-नारायण शर्मा
अहिले नेपाल एक यस्तो देश भएको छ जहाँ विचित्रका विडम्बनाका विषयहरु भए-गरेको पाइन्छ । ती मूलतः सात थरीका छन् ! हरेक विषयमा ती विपरीत पनि छन् ! ती बिडम्बनापूर्ण विषयहरु यसप्रकार छन् :
१. राजपरिवारका, सम्भ्रान्त वर्गका वा भनौँ कुलीनतन्त्रका राजा-महाराजा जस्ता शासकहरु बरु राष्ट्रवादी-देशभक्त, स्वाभिमानी र जनपृय हुने ! जस्तै-
महिन्द्र मल्ल, पृथ्वीनारायण, महेन्द्र र वीरेन्द्र शाह आदि ! तर सर्वसाधारण जनवर्गबाट आएर बनेका जनताका बिचमै रहेका र जनवर्गबाटै चुनिएका भनिएका काङ्ग्रेस-कम्युनिस्ट पार्टी र तिनका मुख्य-मुख्य नेताहरु प्राय: राष्ट्रघाती, देशबेचुवा , जनविरोधी र आत्मसमर्पणवादी दलाल हुने ! जस्तै: गिरिजा, ओली, प्रचण्ड, माधवकुमार नेपाल र बाबुराम आदि ।
२. निर्दलवादी, पञ्चायतवादी र निरङ्कुश राजतन्त्रवादी भनिएकाहरु चाहिँ देशभक्त, राष्ट्रप्रेमी, नैतिकवान, जनवादी/प्रजातान्त्रिक, जनपक्षीय, स्वच्छ र जनउत्तरदायी हुने ! जस्तै: टङ्कप्रसाद आचार्य, कीर्तिनिधि विष्ट, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्द, केशरबहादुर विष्ट, टङ्कबहादुर विष्ट, एकराज शर्मा, तेजविक्रम शाह र राजेन्द्र लिङ्देन आदि । तर आफूलाई बहुलवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी र समाजवादी-साम्यवादी भन्ने नेपालका काङ्ग्रेस-कम्युनिस्टका नेता-शासकहरु भने विदेशभक्त, राष्ट्रघाती, अनैतिक, निरङ्कुश, जनविरोधी र लोभिपापी हुने र पटक-पटक प्रधानमन्त्री, मन्त्री, सांसद हुन चाहने, कार्यकाल समाप्त भएपछि पनि कानुन बनाएर वा नबनाएरै पनि थप सुविधा माग गर्ने, जबर्जस्ती पदमा बहाल भैरहन चाहने । जस्तैः गिरिजा, देउवा, प्रचण्ड, ओली, महरा, रामवरण, अग्नि, पुष्पा आदि ।
३. कम्युनिस्टहरु कमाउनिष्ट हुने, माओवादीहरु खाओवादी हुने, कामरेडहरु दामरेड हुने, वामपन्थीहरु पामपन्थी र त्यागवादीहरु भोगवादी हुने ! जस्तै: नेपालका सबैजसो संसदवादी कम्युनिस्ट नेता, सांसद, राजदूत, मन्त्री-प्रधानमन्त्री र न्यायाधीश लगायतका उच्च पदस्थ साम्यवादी-समाजवादी भनिने संसद र सरकारमा रहेर आफूलाई सर्वहारा शोषित-पीडितवर्गका हिमायती भन्दै तर मारिरहेकाहरु । तर घोषित पुँजीवादी, उदारवादी र नवउदारवादीजस्ता पुँजीपति र सामन्त वर्गका प्रतिनिधि, नेता र शासकहरु पो सेवावादी, सहयोगवादी, गुमाओवादी र त्यागवादी हुने ! जस्तैः वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला आदि ।
४. सर्वहारावादी-
