सेयर
नारायण शर्मा
नेपालमा समाजवाद उन्मुख पुँजीवादी जनवादी क्रान्ति र व्यवस्था ( Bourgeoisie democratic revolution n system oriented to Socialism ) को नयाँ, अग्रगामी र मौलिक रुप खोज्नु जरुरी भएको छ ।
नेपाली विशिष्टता र मौलिकतामा आधारित भएर मात्र नेपालमा कम्युनिस्ट क्रान्ति र व्यवस्थालाई पूर्ण र सफल बनाउन सकिन्छ ! यसरी मात्र नेपाल राष्ट्र, नेपाली जनता, नेपाली क्रान्ति र नेपाली व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्न सकिन्छ । तत्पश्चात् यस्तो नयाँ क्रान्ति र व्यवस्थाको मोडेललाई सर्वहारा अन्तर्राष्ट्रियतावादको भावनासहित अन्तर्राष्ट्रियकरण गरेर आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न सकिन्छ र सक्नुपर्छ ।
यस्तो क्रान्ति र व्यवस्था नाम वा रुपमा केही भिन्न भएपनि काम वा सारमा मूलत: यो जनताको राष्ट्रिय जनवादी नै हुन्छ । तथापि यो चीनको जस्तो तरिकाले क्रान्ति भएर चीनकै जस्तो हुबहु मिल्ने नयाँ जनवाद नभएर यसमा नयाँ जनवादका आधारभूत कुराहरुका अतिरिक्त नेपाली मौलिकता र विशेषतामा आधारित भएर गरिने क्रान्ति हुनाले यसमा एकातिर थप जनवादी अधिकारहरु जनतालाई प्राप्त हुन्छन् भने अर्कातिर राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनमा विशेष जोड दिइएको हुन्छ । यस्तो नयाँ स्वरुप खोज्नु पर्ने कारणमा एउटा त नेपालको भिन्न, विशिष्ट र मौलिक स्थिति हो भने अर्को कम्युनिस्ट नेताहरुका भ्रष्ट, दलाल र कायर चिन्तन र चरित्रका कारण पार्टी र आन्दोलनको बदनामी, बेइज्जति, विकृति, विसंगतिका कारण जनतामा बढेको वितृष्णा, विद्रोह र विष्फोट भावना पनि हो ।
त्यसैले सर्वप्रथम नेपाली मौलिकता र विशेषताबारे पहिचान गर्नुर नेपाली विशेषतामा आधारित भएर केही भिन्न र नयाँ तरिकाले क्रान्ति सम्पन्न गरी नयाँ व्यवस्थाको स्थापना गर्नु वान्छ्नीय मात्र नभै बाध्यता नै हुँदैछ । यहांँनेर क्युबामा फिडेल क्यास्ट्रोहरुले कम्युनिस्ट नेता र पार्टीहरु यहाँजस्तै बदनाम भएपछि उहाँहरुले कम्युनिष र मार्क्सवाद समेतको नामै नलिइकन कम्युनिस्ट क्रान्ति सम्पन्न गरी केही राम्रा कामहरु गरिसकेपछि मात्र आफूहरु कम्युनिस्ट भएको घोषणा गर्नु भएको घटना-प्रकृया स्मरणीय हुन आउँछ । यसले पनि नयाँ र भिन्न प्रकृतिले क्रान्ति गर्ने कुरा सम्बन्धित देसको विशिष्टता र मौलिकतामा आधिरित हुँदै मालेमाको आलोकमा गर्ने कुरा जरुरी छ भन्ने स्पष्ट हुन्छ ।
मौलिकता शब्द मूल+इक+ता मिलेर बनेको छ । यसको अर्थ कुनै व्यक्ति, वस्तु वा देस विशेषको आफ्नो पहिचान र महत्वसंग सम्बन्धित विशेष, नयाँ, भिन्न, अद्वितीय कुरा भन्ने हुन्छ । विशिष्टता भन्नाले पनि करिब यस्तै अर्थ हुन्छ । कुनै वस्तु वा व्यक्ति अथवा स्थान कुनै अर्कोभन्दा फरक पार्ने गुण, लक्षण वा कामलाई जनाउने शब्दलाई विशेष भनिन्छ । यही विशेष कुराले नै सम्बन्धित वस्तु, व्यक्ति वा स्थानको पहिचान, मूल्य र महत्व झल्काउँछ । यही विशेष पहिचानलाई विशिष्टता भनिन्छ जो अन्यत्र प्रायः पाइँदैन । यसरी हेर्दा नेपालका त्यस्ता नयाँ, भिन्न र विशेष अर्थ र महत्वका आफ्नै पहिचान र अर्थ झल्काउने मूल कुराहरु अर्थात् मौलिकता र विशिष्टताहरु के हुन् त भन्ने बुझ्नु जरुरी हुन्छ । ती मौलिकता र विशिष्टता मुख्यतः यी हुन् : –
नेपाल सदा स्वतन्त्र राष्ट्र भएर पनि सन् १८७२ को सुगौली सन्धिदेखि नव उपनिवेश बन्ने क्रममा तीव्रता र पूर्णताको दिशामा गै आज देस साम्राज्यवादी-विस्तारवादीहरुको नवउपनिवेस बनिसकेको छ ।
