नुवाकोट बेलाबेला विभिन्न विषयमा चर्चामा आइरहन्छ। संघीय राजधानीको उत्तरी भेगसँग जोडिएको यो जिल्ला अचेल फेरि खुब चर्चामा छ । पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको निर्वाचनमा दोहोर्याएर भोट हाल्ने अवसर प्राप्त भयो । अझै तेहेराउन मिल्ने हो कि कतै भन्ने आशंका जीवित नै रहेको छ ।
पटक पटक विज्ञप्ति जारी गरी उजुरबाजुर पर्न गएको खुलेको छ । पत्रकार न हो आ-आफ्ना मिडिया हाउसबाट भए-नभएका समाचार पोष्ट्याउन कसले रोकेको छ र ? अचेल पत्रकारितामा पनि सामाजिक सञ्जाल जस्तै दुर्व्यवहार बढ्दो छ । जसले जेसुकै लेखेपनि समाचार मान्ने सोच बन्दै गएको छ ।
यसपाली नुवाकोट चर्चामा आएको कारण महासंघ निर्वाचनमा धाँधली भयो भन्ने विषय नै हो । विवाद उत्पन्न हुनुमा कार्यकारी पदमा आसिन पत्रकारहरुको दोष हो या कुनै राजनीतिक दलका नेताहरुको आग्रहमा प्रायोजित ? यो बुझ्न कठिन छ ।
हुन त नुवाकोट कुखुराले पनि राजनीति गर्ने थलो भनेर कतिपय व्यक्तिहरुले भन्ने गरेका छन् । त्यो कहिले सकारात्मक रुपमा त कहिले नकारात्मक रुपमा ।
देशैभरका पत्रकारहरुको चुनाव भर्खरै सकिएको भनेर विभिन्न मिडियाहरुमा नआएकाहोइनन् । तर नुवाकोट यस्तो जिल्ला बन्न पुग्यो जहाँ विजेताहरुले निधारमा लगाएका अबिरका तस्बिरहरु सामाजिक संजालमा रंगिन नपाउँदै पुछ्नुपरेको थियो । ७७ जिल्लामा नदेखिएको घटना नुवाकोटमा हुन पुग्यो । यसरी एउटा नमुना जिल्लाको रुपमा दरिन पुगेको छ यो जिल्ला ।
के कारण भन्ने प्रश्नहरु अनुत्तरित छन् । एउटै एलायन्स बनाएर सहयोग गर्ने प्रतिबद्धतासहित प्यानल बनाइएकोमा किन विश्वास गरिएन भन्ने प्रश्न एकातिर रहेको छ भने अर्कातिर निर्वाचन मत परिणामले जिल्लामा सबैलाई अचम्मित बनाएको छ । पहिलो कुरा मत परिणामको तुलनामा व्यक्तिलाई केही पाठ त सिकाएको नै होला । आफैं हेर्नुहोस्, अत्याधिक मत प्राप्तगरी विजयी भएका व्यक्तिहरुको दोहोर्याएर भएको मतदानपछि परिणाम निकै खस्किएको छ ।
नेतृत्वमा खेला गर्ने, अरुलाई पछार्नैपर्ने, आफू मात्र जान्ने बुझ्ने भन्ने बुझाई हावी हुदै गएको छ । राजनीतिमै पनि अब पार्टी होइन व्यक्ति हेर्ने प्रवृत्ति बढ्दै गएको छ । पत्रकारका नेतृत्व तहले के बुझ्नुपर्छ भने आफ्नो स्वार्थको मात्र हेर्ने होइन पुरै संगठनको हितमा काम गर्नुपर्छ ।
पत्रकारलाई त्यसै चौथो अंग भनिएको होइन । यसले जनता र सरकारका बीच पुलको काम त गर्छ नै, उसको कार्य उदाहरणीय पनि हुनपर्छ भन्ने मान्यता छ ।
तर, के यो मान्यताअनुरुप काम भएको छ त ? बरु उल्टै कुनै कामगर्दा गर्दै बिग्रियो अमानविय घटना भयो भने संरक्षण गर्ने स्थल पत्रकार महासंघ बन्न पुगेको छ । नुवाकोटमात्र होइन, देशैभर यो विकृति बढ्दो छ । मतदान गर्ने लाइनमा ड्राइभर, खलासीदेखि विभिन्न दलमा आबद्ध कार्यकर्ता, निजामती कर्मचारी तथा आइएनजिओमा आबद्ध भएका ब्यक्तिहरुकै राज रहेको देखियो। यस्तो बेथिति र विकृतिविरुद्ध बोल्ने को हो ?
