-बलराम तिमल्सिना
मलाई अलिकति आशा थियो- सहिद परिवार भन्ने थाहा पाए पछि प्रचण्डले जुत्ता हान्ने भाइलाई छुटाएर खुमलटार बोलाउनुहुने छ । सम्झाई बुझाई गर्नुहुने छ। परिवारको दुख सुख सोध्नु हुने छ।
हैट, म पनि कस्तो असंभव असंभव कल्पना गरेर समय खर्च गर्छु है ! मैले प्रचण्डबाट किन त्यस्तो आशा गरेको होला ? के प्रचण्डको आत्मा त्यति विशाल , उदार र उदात्त होला त ? घटनाक्रमले मेरो आशामा भाँडा माझेको चिसो पानी खन्याइदियो ।
फेरि झल्याँस्स सरकारी नेकपाको जुम्लाले निकालेको तात्तातो विज्ञप्तिको याद आयो।
● तिरुवा सहिद परिवार होइन
● तिरुवाको बाबु उहिलै भारततिर गएर वेपत्ता भएको हो।
● तिरुवाले सहिद परिवारको नक्कली कागज बनाएर राज्यलाई १० लाख ठगि गरेर खाएको ठग हो।
● तिरुवा विप्लवको कार्यकर्ता हो ।
● तिरुवा जुम्लामा पनि अराजक गतिविधि गरेर प्रहरीको खोजीको सूचीमा परेको मान्छे हो । आदि आदि ।
त्यही समय मैले लेखेर फेसवुकमा हालेको “जुत्तोपहार” कविता सम्झिएँ । मेरो कविताको जवाफमा नेकपाका युवा कार्यकर्ता लिलाधर रिमालको ‘कविता’जवाफ पनि सम्झें ।
अँ, त्यही समय उप राष्ट्रपतिका सुपुत्र होनाहार युवा नेता दिपेश पुनको -तिरुवा सहिद परिवार होइनन् भनेर किटेर लेखेको स्टाटस पनि सम्झिएँ।
फेसवुक भरि नेकपाका कार्यकर्ताले तिरुवालाई “कठोर भन्दा कठोर सजाय” दिनुपर्ने माग गरेको कुरा पनि मेरो मानसपटलमा फनफनी घुमिरहेको छ।
सरकारी पार्टीको जुम्लाले तिरुवालाई वदनाम गर्ने र दमनको लागि उक्साउँने गरी दिएको वक्तव्य, प्रचण्डज्युका प्रेस सल्लाहकार जुगल भाइले देखाएको बाहुबली पोज , दिपेश पुनको स्टाटस र नेकपाका उदयिमान युवाहरूको आक्रमण सबै सबै अहिले सम्झिरहेको छु ।
माथिकै आदेशमा सर्लाहीमा विद्रोही नेकपाका नेतालाई निशस्त्र अवस्थामा पक्रेर गोली हान्ने सरकार र त्यसलाई आँखा चिम्लेर अनुमोदन गर्ने पार्टीका अध्यक्षबाट मैले आफैले नेतृत्व गरेको युध्दमा बलिदान गर्ने सहिदको सन्तानले आवेगमै सहि जूत्ताले हनेको कुरालाई सामान्य रुपमा लिएर संझाई बुझाई गरेर छोड्लान भन्ने जुन झिनो आशा गरेको थिएँ त्यो मेरो अज्ञानता रहेछ।
मान्छे बदलिएर विपरित ध्रुवमा पुगिसक्दा पनि पुरानै अनुहार देखेर पुरानै प्रतिकृयाको आशा गर्नु मेरो हद दर्जाको नालायकी रहेछ।
अन्तत: प्रहरीको अनुसंधानबाट पनि रतन तिरुवा सहिदका छोरा नै हुन् अनि उनी विप्लवका कार्यकर्ता होइनन भनेर प्रमाणित भएका समाचारहरू प्रकाशित भैसक्दा पनि डवल नेकपाले उनी प्रति अलिकति पनि उदारता नदेखाउँनूले डबल नेकपा अव चरम प्रतिकृयावादी गिरोहमा पतन भैसकेको कुरालाई फेरि एक पटक प्रमाणित गरेको छ।