वर्णाश्रम व्यवस्थाको व्याख्या, बुझाइ र व्यवहारले समाजमा वैमनस्य, विद्रोह र विभाजन ल्याएको, भूराजनीतिक संवेदनशीलता भएको, भूपरिवेष्ठित अवस्था र खुला सिमाना आदिका कारण अन्य अतिक्रमणका साथै जनसांख्यिक अतिक्रमणसमेत भैरहेको , दुई ठुला छिमेकी शक्तिराष्ट्रको मात्र होइन, यो देस विश्व साम्राज्यवादका मुख्य नाइकेहरु अमेरिका, युरोप लगायतका महाशक्ति राष्ट्रहरुको रणनीतिक र सामरिक चिन्ता, चासो र चलखेलको केन्द्र बनिरहेको, बहुजातीय/नस्लीय, भाषिक, धार्मिक र सांस्कृतिक अवस्थाभएर पनि एउटा हावी भएकोले फुटाउ र शासन गर भन्ने साम्राज्यवादी नीति लागू भैरहेको, पूर्वीय ज्ञान-दर्शन र शास्त्रहरुको उद्गमभूमि, तपोभूमि र यज्ञभूमि रहिआएको अवस्था र प्राचीनतम पूर्वीय सभ्यता र संस्कृतिको उद्गमस्थल रहेको अवस्था, कृषिप्रधान देस भएर पनि कृषि उपजमा समेत परनिर्भर भएको, किसानबहुल समाज भएर पनि खेतीकिसानी गर्ने युवा शक्ति वैदेसिक रोजगारीमा गएको र रेमिटेन्सले अर्थतन्त्र धानेको, पढेलेखेका युवाहरुमा मात्र होइन जिम्मेवार प्रौढहरुमा समेत पश्चिमा देसहरुप्रति मोहनी लागेको, देसमा बस्ने युवा, प्रौढ र बृद्धबृद्धा सबै जसोमा , तिनमा पनि निष्ठा, नैतिकता र विचार-सिद्धान्तको राजनीति गरेकाहरु सबैजसो पार्टी र क्षेत्रमा उपेक्षा र उत्पीडनमा परेको तर खाओ-कमाओवाद र गुट-लुटवादको हालीमुहाली र हुकुम-हैकम हावी रहेकोले देस, राजनीति र नेताप्रति आम अविश्वास र वितृष्णा भएको, दलालीकरण, उदारीकरण र औपनिवेशीकरण र भ्रष्टीकरणले देसको अस्तित्व नै संकटग्रस्त बनेको, आर्थिक रुपले देस टाट पल्टिनै लागेको, सरकार र सदनका आसपासका नेता-कार्यकर्तामा भ्रष्ट, भिखारी, भीरु, भँडुवा, भाते र भाटे जस्ता भयंकर विकृत चिन्तन र चरित्र हावी भएको, कथित कम्युनिस्टहरु दुई तिहाई शक्तिसहित सरकारमा जाँदा पनि देसलाई स्थिरता, सुशासन, शान्ति, सुरक्षा, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वविवेक र स्वनिर्भरताको क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कामहरु गरेको, कम्युनिस्ट पार्टी र आन्दोलन गुट, फुट र लुटको सिकार भएर जनता-कार्यकर्तामा बढेको अकर्मण्यता, निराशा, पलायन, वितृष्णा र विद्रोहका प्रवृत्तिहरु बढेर विष्फोटको वातावरण बनेको, हरेक दसक जसोमा देसको अवस्था विष्फोटक बन्ने र त्यो शान्तिपूर्ण र संयुक्त जन आन्दोलन र सशस्त्र क्रान्तिकारी जन विद्रोहका भुल्का र झिल्काहरु देखापर्ने गरेका छन् । तर तिनबाट प्राप्त उपलब्धिहरु उल्टै जनता र देसलाई निरर्थक र प्रत्युत्पादक जस्तैभएका समेत छन् । परिणामस्वरूप आज देस इतिहासमा कहिल्यै नपरेको आर्थिक संकटमा परेर टाट पल्टेको घोषणा गर्न मात्र बाँकी छ ।
यी विविध कुराहरु नै नेपालका मौलिकता र विशिष्टता हुन् । त्यसैले यिन्लाई हेरेर नै नेपाली क्रान्तिको नयाँ बाटो र नेपाली व्यवस्थाको नयाँ मोडेल अर्थात् समाजवाद उन्मुख नेपाली जनवादी व्यवस्थाको नयाँ र मौलिक रुपरेखा कोर्नु पर्छ । यसपछि मात्र नेपालमा समाजवाद उन्मुख राष्ट्रिय जनवादी क्रान्ति कसरी हुन्छ र क्रान्तिपछिको कस्तो व्यवस्थाले के कस्ता काम गर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ । त्यसैले यसै अनुसार गर्नु नयाँ सोंच, शक्ति र शैलीअनुसार नयाँ क्रान्ति गरेर अघि बढ्नुनै नितान्त वैज्ञानिक, वस्तुवादी र सही हुन्छ भन्ने देखिन्छ ।
यसो भएमा मात्र एकातिर नयाँ विचार, नयाँ पार्टी, नयाँ बाटो र नयाँ व्यवस्थाको विकास हुने र यसप्रति जन आकर्षण र विश्वास बढ्ने गर्छ । त्यससँगै क्रान्ति पनि नयाँ शिराबाट थालनी भै विकास, विस्तार र विजयसम्म पुग्ने कुरा सुनिश्चित हुन्छ !
shere this