बलराम तिमल्सिना
चौपाया बन्न अस्विकार गरेर
श्रृष्टिमै पहिलो पटक
दुई खुट्टाले उभिन सिकेको
जतिखेर मानिस थियो यो धरतीमा
त्यो समय मान्छे केवल मान्छे मात्र थियो !
न उसको कुनै जात थियो
न कुनै गोत्र थियो
न भाषा न धर्म थियो
धेरै पछिसम्म
यो धरती ईश्वर विहीन नै थियो !
न देशका सीमानाहरू थिए
न राज्य थियो न राजाहरू थिए
मान्छे आफै राजा थियो आफै प्रजा थियो !
त्यो समय
न झ्यालखाना थियो
न नेल र हतकडी थियो
न नियम न न्यायलय
न प्रहरी न प्रशासन
यी वाहियात कुरा केहि पनि थिएनन् !
श्रृष्टिको उषाकालमा
सुन थिएन चाँदी थिएन
हिरा मोती र माणिकहरू थिएनन्
छन त यी सबै कुरा थिए
तर मान्छेको ज्ञानभन्दा पर
यी प्रकृतिको गर्भमै थिए !
त्यो समय
न साहुजीहरू थिए
न कोही आसामी थियो
भाषा थिएन, अक्षरहरू थिएनन्
पुस्तकहरू झन थिएनन्
एतिसम्म कि – ताप्नलाई आगो समेत थिएन !
आज मान्छेसँग धेरै कुरा छन्
सबैभन्दा धेरै त
मान्छेले मान्छे मार्ने बन्दूकहरू छन्
सिङ्गै सहर खरानी पार्ने वमहरू छन्
एउटा महादेशबाट
अर्को महादेशमा मार हान्ने
अन्तरमहादेशीय मिशायलहरू छन्
र यी सब काम गर्ने यन्त्रहरू छन्
जन सामान्यभन्दा चलाख
यन्त्र मानवहरू छन् !
आज मान्छेको परिचय
टुक्रा टुक्रामा बिभाजित छ
संसारमा
त्यस्तो ऐना बनेको छैन
जसमा हेर्दा देखियोस
एउटा सिङ्गो मान्छे !
सबै कुरा भएर पनि
आज मान्छे दुखी छ /त्रसित छ
आफ्नै अनुहारलाई दुश्मन ठानेर
मान्छे आफैंसँग भागिरहेछ
भाग्दा भाग्दा लखतरान मान्छे
आफैंसँग भनिरहेछ-
गुहार ! गुहार !! गुहार !!!
मान्छेको प्रज्ञाको गहिराईबाट
त्यस्तो तत्वज्ञान निकाल्नु छ
जुन ज्ञानले
मान्छेलाई मान्छेसँग भाग्न रोकोस
जुन ज्ञानले
मान्छेले मान्छे लखेट्न रोकोस
र घोषणा गरोस-
यो पृथ्वी हामी सबैको साझा हो !
त्यस्तो घोषणा गरेको दिन
नयाँ युगको घोषणा दिवस हुने छ
त्यसपछि मान्छे कहिलै दुखी हुने छैन !









































