काठमाडौं ।
दिल्लीको एक मुस्लिम धर्मसभामा सहभागी भएर फर्किएको आशंकामा पर्सामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । दिल्लीको धर्मसभामा गएका मध्ये केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपालबाट गएकाहरुलाई पनि कडाई गरिएको हो ।
गएराती पर्साको पर्टेवा सुगौली गाउँपालिका कन्चनबैरियास्थित मस्जिदबाट नियन्त्रणमा लिइएका ११ जना सबै मुस्लिम नागरिक नै हुन् । उनीहरुलाई विरगञ्ज महानगरपालिकाको सिद्धार्थ माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।
११ जनामध्ये एक जनाले दिल्लीबाट आएको बताएपनि अरुले भारतबाट आएको मात्र भनेकाले विस्तृत जानकारी आइनसकेको उनले बताए । संयोग भने उनीहरु सबै एकैठाउँमा फेला परेको र सबै नेपाली मुस्लिम समुदायकै मान्छे भएका कारण आशंका गरिएको उनले बताए । सिद्धार्थमा माविमा अरु पनि ३ जना भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भने हिन्दु समुदायका हुन् ।