समाजवादीहरु परिवारवादी-व्यक्तिवादी र गुटवादी हुने ! जस्तैः एमाले र माओवादीका अधिकांश मन्त्री, सांसद र नेता एवं उच्च पदपाता र खातापिताहरु ! तर सामन्तवादी-प्रतिक्रियावादी शोषक उत्पीडक वर्ग र पार्टीकाहरु पो जनसेवी, समाजसेवी र पार्टी-क्रान्ति एवं समाजवादका सेवक हुने । जस्तैः सुवर्ण शमशेर, प्रदीप गिरी लगायतका नेका र अन्य प्रतिकृयावादी वर्ग र पार्टीका केही नेता-शासकहरु ।
५. क्रान्तिकारी वर्गवादीहरु प्रतिक्रान्तिकारी जातिवादी हुने, पार्टीवादीहरु गुटवादी हुने र जनवादीहरु धनवादी हुने । जस्तैः माओवादी केन्द्र, एमाले, एस र जसपा आदिका अत्यधिक नेता-कार्यकर्ताहरु ।
तर राजपरिवारका पुरातनवादी धर्म-सम्प्रदायवादीहरु भनिएकाहरु पो संघवादी, त्यागवादी, मूल्यमान्यतावादी हुने । जस्तैः बलि राजा, भिष्म पितामह, राजकुमार सिद्धार्थ (गौतम बुद्ध) आदि ।
६. पदवाला, पावरवाला, पहुँचवाला र पैसावालाहरु र तिनका पुत्रपुत्रीहरु मालिक बन्ने र तिनकै सालिक-प्रतिष्ठान पनि बन्ने । जस्तै: प्रकाशको सालिक र प्रज्ञा प्रतिष्ठान लगायत अन्य कैयौँ पावरवाला र पहुँचवाला निकटका आफन्तहरुका साली, प्रतिष्ठानहरु जनताको खुनपसिनाबाट जम्मा भएको रकमबाट बनाइएका र अझ तिनको नाममा आएको रकममा ब्रह्मलुट मच्चाएका क्रियाकलाप हरु । तर निष्ठावान्, नीतिवान् र नैतिकवान् एवं आस्थावान् र आदर्शवान् नेता-अभियन्ता र सहिद-बेपत्ता योद्धाहरु गुमनाम हुने ? नेपाल निर्माण अभियान र जनयुद्ध तथा जन आन्दोलनका हजारौं सहिद, बेपत्ता, घाइते, योद्धालगायत बहादुर शाह, भीमसेनथापा, भीम मल्ल, स्वनाम साथी, शक्ति लम्साल, शिवराज गौतम, अम्बिका साँवा, भक्तबहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा आदिजस्ता कैयौँ इमान्दार दिवंगत व्यक्तित्वहरुको कतै केही नाम-निशान नहुनु र केही भएका पृथ्वीनारायण, महेन्द्र, वीरेन्द्र र सेतु विक लगायतका सालिकहरु समेत तोडिनु र थुप्रै जिउँदा सहिदजस्ता निष्ठावान र नैतिकवान् नेता, कार्यकर्ता र योद्धाहरु अपमानित र तिरष्कृत भै गुमनाम हुनु !
७. जनता र देसका घातक अपराधीहरु अर्थात् हत्यारा, गुण्डा, डाँका, माफिया, भ्रष्ट, दुष्ट, दलाल, करछलुवा र फटाहाजस्ता शोषण-दमनकारी अपराधीहरुलाई राष्ट्रिय भनिएका पार्टी र नेताले टिकट दिने, पार्टी-कार्यकर्ताले अनुमोदन गर्ने र जनसमुदायहरुले निर्वाचित गर्ने अनि तिनै सांसद-मन्त्री भएर जनता र देसको शोषण-दोहन गर्ने ! जस्तै: अफताव आलम, दीपक मनाङ्गे, विनोद चौधरी र आर्जु राणा आदि । तर जनता र देसको सेवा र समृद्धिको लागि पूर्ण रुपले समर्पित महात्माहरुलाई न नेताले चिन्ने न त जनताले चुन्ने अनि जिन्दगीभरि अपहेलना, अभाव र अप्ठेराहरुसँग जुझेर गुमनाम भै बाच्ने वा मर्नुपर्ने !? जस्तैः स्वनाम साथी, रामेश, जीवन शर्मा, अमृत थापा, खम्बसिंह कुँवर आदि । के यो साँच्चिकै विचित्र र विपरीत विडम्बनाको विषय र विवरण होइन त ?