् । मैले सहज गरिदिएँ, चेकजाँच सकियो । मनमनै यति खुशी भएँ की साँच्चै सिंहदरबार त गाँउ गाँउमा शुरु भैसकेछ यस्तो शुसासन म कोमामा पुग्नुभन्दा अघि कहां पाउनु र दुनियाँमा ।
फेरी प्रिय झ्याँउकिरीहरुले आफ्नो पखेटा फिँजाएर गित गाउँदै थिए । अमिलीबोटे चौतारोतिर, म पाइदल दबाउँदै अगाडि बढेँ । अघिल्तीरको कालोपत्रे हालिएको सडकले रोमान्चकारी समृद्धी फैलायो । अचम्म ! कुनै समय मैले पसिना चुहाउँदै भरुवा बन्दुकको भारी बोकेर हिँडेको दुखित गोरेटो यहीँनेर थियो जुन गोरेटोबाट मैले वीरबहादुर आले मगर र चञ्चला आलेमगर (चेतनाको) घरसम्म जोडिन्थे । यही बाटोमा अहिले सफा चट भएर टुरिष्ट बस कुदिरहेछ । आहा ! समृद्धी क्या मौलाए छ । अचम्मको तुवालो मनभित्र दौडियो । पुल तरेर पारीपट्टी पुग्नै लाग्दा एउटा होडिङ्घ बोर्ड भेटियो, ‘नुवाकोट दरबार दुप्चेश्वर महादेब मन्दिर नौ कोटको इतिहास ताम्सालिङ्ग स्वायत्त राज्य नुवाकोटमा स्वागतम् ।’ म मेरै गाउँ जानको लागि नक्सा हेरिरहेको छु । यो बेला आत्मलाई तुत्कारेर मैले सपना गरेको समृद्धी दैलोमा छाडेर युरोपको कुल्लि जिवन । सायद मलाई केही भएको हुनु पर्छ, गांउबाट हराएको २० बर्ष भएछ । जीवनको एक दशक आधा चाहिँ कोमामा नै बिताएको रहेछु मैले धत् ! म कोमाबाट ब्युझिँदा त देशमा जनयुद्ध र लोकतान्त्रिक आन्दोलन टुङ्गिएर गणतन्त्र नेपाल आइसकेको थियो । यो कोमामा बस्दा के के भयो, त्यो बुझ्नको लागि म फेरी कोमामा नै पुगेँ ।
दोस्रो पटक म ब्युँझिदा देशले नयाँ संविधान जन्माइसकेको थियो । प्रदेशहरु निमार्ण भएका थिए । गाउँगाउँमा पनि सिंहदरबार आएको थियो ।
यो समय मेरो लागि निकै उपयुक्त थियो । केही समयदेखि सताइरहेको रोगको पनि उत्तम उपचार प्राकृतिक सुन्दरतासँग नाँच्दै रमाउँदै नागबेली बाटोहरुमा फुलेको सुनगाभा, लालिगुराँस र सुनाखरी फुलहरुको वास्ना लिँदै पे्रमिल भावमा बगिरहेको लिखुं खोलाको आवाजमा गोधुली सन्ध्यामा हराएको घामजस्तै, उनले प्रेमपूर्वक दिएको सम्झनाका शब्दहरुलाई मनको बँगैचामा सजाउँदै यो स्वप्नील संसारको यात्रामा थिएँ ।
