अहिले तिव्रतर चर्चामा रहेको नेपाल भारत सिमाअन्तर्गतको नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानी बारे विभिन्न क्षेत्रका विज्ञ र जानकारहरुका धारणा आइरहेका छन् । सरकारले लिम्पियाधुरा समेटेर पुरानै नक्सा प्रकाशन गरेपनि धेरै पहिलेदेखिको नेपालीभूमि भारतले मिच्दा सरकार र राजनीतिक तैँ चुप मै चुपको अवस्थामा थिए । विगतमा प्रभाव र दबाबमा गलत नक्सा प्रकाशित गर्नेहरु अहिले सिमाका विज्ञ र राष्ट्रवादी बनेर अगाडी आएका पनि छन् ।
सिमाविद् बुद्धिनारायण श्रेष्ठ नापि विभागको प्रमुख रहँदा पनि नेपालको नक्सा गलत जारी गरिएको थियो । अहिले उनै सिमाविद्लाई आधार मानेर विभिन्न समाचार लेख र भिडियो सन्देश जनतामाझ फैलाईएको छ । सिमाबारे जानकार रतन भण्डारीले श्रेष्ठको लेख समाचार र भिडियो सन्देशमा भएका गल्तीलाईँ चिरफार गरेका छन् । श्रेष्ठ र भण्डारीबिचको सवाल जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
यसबारे विस्तृत tv bargasatta online youtube channel मा हेर्न सकिनेछ ।
बुद्धिनारायण श्रेष्ठः यस्तै हौं हामी सबै नेपाली, अगाडी हिंडेकोलाई खुट्टा तान्छौं म हामी तपाइँ । मबारे क्रिया प्रतिक्रिया आयो । राम्रो लागेको छ । होचो मान्छेप्रति यति भनिदिनु पनि तपाइँहरु सबैको महानता हो ।
रतन भण्डारी : जनता भेडा छैनन्, जनताको चेतनाको स्तर माथि छ । त्यसैले कोही अगाडि हिड्यो भन्दैमा उसले हिडेको गलत बाटो हिड्न सकिँदैन । यहाँ मान्छे होचो अग्लोको सवालमा प्रश्न उठको होइन । सार्वजनिक विषयमा प्रश्न उठेको हो, जसको जवाफ सम्बन्धित व्यक्तिले दिनु उसको कर्तव्य हुनआउँछ ।
बुद्धिनारायण श्रेष्ठः भिडियोका सम्बन्धमा ‘लिपुलेकबाट निक्लेको नदीमा अहिलेसम्म ठिकै छ’ भनेको गब्र्याङसम्मको ठिक छ भनिएको हो । अनि मैले भनेको थिएँ– सिमानालाई पूर्व्तिर रातो लाइनले मोडेको ठिक छैन भनेको थिएँ । यसको अर्थ सीमा ठिक छैन भनेको हुँ । भिडियोमा लिम्पियाधुरातर्पm सीमा सोझ्याएको चाहिं कसैले उल्लेख गर्नु भएन किन हो कुन्नी ?
रतन भण्डारी : सीमाविद् ज्यू माफ गर्नुहोला । तपाईले जानीजानी भिडियोमा गलत सन्देश प्रवाह गर्नुभएको छ । भिडियोको ०ः३१ मिनेटबाट यहाँले अब हामी लिपुलेक तिर लागौँ । यो नदी हेर्नुस, लिपुलेकतिरबाट आएको नदीमा चाहिँ अहिलेसम्म सिमाना ठीकै छ । यो पहेलो लाइनले सिमाना देखाइएको छ । भन्नुभएको छ । अनि भिडियोको ४ः १७ मिनेटमा लिपुखोलालाई माथितिरबाट देखाएर तल झर्दै …यो नदी बगेर आयो चै काली नदी महाकाली नदी, महाकाली नदी, महाकाली नदी बगेर आयो भनेर लिपुखोलालाई महाकाली देखाइरहनु भएको छ । यसरी आफूले संसारले छांगै देखिने गरी भिडियोमा बोलेको गलत कुरालाई कसरी मैले त्यसो भनेको होइन भन्नसक्नु हुन्छ ? तपाईको भिडियो उतारको सम्पूर्ण अंश मैले ग्रूप इमेलमा पनि सबैलाई पठाएको छु, जता जवाफ दिनुभए पनि हुन्छ ।
बुद्धिनारायण श्रेष्ठः २०३२ सालको नक्साबारे मैले भनेको कुरा आधा मात्रै किन लेखियो ? मैले त्यहाँ हालेको नक्सा हेरेर अर्थ लगाउँनुहोस् । मैले त बजारमा उपलव्ध नभएको खुँडे नक्सा जनमानसको जानकारीका लागि उजागर गरेको हुँ । समाजमा जानकारी गराउन नहुने भए क्षमा प्रार्थी छु । यसबारे पुण्यप्रसाद ओलीका २०७६ मंसिर १९ को नयाँ पत्रिकाको लेख किन उल्लेख गरिएन यहाँ ? कृपया पढ्नु हुन अनुरोध छ । अनि छर्लङ्ग हुन्छ ।
रतन भण्डारी : तपाईले २०३२ सालमा नक्शा बनाउँदै थियौँ लिम्पियाधुरा पुग्ने गरी तर माथिको आदेशले रोकियो भन्नु भयो । जबकि तपाईलाई २०५५ भदौमा लण्डन आउँदासम्म पनि लिपुलेकबाट आउने नदी नै काली हो भन्नेमा थिएँ, लण्डन आएर नक्शा हेरेपछि लिम्पियाधुराबाट आउने नदी काली हो भन्ने निष्कर्षमा पुगेको छु भनेर २०५५ भदौ १० गते बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रसँग अन्तर्वार्ता दिनु भएको छ । त्यो अन्तर्वार्ता उतार गरेर तपाईले आफ्नो पुस्तक नेपालको सिमानाको पहिलो संस्करण २०५७ मा छाप्नु भएको छ । तर २०७५ असोज ४ गतेको अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पृष्ठमा तपाईले नक्शा नेपालको, छपाई भारतको शीर्षकमा हामीले ०३२ सालमै लिम्पियाधुरा देखिने नक्शा बनाउन खोजेका थियौँ तर दरबारले रोक्यो भनेर लेख लेख्नुभएपछि मैले उक्त लेख र तपाई को बीबीसीको अन्तर्वार्ता राखेर ग्रूप इमेल गरेको थिएँ । तर तपाईले कुनै जवाफ नदिइ यूआर राइट आएम रंगमात्र भनेर पन्छिनु भएको थियो । जहाँसम्म पुण्य ओलीको नयाँ पत्रिकाको लेख छ, ओलीले २०३१ सालमा लिम्पियाधुरा देखिने नक्शा बनाउँदा दरबारले रोक्यो भनेका छन् उनको भनाई पनि शतप्रतिशत झूठो छ । तपाईले २०३२ सालमा नक्शा बनाउँदा भन्नुभएको छ पुण्य ओलीले २०३१ । पुण्य ओली र यहाँहरुले २०३१।३२ तिरै लिम्पियाधुरा देखिने नक्शा बनाउन लागेको हो भने उक्त नक्शा गुन्जी दोभानमा नरोकी किन कालापानीको मन्दिरनेरको पोखरीमा पुगेर रोक्नु भयो ?
बुद्धिनारायण श्रेष्ठः वैशाख २७ को पोस्टको बुँदा ६ को कुरा– यो भूमि भन्नाले भूमिलाई लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र भनिएको हो । धेरैले यी सबैलाई कालापानी क्षेत्र भन्ने गरेका छन् । यो भनाइले लिपुलेक र लिम्पियाधुरा छाडिएको मानिन्छ मानिन्न हामी सबैले विचार गरौं । मेरा अन्य बाँकी ८ बुँदाबारे किन केही भनिएन ? किन होला भने हामी सबैको यस्तै प्रवृत्तिले नै होला ।
रतन भण्डारी : तपाईका अरु बुँदाहरुसँग सरोकार छैन, तर दुईअर्थ लाग्ने र लिपुलेकलाई त्रिदेशीय भन्ने बुँदामा आपत्ति हो र आपत्ति रहने छ त्यसैले उठाइएको हो ।
बुद्धिनारायण श्रेष्ठः कान्तिपुरको लेख सम्बन्धमा अहिलेको समीक्षार्थीले उपशिर्षक पारी ‘लिपुलेक क्षेत्रमा भारत–चीन युद्धकालदेखि नेपाल र भारतबीच विवादित रहेको छ’ भनी लेखिएछ । तर मेरो लेखमा यो उपशिर्षक छैन । किन अहिले यो थपियो मलाई थाहा छैन ।
रतन भण्डारी : कान्तिपुरको तपाईको लेख मैले न समीक्षा गरेको न त्यसमा उपशीर्षक नै थपेर अतिरन्जित बनाएको हो । मैले तपाईले उक्त लेखमा त्रिदेशीय विन्दू भनेर लेखेको कुरामात्र उजागर गरेको हुँ । तपाईको लेखमा उपशीर्षक किन राखियो त्यो कान्तिपुरलाई नै सोध्नु होला ?
बुद्धिनारायण श्रेष्ठः यो मेरो लेखमा ‘नेपाल, भारत र चीनको त्रिदेशीय सीमाविन्दु लिपुलेक भंज्याङ कायम गरिएको थियो’ भन्ने वाक्य समीक्षाकर्ताले रातोमसीले अन्डरलाइन गर्नुभएको रहेछ । यो मेरो भनाइ होइन । यो त चिनियाँ राजदूतले भनेको कुरा मैले कोट गरेको हुँ । यो इन्भर्टेड कमामा मैले कोट गरेको हुँ । अत्तो थापेर मैले भनेको भनिएको छ । ममाथि किन यसो भनिएको हो समीक्षाकर्ताले ? के विचारले चिनियाँ राजदुतले भनेको पूरा विवरण ‘महाकालीको उद्गम लिम्पियाधुरासम्म नेपालको सीमा रहेको पुराना प्रमाणहरुको बेवास्ता गरिएको थियो’ भन्ने मैले कोट गरेको वाक्य किन कटक्क काटे अहिलेका मप्रतिको समीक्षकले ?
रतन भण्डारी : यहाँलाई आफ्ना गल्ती ढाकछोप नगर्न हुन अनुरोध छ । कान्पिुरको उक्त लेखको पहिलो प्यारामा लिपुलेकलाई त्रिदेशीय विन्दू भनेर प्रस्ट लेख्नु भएको छ ।