–जानुका धमला
त्यो बेलासम्म पनि मलाई जनयुद्ध खास लाग्दैनथियो जतिबेला माओवादीहरु भनेका जंगलमा बस्ने मानिस मात्रै होइन, समाज देश परिवर्तनको लागि व्यक्तिगत सुख सुविधा घर परिवार सबै छोडेर परिवर्ननको लागि भनेर राती राती मेरो घरमा लुक्न आउँथे ।
त्यही परिवर्तनकारी मान्छेहरुको भिडमा मैले अग्लो कद करिव ६ फिट अग्लो जोशिलो जुझारु युवा देखेँ । उनी अलि फरक थिए । कारण राम्रो सँग मादल बजाउँथे उनी । मादलको तालमा आफुले रचना गरेका गीतलाई लय मिलाएर गाउथे उनी । चन्चल आलेमगर क.चेतना उनको स्वरमा स्वर मिलाउँथिन । आजका मेरा स्मृतिका पाहुना नुवाकोटको कुमरीमा जन्मनुभएका राम बहादुर तामाङ (क.दावा) ।
सम्झनामा हजारौँ हजार योद्धाहरुको आकृति आईदिन्छ एकैपटक । मेरा यात्राका सहयात्रीहरु सबैलाई मन मष्तिकमा बास दिएको छु मैले तिम्रो राज्य फैलाउ भनेर । त्यही मन मष्तिकका साक्षी हुन राम बहादुर तामाङ (क.दावा) कुमरीमा जन्मिएका उनी । आर्थिक, राजनैतिक, सामाजिक परिवेशले समाजमा पारेको थलालाई फेर्न परिवर्तनको बाटोमा लागेका हुन् उनी । सपना एउटै थियो हाम्रो संसारमा साम्यवाद स्थापना गर्ने, आम शोषित पिडित जनताको पक्षमा आवाज बुुलन्द गर्ने सगरमाथाको देशबाट विश्वलाई सर्वहारा वर्गको पनि राज्य सत्ता आउँदैछ भनेर उद्घोष गर्न ।
अहो मुक्ति वा मृत्युको लडाइँमा उ शहिद भयो अर्थात उ मरेर संसार जित्यो । म अझै पनि ईट्टा पोल्ने भट्टाको चिम्नी भित्र छु चिम्नीको तातो रापमा म कति स्पात भएर निस्कन्छु वा त्यहीँ विलिन हुन्छु त्यो समयमा निहित छ । म बाँचेर त चिम्नीको रापले पोलेको छ र छटपटाउँछु आजकाल । बलिदानको आडमा सत्ताको उन्मत भएका लुटेराको पंक्तिलाई नियाल्न बाध्य छु म ।
साहित्य लेखनमा निकै रुची थियो उनको । शब्द सिर्जना गर्थे, गीत गाउँथे, मादल हार्माेनियम बाँसुरीमा पनि उत्तिकै पोख्त थिए । कुशल जनमुक्ति सेनाको कमाण्डर त थिए नै, उनी जनताको प्रिय कलाकार थिए पनि थिए । ‘ओ शासक गाउँ छोड, सत्ता हाम्रो ठाँउ छोड’ भनेर गाएको गीतले ब्युँझिएको बस्तिहरु अहिले पनि गाँउ घर जाँदा सोध्ने गर्छन् दावा कता छन् भनेर ? उनी जहाँ जान्थे त्यो ठाउँमा कहिल्यै नबिर्सने बलियो वर्गिय गुण लगाएका हुन्थे । जनतासँग चाँडै घुलिमलि हुन सक्ने क्षमता थियो उनमा ।
उनीसँगको सहयात्राका यादहरु नियाल्ने हो भने २०५८ साल साउन ४ गते विदुर नगरपालिका स्थित तादी खोलाको पुलमा रहेको प्रहरी चौकी आक्रमण गर्दा चौकी कब्जापछि सँगै गएका साथीहरुले छोडेर हिडे । ३ वटा ३०३ साइफल बोकेर बस चढेर बेतीनी जंगलमा साउनका रातभरि राइफल कसिलो अंगालोेमा हालेर सुरक्षीत गरेर कमाण्डरलाई बुझाउने कर्मयोद्धा हो उ । कति निस्वार्थ थियो वर्गिय प्रेम साउनको झरीमा रातभरी भिजेर राइफल बचाउने त्यो योद्धालाई अहिले हिजोका तिनका नेता सहयात्रीले चिन्छन होला त ? हिजोको अवस्थामा उनीसँगै हार्माेनियम, किबोर्ड, मादल, तबला बजाउँदा खुव दोस्ती गर्नेहरु पनि आज चुपचाप लाग्दा लाग्छ अव चिन्दैनन् उनीलाई तिनीहरुले । चिनेर पनि के फाइदा छ र ?
अदम्य साहस थियो उसको । भेटमा भन्दै थियो, करिब ५०० मिटर नजिकै सेनाहरु राइफल खोज्दै आए । श्वास पनि रोकेर बसे झाडीमा उनीहरु गएको थाहा पाएपछि मात्रै निर्धक्क भएर सास फेरेको हुँ र त्यो हतियार बचाएको हुँ जुन हजारौँ सहयोद्धाहरुको रगतमा साटिएको हो, क्रान्तिप्रति त्यती इमान्दार थियो उ ।
२०५८ साल तिर नुवाकोटको थप्रेक गाउँतिरका बुवा आमाहरुले भनेको कुरा याद छ, दावालाई सेनाले मार्न खोज्यो भने वा हाम्रो गाउँबाट समात्यो भने हामी मर्छौ तिमीलाई मर्न दिदैँनौ । त्यती मिठो वर्गिय प्रिति थियो उनीसँग नुवाकोटका जनताको । त्यति मिठो वर्गप्रिति लगाएर जनताले बनाएका नेतालाई त्यही नेताहरुले नचिन्दा कस्तो महशुस हुन्छ होला आजकाल ति आमा बाबाहरुलाई ? आफुले नखाएर नेताहरुलाई खान दिएको भातको मुल्य चुक्ता भयो त ? हिजो बाँडेका सपना कहिले पुरा हुन्छ त महोदयहरु ? छरपस्ट छन् मेरा सवालहरु आज पनि । हुन त दलाल र भ्रष्टाचारले खाएको गणतन्त्रमा कसलाई सोध्नु यो प्रश्न ?
दावा राजनीतिमा वर्गलाई जहिले पनि प्रधान मान्थे । जीवनकर्ममा हुने गरी देखिने र बोल्नमा समानता थियो उनको । रसुवा नुवाकोट लगायत मध्ये कमाण्डका प्रत्येक गाउँ र वस्तिहरुमा आफ्नै गोडामा पदचाप छ, उनको यो माटोमा । कति बलियो थियो वर्गिय प्रेम । जातभात छुवाछुत छलकपटमुक्त यात्रा ‘मरे एउटा जीवन जिते सिंगै संसार’ धर्ती ओछ्याउने र आकाश ओढ्दाको अमिट स्मरणहरु छन् । अहिले पनि हृदयका कन्दराहरु बाट प्रकट हुन्छ उद्देलना त्याग समपर्ण र वर्गिय प्रेमका कथाहरु ।
गणतन्त्र स्थापना गर्नको लागि भएको बलिदानीका हजारौँ योद्धाहरुको मध्येको एउटा योद्धाको कथा हो यो । यो त्यही ब्यक्ति हो जुन २०५९ साल माघको युद्धविराम पछि डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको कृष्ण बहादुर महरा, राम बहादुर थापा (क.बादल) देव गुरुङ, मात्रिका यादव सदस्य रहेको मध्ये अहिलेको बहालवाल गृहमन्त्री राम बहादुर थापा बादलको सुरक्षा गार्ड । हिजोका विषम परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर उनलाई बचाउने बादलले अहिले दावा जस्तो कर्मवीरको याद गर्दैैनन् ? म निःसन्देह भन्छु गर्दैनन् । गर्छन् त केबल व्रिकेश बोकेर लाइनमा दौरासुरुवाल कोट टाई लगाएर खडा हुनेहरुको । यदि याद आउथ्यो भने सर्लाहीमा कुमार पौडेल आतंककारीको नाममा मारिने थिएनन् ।
मुक्तियात्राको अर्का सहयात्री हुन् उनका विरेन्द्र श्रेष्ठ (क.अजय) यसरी सम्झन्छन् दावालाई । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक वार्ता टोलिको सार्वजनिक हुने बेलामा रमाइलो पारामा भन्दैथिए, रुपरंग उचाई के के मिलेर होला म बादल कमरेडको बडिगार्ड पो भएछु । मलाई गर्व छ, मेरो कमाण्डर प्रति यो अवसरलाई आफ्नो प्राणको बाजी लगाएर भएपनि जिम्मेवारी पुरा गर्र्ने छु । हो, उसले आफ्नो जिम्मेवारी पुरा गर्यो प्राणकै बाजी लगाएर तर बिडम्बना तिनको रगतका आला डोबहरुमा टेकेर सत्ताको सिँडी चढेकाहरुले अहिलेसम्म पनि न क्रान्तिको जिम्मेवारी पुरा गर्न सके न पुरा गर्न सक्ने अवस्था नै छ ।
जनमुक्ति सेनाको फौजी आक्रमण सदरमुकाम र सडकमा केन्द्रित थियो । उपत्यका वरिपरी गरिने फौजी गतिविधिले निकै महत्वपुर्ण अर्थ राख्ने गर्दछ काठमाडौँलाई । कृष्णभीर साँखु जस्ता जनमुक्ति सेनाको फौजी आक्रमणबाट प्रतिकृयावादीहरुको सत्तामा निकै दख्खल पुगेको थियो । त्यही जिम्मेवारी वहन गर्दागर्दै शहिद भएको हुन् (क.दावा ) २०६२ साल आजकै दिन अर्थात जेष्ठ २० गते ।
नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका अन्तर्गत पासा¨ल्यामु राजमार्ग अन्तर्गत बेतिनी जंगलको ढुंगा खानीमा एउटा कर्मविर योद्धा विलायो । उसलाई तत्कालिन शाही सेनाहरुले एम्बुसमा पारेर मारे । त्यो अग्लो कदको मान्छे त्यही विलिन भयो । उसको भौतिक शरिरलाई समेत कुकुरलाई टोक्न लगाई लगाई मारे तत्कालिन शासकका सिपाहीहरुले ।
वर्ग परिवर्तनको खातिर एउटा क्रान्ति वीर मुर्छित भयो कहिले नउठ्ने गरी भौतिक रुपमा कहिले नभेट्ने गरी । कस्तो विडम्बना, उ कहिल्यै उठ्नै सकेन । उ उसको घरको बारी थियो, खेत थियो बैंक ब्यालेन्स थियो । उ उसको परिवारको सर्वस्व थियो । तिनी मर्दा तिनको बालबच्चा श्रीमती मात्रै डाँको छोडेर रोएनन् सर्वहारा जनता पनि रोए । उ निम्छरो मान्छेहरुको आवाज थियो । सपना विहिनहरुको सपना थियो । त्यसैले त उसको वियोगमा सर्वहाराहरुले आँशु बगाए प्रिय दावा । उसका सपना पनि मुर्छित भएर त्रिशुली र तादीका किनारामा किनारित छन् । त्यही पनि बेमौसममा आउने भेलले बगाएर कतै मिसाईदिएको छ आजकाल उसको सपना । गुनासो सुन्ने पनि कोही छैनन् सुनाउने ठाउँ पनि छैन् । अहो त्यो अवस्था र यो अवस्था आकाश पातालको फरक छ ।
लिला ब्लोन (क.सुचना) को सम्झनामा दावाः
‘हामी जिल्लामा जनमुक्ति सेनाको फर्मेशन स्थापना भएदेखि नै संगै काम गरेका हौं । असल सहयात्री र कुशल कमाण्डरमा हुनु पर्ने गुणले भरिपुर्ण कमाण्डर हो दावा । जटिल परिस्थितिमा पनि सही निकास निकाल्न सक्ने क्षमता थियो दावामा । रिङ्ग भित्र हुने प्रत्येक कारबाहीमा हामी सँगै हुन्थ्यौ कम क्षतिमा बढी उपलब्धी प्राप्त गर्न कमाण्डर हुन बिडम्वना उनी नै युद्धमोर्चामा विलिन भए ।’
तत्कालिन सँस्कृतिकर्मी पुजा श्रेष्ठ को स्मृतिमा दावाः
‘कुशल कमाण्डको साथमा राम्रो कलाकार पनि हुनुहुन्थ्यो, उहाँले लेख्नु भएको गीतको हरफहरु सम्झँदै कृष्णभिर, ककनी साँखु गुर्जे हुदै आइपुग्यो जनसेना तिम्रो दरबारमा…….’
तिम्रो त्यो दरवारमा पुग्ने सपना पुरा भएन । तिम्रो बलिदानले प्राप्त भएको गणतन्त्रमा तिम्रो त्याग बलिदान कुरा हुँदैन । मात्र भ्रष्टाचार दलाल लुटेराहरुको हुन्छ । जनतालाई सुसुचित गर्दे कालाभ¥याङ माने भ¥याङ करेजुङ्गका बस्तिमा पुग्दा बुनेका सपनाहरु झन् मुर्छित छन् । चेलीबेटी बेचविखन उन्मुलन गर्ने, समाजमा सुशासनको प्रत्याभुति गराउने, करेजुङमा भ्युटावर संचालन गरेर पर्यटकिय क्षेत्र घोषणा गर्ने विभिन्न काल खण्डमा भएको राजनैतिक बलिदानको सम्झनामा बिशाल पार्क निमार्ण गर्ने, शहीदका शालिकहरु निमार्ण गर्ने जनताको सुशासन ल्याउने ।
माफ गर दावा, तिमीले देखेका सपनाहरुमा कुठाराघात भयो । तिमी शहिद भयौ । अहिले तिम्रो नाममा शालिक वा अक्षयकोष बन्दैन् । यो वा त्यो बहानामा आफ्ना मान्छेहरुको नाममा बन्छ । अझ भनौँ बाबा आमाको, दिदीबहिनी, दाजुभाईको नाममा बन्छन् । तिमी जस्तो कर्म योद्धाको नाममा बन्दैनन् । अब यहाँ वर्ग नै फेरिसकेको छ कसरी तिम्रो बलिदानको मुल्यांकन हुन्छ र दावा ? तिम्रो सर्वहारा वर्गप्रतिको निष्ठा, त्याग, समपर्ण र बलिदानलाई लाखौं लाख सलाम † तिम्रो निष्ठाको राजनीतिप्रति हृदयदेखी नमन गर्दछु । तिम्रो बलिदानी आत्माप्रति लाखौ लाख श्रद्धासुमन दावा !!!