काठमाडौं ।
नेपालको परिमार्जित नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित भएको छ। नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि भएको दफावार छलफल भएपछि मतदान भएको थियो।
भारतले कब्जा गरेको लिपुलेक लिम्पियाधुरासहितको नक्सालाई आधिकारिकता दिन पेश गरिएको नेपालको संविधान दोस्रो संसोधन विधेयक राष्ट्रियसभाबाट बिहीबार सर्वसम्मतिले पारित भएको हो।
आज भएको राष्ट्रियसभाको बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छापसम्बन्धी संविधान संसोधन विधेयक अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सर्वसम्मत पारित भएको घोषणा गरे।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संसोधन विधेयकमाथिको दफावार छलफलका लागि सदनमा पेश गरेकी थिइन्।
राष्ट्रियसभाको आजको बैठकमा ५७ जना उपस्थित भएका थिए। उनीहरु सबैले पारित गरियोस भन्ने पक्षमा मतदान गरेका हुन्। राष्ट्रियसभामा ५८ जना सदस्य छन्। तर अध्यक्षले मतदान गर्न नपाउने प्रावधान छ।
आज राष्ट्रियसभाबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कामकाजको लागि निशान छाप प्रयोगमा आउने छ।
Recent Comments