प्रहरीले लकडाउनका बीच जुवाको खालबाट ठूला व्यापारी पक्राउ गरेको छ । गएराति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।
व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको भए पनि प्रहरीले सबै जनालाई हाजिर जमानीमा छोडेको छ ।
राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको खबर नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।
पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ ।