गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै आज सर्वोच्च अदालतले उनका विरुद्धमा फैसला गरेको हो । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । यही मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन क्षेत्र नम्बर २ का उम्मेदवार बनेका उनीविरुद्ध उजुरी परेको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्जर खतिवडा र आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गरेको फैसलासँगै रवि अब रास्वपाको पार्टी अध्यक्ष समेत नरहने भएका छन् । निर्वाचनमा लामिछानेलाई उम्मेदवार कायम गरेको निर्वाचित घोषणा गरेको प्रमाणपत्र दिएको लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला उल्लेख छ ।
अदालतको फैसलासँगै लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष पुगेर राजीनामा बुझाएका छन् । उनले सरकारी निवास पनि छोडेको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए ।