-प्रकाश फुयाल
ककनी १ नुवाकोट
ए नेता ज्यू
पाँचवर्ष अगाडी
मेरो उमेर पनि नपुग्दै
तिमिले भोटरलिष्टमा
मेरो नाम चडायौ
नागरिकता पनि
तिम्रै सिफारिसमा तिमीले नै बनाईदियौ
धन्यवाद छ तिमीलाई ।
चुनाव आयो
मेरै भोटले चुनाव पनि जित्यौ
तिमी यति हरिकन्नम थियौ कि
तिमीसँग एकजोर लगाउने चप्पल थिएन
म अछुत नै भएपनि
तल्लैजातको भएपनि
तिमीभन्दा म केहीमा कम थिइनँ ।
खलाती चलाएरै भएपनि
लुगा सिलाएरै भएपनि
जीवन गुजारा गरेकै थिएँ ।
हिजो चुनावमा त
तिमी सँगै बसेर मासुभात खाएकै हो
खुवाएकै हो ।
तिमीले बिर्सेपनि मैले बिर्सेको छैन ।
भन नेता ज्यु
आज म कसरी अछुत भए ?
बेस्सरी तिर्खाएको बेला
पानी माग्यौ पानी खान दिएँ
आज म कसरी पानी नचल्ने भएँ ?
जवाफ खोज्दा खोज्दै
मेरा बाउ बिते बराजु बिते
तर
मेरो आँगनमा पूर्वबाट कहिल्यै घाम उदाएन
परिवर्तनका लागि
बाउ लडे बराजु लडे
मेरा साखासन्तान स्वतन्त्रताका लागि लडे
यो देश कहिल्यै स्वतन्त्र भएन
हिजो जातबाट ठगीएँ, धर्मबाट ठगिएँ
आज पेशावाट ठगिएको छु
पेट पाल्नकै लागि भएपनि
आज मेरै पेशा चोरेर
माथिल्लो जातका भनिएकाहरुले
पेट पालिरहेका छन् ।
आज जताततै बाट म लुटिएपछि
आफ्नै राज्यवाट हरण भएपछि
आज त आफ्नै नागरिकता पनि
काम नलाग्ने भएको छ
मलाई मेरो परिचय देउ सरकार
मलाई स्वतन्त्र हिँडडुल गर्न सक्ने अधिकार देउ
देशमा गणतन्त्र छ भन्छन्
मलाई स्वतन्त्र बाँच्न सक्ने अधिकार देउ ।
ठूलाबडा भनिएकाहरुबाट लुटिएको
मेरो पेशा मलाई वापस गरिदेउ
तिम्रो राज्यमा मलाई
बस्न कठिन हुन्छ भने
मेरो राज्य कुन हो ?
मलाई देखाईदेऊ सरकार ।
Recent Comments