छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड ८ माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी दिनुभयो ।
‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको उक्त रेसमा विभिन्न ७ विधामा महलिा र पुरुषले प्रतिस्पर्धा गर्नेछ । जसमा १३.४ किलोमिटरको महिला र पुरुष खुल्ला, १३.४ किलोमिटर खुल्ला स्थानिय, ४.५ किलोमिटर खुल्ला जुनियर १६ वर्षमुनि (महिला– पुरुष), ४.५ किलोमिटर स्थानिय १६ वर्षमुनि (महिला– पुरुष) , ४.५ किलोमिटर स्थानिय ४५ वर्ष माथि, भेट्रान्स १३.४ किलोमिटर खुल्ला र स्थानिय आमाहरुको १.५ किलोमिटर रिले दौड रहेका छन् ।
दौड नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर बेलिनि, खड्गाछाप, राजओडार, सालचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ । क्रस कन्ट्री दौडको मुख्य विधा १३.४ को महिला र पुरुष विजेताले समान १५ हजार, दोस्रो हुनेले १० तथा तेस्रो हुनेले ५ हजार नगद पाउँनेछन् । १३.४ किलोमिटरमा विगतको कोर्स रेकर्ड बनाउनेलाई थप ५–५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
१३.४ किलोमिटर खुल्ला स्थानियको विजेताले १० हजार, दोस्रोले ७ र तेस्रोले ५ हजार पाउनेछन् । ४.५ किलोमिटर खुल्ला जुनियर १६ वर्षमुनि (महिला– पुरुष) र ४.५ किलोमिटर स्थानिय १६ वर्षमुनि (महिला– पुरुष), ४.५ किलोमिटर स्थानिय ४५ वर्ष माथिको शीर्ष तेस्रो हुनेले समान ६ हजार, ४ हजार र २ हजार प्राप्त गर्नेछन् ।
भेट्रान्स १३.४ किलोमिटर खुल्लाको विजेताले ८ हजार, दोस्रोले ६ हजार तेस्रोले ४ हजार प्राप्त गर्नेछन् । स्थानिय आमाहरुको १.५ किलोमिटर रिले दौडको विजेताले १२ हजार, दोस्रोले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ हात पार्नेछन् ।
पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरण सिंह बोगटी र पुष्पा भण्डारी र चौथोमा कास राई र प्रिया राई र पाँचौमा सुमन कुुलुङ राई र हुमी बुढामगरले उपाधि जित्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा १३औं सागका ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की र २०७५ को एसियन जुनियर युथ एथलेटिक्सका विजेता अजित कुमार यादवलाई बेलायतमा बसोबास गर्ने एथलेटिक्स प्रेमी सन्तोष राईले समान एक–एक थान स्पाइक सुज हस्तान्तरण गर्नुभएको छ ।