यहि भ्रमित मनहरुलाई संगाल्दै फेरी साइकलको पाइदल थिचेको हुँ मैले नुवाकोट मेरै जन्मस्थलमा । आदिवासी जनजातिको सभ्यताले सिंगारिएको मेरो नुवाकोट । पृथ्वीनारायण शाहजस्तो योद्धाले निमार्ण गरेको नौ तले दरबार । परापुर्वकालदेखि इतिहासमा लेखिएको थुम्कै पिच्छेका मौलोहरु । मेरो वाल्यापनको यादहरु छरिएर बसेका छन् मनभरी । त्यही छरपस्ट यादहरुलाई यो पाली टिप्न हिँडेको थिएँ म । नुवाकोट दरबार छिर्ने बाटोमा देखेँ, सडकमा देखिने लिच्छविकाल र मल्लकाल सभ्यताका सजाइएका वास्तुकला धरमपाटी, उस्तै शिल्पबाट बनाइएको गेटमा लेखिएको थियो (नुवाकोट कोर्वा) मा स्वागत छ ।
तामाङ्गहरुको मौलिक पहिरनमा सजिएकी एक युवती अघिल्तिर उभिएर भनिन्, ‘ल्ह्यासो फया्फुल्ला (नमस्कार) ।’ मौलिक बाजामा रमाई रहेका विदेशी पर्यटकहरुको भिडमा खुब नाचेँ र अल्मलिएछु म त आफ्नै गाउँमा ।
अहो ! हो त, गाउँ त साँच्चिकै बदलिएछ । म चाहिँ संसार बदल्नु छ भन्दै छु अझै । धत् मोरी ! मेरो आत्माले मलाई नै सराप्दै थियो धारेहात लगाएर । मनभरि विस्मय र आत्मग्लानिको भाव बोकेर जंगल उकालो लागें । हरियाली नागबेली बाटो बनिसकेछ । मलाई देखेर होला उतरतिर गणेश हिमाल पनि फेरी मुसुक्क हाँस्यो । हो, त्यही हिमाल हेरेर हुर्किएको छोरी हुँ म । बारुदको कालो धुवाँलाई जितेकी गोरी हुँ म । वनदेवी मन्दिर नजिकै आइपुग्दा अचानक एउटा खरायो फुत्त उफ्रियो झाडीबाट हतारिदैँ ब्रेक दबाएँ । हेर्दै थिएँ, वनदेविहरुको लिलाराज प्रकृतिमा रमाएको, यहीबेला हरिण र मयुरको हुल पनि त्यहि थियो । भुइँजुरेली र तित्राले खेलेको जुहारीको भाका त पुरानै थियो मेरा कानका गुञ्जनहरुमा दृश्य मात्रै नविन थिए आखाँका लागि ।
नुवाकोट दरबार पुगेपछि तिनछक परेँ म । फराकिलो पार्क फुलैफुलले ढकमक्क । मुल गेटमा लेखिएको थियो ‘स्वागतम् नुवाकोट दरबार र माता भैरवी मन्दिर क्षेत्र ।’ कुनै बेला मैले सिन्दुरे जात्रा मेलामा आउँदाखेरी घर जाने बाटो भुलेको यहिनेर हो बद्रिमान मास्टरको दलान छेउ ।
पार्क हरियो मैदानमा फैलिएको थियो । बीचमा बाटोमा बिछ्याइएको ढुंगे कोरियोग्राफी उत्तिकै लोभलाग्दो थियो । मैदनटोलमा हाकुपटासीको त्यो प्राचिन मौलिकता र समृद्धीको आधुनिकता मिसाउदै इन्द्रचोकको पाटीमा रहेछ धिमेबाजाको अभ्यास र राजमतिको धुनहरु । गारदघरको पिपलको बोटमुनि एक जोडि गुन्गुनाइरहेका थिए प्रेमिल पलहरुमा मग्न हुँदै सायद उनीहरु कुरकुरे बैँश यो डाडाँको टुप्पोमा पोखिन आतुर थियो ।
यति सुन्दर सम्पदाहरुको बीचमा यो आलिँगनबद्ध, शालिक चाहिँ कसको ?
