बाग्मती प्रदेशका सांसद बद्री मैनालीको स्वामित्वमा रहेको शित भण्डारले किसानलाई करोडौँ रकम ठगेपछि सांसदविरुद्ध आन्दोलन सुरु भएको छ । सदरमुकाम विदुरमा रहेको नुवाकोट शित भण्डार प्रालिले किसानलाई ठगेपछि किसान संघ नुवाकोटले आन्दोलनको सामना गर्न चेतावनी दिएको छ ।
नेपाल किसान संघ जिल्ला कार्य समिति नुवाकोटले विज्ञप्ति जारी गर्दै सरकारी अनुदानमा निर्माण भएको नुवाकोट शित भण्डारले किसानको माग सम्बोधन नगरेमा आन्दोलनको आधिबेहरीको सामना गर्न चुनौती दिएको हो ।
जिल्ला सचिव शिव गुणीद्धारा हस्ताक्षरित विज्ञप्तिमा पीडित किसानहरुले छानविन माग गरी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको उचित सम्बोधन गर्न माग गरिएको छ ।
शित भण्डारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप काम नगरेको र सोही अनुरुप किसानहरुलाई सेवा सुविधा नदिई ठगी गरेको भन्दै संघले आपत्ती जनाएको छ ।
किसानको हितबिपरित कार्य गरी शित भण्डार प्रालिले गरेको ठगीको विवरणसहित गत फागुन १० गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी परेको थियो । उजुरीमा नेपाल सरकारबाट ११ करोड २५ लाख रुपैयाँ अनुदानमा किसानहरुको हितको लागी कार्य गर्नेगरी निर्माण गरिएको शित भण्डार प्रालिले ५० प्रतिशत छुट दिने सम्झौता गरी चलनचल्तीको भन्दा धेरै भाउ राखेर १० प्रतिशत मात्रै छुट दिएको उल्लेख छ ।
छुट सुबिधा अपारदर्शी भएकाले सरकारसँग भएको सम्झौताको कार्यान्वयन उल्लङ्घन गरेर बढी रकम असुल गर्दै किसानहरुलाई ठगी गरेको उजुरीमा उल्लेख छ ।
नुवाकोट शित भण्डारले नुवाकोट सहित जिल्ला बाहिरका किसानलाई समेत बीउ प्रयोजनको लागी २५ प्रतिशत अनुदान छुट दिनुपर्ने सम्झौता गरेको भएपनि त्यसको पालना नगरी किसाहरुलाई ठग्दै आएको उजुरी परेको छ ।
शित भण्डारले कार्यालयभित्र राखेको शुल्क विवरणमा प्रतिबोरा ६० केजीको ३ सय १५ रुपैयाँ उल्लेख गरेर किसानसँग भने ३ सय ५० रुपैयाँ असुल्दै ठगी गर्दै आएको किसानको भनाइ छ ।