पत्रकार हुँ भनेर विभिन्न नेता तथा उद्योगपतिहरुसँग बार्गेनिङ्ग गर्ने परिपाटी बढ्दो छ । यस्ता नकाम त बग्रेल्ती नै छन् । यस्ता नकाम घटनाका बेलिविस्ता बिस्तारै बाहिर आएका छन् । आउँदैछन् । पछि पनि आउनेछन् । सरकारी तथा विभिन्न परियोजनाहरुमा आफ्नो साधनको लागि इन्धन माग्ने,बार्गेनिङ्ग गर्ने तर कुरा नमिलेको अवस्थामा अपमान या दुर्व्यवहार गर्यो भनेर महासंघले बुझ्दै नबुझी विज्ञप्ति निकालेका प्रसंगहरु पनि थुप्रै छन् ।
महासंघ भनेको पत्रकारहरुको हकअधिकारका लागि बोल्ने संस्था हो, पत्रकारहरुको अभिभावक संस्था हो । तर व्यवहारमा ठीक उल्टो भइरहेको छ । अवस्था कतिसम्म दुःखदायी छ भने पत्रकारहरुको नाममा आएको तालिममा आफ्ना नातेदार पठाउनेसम्मको प्रचलन छ ।
स्कुलमा हुँदा बेलाबेला कार्यक्रमहरुमा पत्रकारहरु हातमा क्यामेरा र डायरी बोकेर आउँदा शिक्षक तथा शिक्षिकाहरु सबैले नमस्कार गर्दा ओहो भन्ने शब्द आउथ्यो । सबैले सम्मानका साथ बोल्ने गर्दथे । अहिले लाग्छ, त्यो बेलाको पो पत्रकार छवि बेग्लै थियो ।
आज लाग्छ, वास्तविक पत्रकारहरु निकै पछि छन् । अनि राजनीतिक दलका फेरो समाउनेहरु दलकै झण्डा बोकेर मैदानमा छन् । जसलाई लेख्नसँग कुनै नाता छैन । उनीहरु पत्रकारका नेताका रुपमा निर्वाचित हुन्छन् भने के भन्नु ? वास्तवमा जब जब पत्रकारको चुनाव नजिक आउँछ अनि कहिल्यै नसुनिएका, नदेखिएका र नपढिएका नामहरु वरिष्ठ पत्रकारका रुपमा हानाथाप गर्ने चलन छ । एउटा गोजीमा राजनीतिक पार्टी सदस्यता र अर्को गोजीमा प्रेस कार्ड बोकेका नेताबाट अनुमोदित पत्रकारहरुको बीच घमासान देखिन्छ ।
आफूलाई पत्रकार भन्ने तर संगठन खोलेर राजनीतिक दलका भातृ संगठनको रुपमा आफूलाई परिचित गरिरहेका छन् धेरैजसो । राजनीतिक दलका नजिक भएका पत्रकारहरु उम्मेदवार भएका छन् भने वास्तविक पत्रकार मतदातामा सिमित । अझ त्यसमा पनि कतिपय पत्रकार महासंघको सदस्य नभएकै कारण मतदानसमेत गर्न पाउँदैनन् । तिनका ठाउँ हली ठेकेदारले पत्रकारको बिल्ला भिर्छन् र भोट हाल्न छिर्छन् । विडम्बना !
अर्थात् अवस्था दुर्दशापूर्ण छ । यसर्थ अब पत्रकार महासंघलाई कस्तो संस्था बनाउने भन्ने बारे विमर्श हुनु आवश्यक छ । आफैंसँग प्रश्न गरौं, के ती सबै पत्रकार हुन् जो नेपाल पत्रकार महासंघका सदस्य छन् ? जो नियमित सञ्चारकर्म गरिरहेका छन् उनीहरु कतिपय सदस्य नै छैनन् जो सञ्चारकर्ममा आबद्धता नै छैनन् उनीहरुसंग प्रेसकार्ड छ ।
यी यावत् विषयमा नवनिर्वाचित कार्यसमितिले विशेष ध्यान दिनुपर्छ, पत्रकार र पत्रकारिताको छवि सुधार्न पत्रकारितामा आबद्धसहित महासंघ पनि पूरा शक्तिले लागि पर्नुपर्छ । यो त पत्रकारभित्रै शुद्धताको अभियान हो । यसपटकको निर्वाचनमा बदनामी कमाएको नुवाकोटे पत्रकारको छवि पखालेर सफा बनाउन जिल्लाकै सक्रिय पत्रकारकै योगदा आवश्यक छ । आउनुस् समिक्षा गरौँ । अघि बढौँ । अब पत्रकारलाई पत्रकार हुन दिउँ गैरपत्रकारलाई लखेटौँ । यो नै वाञ्छनीय छ नेपाल पत्रकार महासंघ नुवाकोटका लागि ।
त्रिशुलीखबर साप्ताहिकबाट