होला ? दरबार वरिपरी फुल गोड्दै गरेको माली कपाली भाउजुले मुस्कुराएर भनिन्, ‘यो शिलालेख पनि पढ्नु होला लौ मैयाँ ।’ गाउँलेहरुको लवजै मिठो थियो । यत्रो विकास तर भावना उस्तै, फेरिएनछ । कति आत्मीय भएछन् । मन शालिक तिर दौडियो । स्कुल पढ्दा गुरुले पढाउनु भएको त्यहि वीर योद्धा पृथ्वीनारायण शाहको विरताको कथाहरु सम्झेर ।
अहो ! आज त गाउँमा संघियता पो आएछ । बाटाहरू पूरै पिच, चिटिक्क र सफाचट थिए । दुवैतिर ढुंगा बिछ्याइएको जनताहरु हिँड्ने अलग व्यवस्था । हरेक आधा किलोमिटरको दूरीमा फोहोर फाल्ने चोयाको कलात्मक थुन्छे थिए । सफा र सुकिला मानिसहरू पब्लिक लेनबाट एकदम अनुशासित भएर हिँड्दा रहेछन् । एक जनालाई सोधि हेरें, उनी वडापालिकामा स्वयंसेवा गरेर फर्किरहेका रहेछन् । अर्कोलाई सोधें– उनीचाहिँ स्थानीय अग्र्यानिक फ्याक्ट्रीबाट ड्युटी सकाएर घर फिर्दै रहेछन् । एक युवतीलाई जिज्ञासा राखें– उनी कलेज सकाएर सामुदायिक फिल्म हलतिर हतार–हतार दौडिरहेकी थिइन् । परबाट एउटी अधबैंसे आइन् – उनी कम्युनिटी सपिङ सेन्टरमा अग्र्यानिक तरकारी बेच्न गइरहेकी रहेछिन् । रोजगारी त यसरी सिर्जना भएछ गाउँमा ।
टाउकोमा कुलाकी टोपी भिरेका एक युवकले मलाई निकै गहिरोसित नियाले । उनले त मलाई होमस्टे बस्न आएको पाहुना पो ठानेछन्– मुसुक्क हाँस्दै ढुंगा बिछ्याइएको बाटोतिर औंल्याइदिए । म साईकल घिर्सार्दै लुरुलुरु उतै लागें । एकै छिनमा पम्परागत वास्तुकलाले भरिपूर्ण मौलिक र भव्य टोल देखियो । घरहरूमा साँझबत्ती झलमल्ल थियो । सबै घर होमस्टेमा बदलिएछन् । एउटा ठूलो घरको आँगनमा पर्यटक झुरुप्पै थिए । त्यो घरको दोस्रो तलाको कलात्मक झ्यालछेउ लेखिएको थियो– नेवारी आर्ट एन्ड थिएटर सेन्टर’ ।
साइकल फर्काएँ
खट्याक खट्याक खट्याक आवाजमा ।
जवाफमा साइकलको पाइदल तिव्र गतिमा चलेको मात्रै आवाज सुनें मैले । म त तुफान गतिमा नुवाकोट जंगलको रोडमा कुदिरहेको थिएँ ।
यतिखेर विश्वभरी कोभिड १९ को आतंक छाएको थियो । सबै जना घरमै बसेका लकडाउनको नियमलाई पालन गरीरहेका त्यहि भएर होला सायद विदुर चोकपनि सुनसान थियो । भिडभाड हुने स्थानहरु खुल्ला थिए । वडा गाउँपालिका देखी नगरपालिकासम्मको जनप्रतिनिधीहरु जनतामा कोभिड १९ को कारणले देखिएको त्रासलाई शान्त पार्न अहोरात्र खटिरहेका । गाउँमा आएको सिंहदरबारमा प्रत्येक वडामा रहेका स्वास्थ्य चौकी त्यहि टोलीमा जनताले सुशासनको लागि भोट हालेर पठाएका जनप्रतिनिधिहरु संगै थिए । छक्क परें साँच्चै संघिय नेपालले यति चाँडै यो व्यवस्थाको जनतामा अनुभति गराएछ । धन्य, मेरो वडाका वडा सरकार प्रमुखज्यु जनताको खुशीको सिमानै रहेन ।
