काठमाडौं ।
नेकपा (माओवादी) सम्बद्ध पत्रकारहरुकव संगठन प्रेस सेन्टर नेपालले यसवर्ष पुरस्कृत हुने पत्रकारको नामावली सार्वजनिक गरेको छ । यही चैत १६ र १७ गते हुन लागेको महाधिवेसनका क्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता लगायतका पुरस्कार वितरण हुनेछ ।
प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यस्वर्ष कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको महासचिव सन्तोष पौडेलले बताउनुभयो । त्यसैगरी शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई दिने र बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
प्रत्येक प्रदेश बाट एक-एक जनालाई प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार भने कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास ठाकुर र बागमती प्रदेशबाट सिर्जना गोलेले पाउनेछन् । त्यस्तै, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती र सुदूरपश्चिम प्रदेशबाट हरि जोशीलाई दिइनेछ।
उपत्यका प्रदेशबाट भने विनोद दाहाल सो सूचीमा परेका छन् भने एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने निर्णय भएको बताइएको छ । चैत १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा प्रेस सेन्टर नेपालको पाचौं महाधिवेशन उद्घाटन हुनेछ । सोही अवसरमा प्रमुख अतिथि रहने पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गर्ने बताइएको छ । पाँचौ महाधिवेसनबाट सेन्टरले नयाँ नेतृत्व चयन गर्दैछ ।