नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी घोषणा सुरु भएको छ ।
विगत आठ वर्षदेखि हुन नसकेको महाधिवेशन साउन ५ र ६ गते हुने निश्चित भएपछि काँग्रेस सम्बद्ध पत्रकारहरु चुनावी मैदानमा उत्रिएका छन् । ८ औं महाधिवेशन ०७१ भदौमा पोखरामा सम्पन्न भएको थियो । अहिले सबैजसो पदमा आकांक्षीहरूको भीड स्वाभाविक रूपमा बाक्लो छ ।
यसपटक अध्यक्ष पदमामात्रै ११ जना आकांक्षी देखिएका छन् । अहिलेसम्म उम्मेदवारी घोषणा गरेकाहरूमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्वमहासचिव एवं सल्लाहकार शिव लम्साल संस्थापनइतर समूहबाट छन्, भने संस्थापन समूहबाट पूर्व उपाध्यक्ष अनिता विन्दु र कोषाध्यक्ष सरोज अधिकारी छन् । यस्तै उपाध्यक्ष इश्वरी ओझाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
यसबाहेक प्रेस युनियनका पुराना नेता एवं नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष उमीद वागचन, दामोदर दवाडी, नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका पूर्वसचिव सन्तोष न्यौपाने र भुवन भट्टले पनि आकांक्षा प्रस्तुत गरेका छन् । यस्तै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष डीआर पन्तले पनि अध्यक्षमा आकांक्षा देखाइरहेका छन् ।
अन्य पदमा पनि उम्मेदवारी घोषणा भइरहेको छ । यसै क्रममा नुवाकोट पुकार साप्ताहिकका प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक शुकदेव दाहालले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
दाहालले एक प्रेस विज्ञप्ति मार्फत प्रेस स्वतन्त्रता, ट्रेड युनियन, पेशागत सुरक्षा, मर्यादित पत्रकारिता हाम्रो प्रतिवद्धताको नारासहित समग्र पत्रकारिता क्षेत्रको सुधार र श्रमजिवी पत्रकारहरुको हक हितका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । दाहाल विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
नुवाकोट बेलकोटगढी -६ दाहालथोक घर भएका दाहाल मोफसलसहित राष्ट्रिय दैनिक कमाण्डर पोष्टमा समेत कार्यकारी सम्पादकको भुमिकामा रहेर आठ वर्ष काम गरेका थिए । यस्तै जनपुकार डट कम अनलाइनमा सम्पादक रहेर पाँच वर्षको अनुभव सम्हालेका दाहाल हाल नुवाकोट पुकार र नुवाकोट पुकार डटकममा प्रकाशक तथा प्रधान सम्पादकको भूमिकामा आफुलाई उभ्याएका छन् । उनले पत्रकारिताको विकास र विस्तारका लागि महाविधेशन प्रतिनिधिहरुसँग आफुलाई मत दिन अपिल समेत गरेका छन् ।