जनप्रतिनिधीहरु एक आपसमा यस्तो गरि सरसल्लाह गरिहेका छन्, म कल्पना गर्न सकिरहेको थिइनँ । जिल्लाको स्वास्थ्य समन्वयको जिम्मा लिनु भएको एक माननिय वडाको रिर्पोटको आधारमा कहाँ कति जना संक्रमित फेला परे को कहाँबाट आएका हुन् सबै विवरण संकलन गर्दै थिए । अस्पतालहरु निजी हुन् वा सरकारी सबै जनताको सेवामा तल्लिन छन् । पहिला हामीले मेडिकल माफिया भनेकोहरु आफ्नो आफ्नो अस्पतालमा सबै प्रकारका बिरामीको लागि सेवा दिनु भनेर आदेश दिइरहेका छन् । डाक्टर सा’पहरु आफनो पेशालाई पुजा ठानेर रातदिन नभनि खटिरहेका छन । कालो बजारियाको त क पनि छैन । सबै औषधी पसलहरुले यो आपत्विपद्को बेलामा आफुले तिरे जति पैसा लिएर सरल र सुपथ मुल्यमा औषधी माक्स बिक्री गरीरहेका छन् ।
जिल्ला प्रशासनसँग समन्वयकारी भूमिकाको काम गर्नु भएको रहेछ ठुलो माननिय कमरेडले जनताको हितमा लाठी नर्बसाइ कसरी सम्झाउने र यो महामारीबाट जनतालाई कसरी बचाउन सकिन्छ जनताको जीवनलाई कसरी सहज र सजिलो बनाउने भनेर अहोरात्र खटिरहनु भएको छ ।
अरु भाईबहिनी माननिय कमरेडहरुको त झन् के कुरा गर्नु ? दाइहरुनै भिडेपछि तँछाड मछाड गर्दै निर्वाचित क्षेत्रहरुमा गएर प्रत्येक वडाका अध्यक्ष र मातहतको कमिटीलाई टोल टोलमा वडा वडामा कोभिड १९ को बारेमा जानकारी भएको वडावासीहरुको नाम लिस्ट उमेर समुह देखी वैदेशिक रोजगारीमा गएकाहरुको डाटा विवरण संकलन गरेको देखें । यो महामारीमा विदेशबाट को को आए ? को कसले स्वास्थ्य जाँच गराउनु भयो ? अप्ठेरोमा परेका छन् कि ? ज्याला मजदुरी गरेर खाने को को छन् ? तिनीहरुको अवस्थाको बारेमा छर्लंग रिर्पोट । आफ्नो नागरिकलाई अप्ठेरो परेको बेलामा यति साह्रो अहोरात्र खट्ने नायकहरु तपाईहरुलाई सलाम । कोभिड संक्रमीतहरु बस्नको लागि बनाइएको क्वारेन्टाइन यति सभ्य र भब्य । लोभ मोह क्रोधबाट मुक्त मेरो आदरणीय सम्माननिय नेताहरु नुवाकोटका जनताहरुले तपाईहरुजस्तो नेता पाउनुमा गर्व छ । यस्तो खुसिले प्रफुल्ल मन भयो म नाचेँ, रमाएँ, खुसि पोखियो । साइकल र म दुईतिर । त्यो चिल्लो सडकमा बल्ड्याङ खाइएछ ।
झसङ्ग भएँ म झस्किएर ब्युझिँदा दुई तले खाटको ओछयानबाट भुईमा पो पुगेछु मेरो शरिर असिन पसिन भएको थियो । एक गिलास पानी सिनित्त पारें र फेसबुकतिर नियालेको त नेपालबाट कोभिड १९ संक्रमित भाइले लेखेको रहेछ, ‘एउटा राम्रो ज्वरो नाप्ने स्वास्थ्य उपकरण नहुँदा अहिलेसम्म पनि क्वारेन्टाइनमा नै छु ।’ हैट ! मेरो सपना र गाउँको विपना ।
Recent Comments