बाग्मती ।
चितवन भरतपुर महानगरपालिका वडा नं. ५ का भूमिहीन सुकुमबासीलाई निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानिय तहहरुमा जग्गाको निस्सा बाँड्न सुरु गरेको छ । बिहिबार भरतपुर ५ का भूमिहिन सुकुमबासीलाई निस्सा प्रदान गरिएको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर वडा ५ का वडा अध्यक्ष वडाध्यक्ष पदमपाणी सुवेदीले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गर्नुभएको थियो।
निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताए । आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीन मुक्त अभियान जारी रहेको भन्दै वडा ५ को नहरमा बसेका सबैलाई कुनै पनि हालतमा अर्को ठाँउमा जग्गासहित लालपूर्जा दिने घोषण गर्नुभयो ।
सोही अवसरमा बोल्दै मेयर रेनु दाहालले आफुहरुले चुनावी वाचाअनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफुहरुले भरतपुरको विकास नमुना हिसाबबाट गरिरहेको बताउँदै जनताको आवश्यकता पूरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । वडा अध्यक्ष वडाध्यक्ष पदमपाणी सुवेदीले भूमिहिनलाई लालपूर्जा दिने प्रक्रिया सुरु गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । कार्यक्रममा भरतपुर १० का वडा अरुण पिडित भण्डारी, भूमि आयोग भरतपुर महानगर सहजीकरण समितीका सदस्य अनक मगर लगायको सहभागिता थियो ।