नुवाकोट ।
सत्तारुढ नेकपाका जिल्ला नेता तोयानाथ थपलीयाले आफ्नोबारे आएका समाचारबारे सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता थपलियाले नेता भएकाले आफूलाई प्रवेश दिन भनेको थर्काएको धम्काएको लगायतका समाचार गलत भएको बताएका छन् । काठमाडौँबाट नुवाकोट जाने क्रममा सीमानाको प्रहरी चौकीमा अड्किएका नेता थपलियाले बास्तविक घटना के हो भन्नेबारे फेसबुकमै खुलाएका छन् ।
‘मैले आफू नेता भएकाले छोडन पर्ने धम्कि दिएको, आफ्नो मात्र प्रवेशको माग गरेको, केशव पाण्डे र धुर्व श्रेष्ठहरुलाई अनुनय गरेको भन्ने समाचार असत्य हो । उनिहरुले मेरो आग्रह विपरित छोडिदिन भनेको चैँ सत्य हो । यथार्थता यही हो ।’ उनले लेखेका छन् ।
‘केही अनलाइनले नेकपाको नेताको सान लगाएको वडाध्यक्षको जिम्मा छोडिएको काल्पनिक र प्रायोजित समाचार प्रकाशित गरेछन र चौकि ईन्चार्जलाई ईमान्दार र वफादार भन्दै मेरो चरित्र हत्या गर्ने दुस्प्रयास गरेछन् । चौकि ईन्चार्जले खिचेको फोटो प्रकासित गरेछन् । म त्यो झुट समाचारको खण्डन गर्दछु ।’ थपलियाले स्टाटसमा प्रष्ट पारेका छन् ।
थपलियाको स्टाटस यस्तो छः
लकडाउन देखी म अधिकांस नुवाकोटको घरमा बस्दै आएको छु । अस्ति ११ गते औषधी किन्न काठमाडौँ गएर हिजो गाउँ फर्कने क्रममा दिउँसो १ वजे गुर्जे चौकि आइपुगे । शिवपुरी सिल भएकोले जान नमिल्ने कुरा चौकि इन्चार्जले बताउनुभयो । प्रेस्क्रिप्सन र औषधी देखाउँदै म शिवपुरी ४ को नागरिक बताउँदा अनुमति मिलेन । जिल्लाको आदेश भएमात्र छोड्न सकिने बताइयो । मजस्तै औषधि लिएर आएका र जरुरी काम परेका छ वटा बाइक पनि त्यहाँ थिए ।
मैले सांसद हितबहादुर तामाङ्गलाई आफ्नो र त्यहाँ भएका अरुको समस्या सुनाएँ । उहाँले प्रजिअलाई फोन गर्नुभयो । त्यो नाकाबाट शववाहन र एम्बुलेन्सबाहेक अन्य साधन नछोड्ने निर्णय भएकोले प्रवेश दिन नसकिने बताउनुभएको कुरा मलाई खबर गर्नुभयो र काठमाडौँ फर्कन सल्लाह दिनुभयो । प्रजिअले ‘तपाइँलाई राम्रैसँग चिन्छन्’ भनेपछि उहाँसँग नम्बर मागेर मैले फोन गरेँ । प्रजिअले ‘सरलाई २०४५ साल देखी चिन्छु’ भन्नुभयो । म उहाँलाई नामले चिन्दिनँ देख्दा चिन्छु चिन्दिन थाहा छैन । ‘मैले शववाहन र एम्वुलेन्स बाहेक अन्य सबै साधन प्रवेश निषेध गरेको छु आफ्नै आदेश विपरित अर्को आदेश गर्न असमर्थ छु’ सरी भन्नुभयो । मैले घर जाने आशा मारे । साँच्चै एम्बुलेन्स र शववाहन बाहेकका गाडी मोटरसाइकल प्रवेश गर्छन कि गर्दैनन् केही बेर बसेर फर्कन्छु भन्ने सोचेर त्यहि बसेँ । पटकपटक गरी ४ जना सेनाका बाइक पास भए । ३ वटा पव्लिक बाइक प्रवेश गरे । त्यसपछि लिखु गाउँपालिकाका अध्यक्षको गाडी काठमाडौँ र उपाध्यक्षको गाडी नुवाकोटका लागी आइपुगे । लिखु अध्यक्ष धुर्व श्रेष्ठले ‘दाइलाई छोडिदिन’ भने र गए । शिवपुरी ४ का वडाध्यक्ष पनि चौकिमा चिनजान हुनाका नाताले मलाई जान दिन सिफारिस गर्दै बाइकमा काठमाडौँ प्रवेश गरे । त्यसपछी ७२ वर्षका किड्नीका बिरामी डाइलासिस गराएर टाटासुमोमा आएर घर जाने अनुमती मागे । उनलाई गल्छीबाट जान भनियो । तत्पस्चात बाग्मती प्रदेशका सांसद केशव पाण्डेको गाडी आइपुग्यो । ड्राईभरले मलाई बोलायो । पाण्डेजीले कता जान लाग्नुभयो किन बस्नु भयो सोधे । गाउँ जाने अनुमति पर्खेर बसेको भनेपछि उहाँलाई छोडिदिनुस् म प्रजिअसँग कुरा गरौँला भनेर गए । फेरी केही चौकिको सिपाहीका चिनजानका बाइक पास भए । मैले सोचे र त्यहाँ भएका भाइहरुसँग भने प्रजिअ, सांसद र गृहमन्त्रि चिन्नुभन्दा यहाँको एउटा सिपाही चिनेको भए काम लाग्नेरहेछ । त्यहीबीचमा चौकिको केही तल दाना बोकेको गाडी बिना इन्ट्री प्रवेश गराइयो । जागरुक कृषि सहकारीको तरकारीको गाडी फर्काइयो । बिहान दूधको गाडी प्रवेश दिइएको रहेछ ।
मलाई आफूलाई प्रवेश नदिएकोमा भन्दा किमो दिएर आएको गाडीलाई प्रवेश नदिएकोमा पीडा भयो । जनप्रतिनिधिहरुले तिनको ख्याल पनि गरेनन् । साँझ पर्दै थियो, एउटा बाइकलाई जाने अनुमति आयो जानुस् भनेपछी मैले रोकेर सोधेँ । अनुमति कस्को ? अघि पठाउनु भएका सेता प्लेटका गाडी र मोटरसाइकल शव वाहन हुन् कि एम्वुलेन्स ? दाना बोक्ने गाडी किन छोड्नुभयो ति कस्का अनुमतिमा छोडनुभयो ? टाटा सुमोको यो बिरामी किन रोक्नुभयो । प्रश्नको उत्तर थिएन र जवाफ पनि आएन । त्यतिबेला मात्र मैले आफ्नो परिचय दिएँ । तपाइँको गुनासोमाथि गर्नुस् मात्र जवाफ आयो । त्यसपछी बिरामीको सुमो छोडियो । मलाई धन्यवाद दिँदै उनिहरु गए । मैले प्रजिअलाई फेरी दुई कल गरेँ फोन उठेन । अनि म्यासेज गरेँ । ‘सर पुलिसका चिनजानका बाईक आते जाते छन् । सरकारी प्लेटका गाडी दशैँमा बसले प्यासेन्जर बोके झैँ मान्छे कोचेर आए गए । दानाका गाडी प्रवेश भए तरकारीका फर्काइए । शववाहन र एम्बुलेन्सबाहेक निषेध भन्नुहुन्थ्यो । तपाइँको अनुमती हो भने हामीलाई किन अनुमति दिनुभएन ? चौकिको मनोमानि हो भने तपाइँ चौकी इन्चार्जलाई के कारवाही गर्नुहुन्छ ? कृपया जवाफको अपेक्षा भनेर पठाएपछी प्रजिअको फोन आयो । वडाध्यक्षको र चौकिको समन्वयमा छोड्न भनेको छु भनेर लगतै दशबाह्र बाइकलाई गन्तव्यमा जान दिइयो । मैले आफू नेता भएकाले छोड्नपर्ने धम्कि दिएको, आफ्नो मात्र प्रवेशको माग गरेको, केशव पाण्डे र धुर्व श्रेष्ठहरुलाई अनुनय गरेको भन्ने समाचार असत्य हो । उनिहरुले मेरो आग्रह विपरित छोडिदिन भनेको चैँ सत्य हो । यथार्थता यही हो । केही अनलाइनले नेकपाको नेताको सान लगाएको वडाध्यक्षको जिम्मा छोडिएको काल्पनिक र प्रायोजित समाचार प्रकाशित गरेछन र चौकी इन्चार्जलाई इमान्दार र बफादार भन्दै मेरो चरित्र हत्या गर्ने दुस्प्रयास गरेछन् । चौकी इन्चार्जले खिचेको फोटो प्रकाशित गरेछन् । म त्यो झुट समाचारको खण्डन गर्दछु ।
कोरोना कहिले समाप्त हुने थाहा छैन । चैत्रदेखि लकडाउन गरेर कमिसन र घुसखोरीमा रमाउनेहरुले लकडाउनका अवधिमा देशव्यापी जुलुस गर्न लगाएर समुदायमा कोराना फैलाएका हुन् । कति महिना कतिवर्ष लकडाउन र निषेधाज्ञा गरी जनतालाई घरमा थुनेर राख्ने ? अत्यावश्क काममा आतेजाते रोक्ने, दुध चल्ला दाना तरकारी रोक्ने निर्णय जनविरोधी छ । म यस्ता जनविरोधि निर्णयको निन्दा गर्दछु । जनप्रतिनीधि र राजनैतिक पार्टीहरुको तत्काल ध्यानाकर्षण गराउछु । लकडाउन निशेधाज्ञा वा सिलका नाममा अत्यावश्यक आवागमन र खाध्यवस्तुको ओसार पसारमा प्रतिबन्ध निन्दनिय छ । जिल्ला विपद् व्यवस्थापन समितिले अविलम्व निर्णय सच्याउन आवस्यक छ । जिल्लाले प्रतिबन्ध लगाउने र चौकिहरुले रातमा लेनादेना गरी गाडीपास गर्ने काम राम्रो होइन् ।