-शैलेश वाग्ले
आफ्नो भोको पेटलाइ पटुकीले कसेर सन्तानको आन्द्रा उकास्दै, यात्राहरुमा पल-पल मर्दा पनि नावालक बच्चाको अनुहार हेर्दै आफ्नो मृत्युसँग पनि सम्झौता गर्दै तुषारोलाई पैतालाभित्र दबाउँदै कठिन यात्राको थालनी गर्ने आमा – हजारौँ शब्दको माला बुनेर दिएपनि फिक्का हुन्छ तपाईको त्यागी जिन्दगीलाई ।
भन्दा कति सहज छ है ! उच्चारण गर्दा दुई शब्द ‘आमा’ । आमा आफैँमा जिउँदो इतिहास हुन्, आमा नै एक यस्तो पुस्तक हुन जोभित्र हामी हजारौँ जीवनी अनि उपन्यास पढ्न सक्छौँ । भनिन्छ, आमा देवी हुन्, त्यो भन्दा उदाहरणको अर्को नाम भेटिन तर आमा देवीभन्दा महान हुन् । देवी माँ ले कुनै कालखण्डमा अत्याचारको बिरुद्दमा हतियार चलाएर एक शताब्दीलाइ मुक्ति दिइन । तर आमा, आमा हजारौँ अत्याचार अनि पिडाहरुलाइ छाँतीभित्र दबाएर मन्द मुस्कान दिँदै बावु भन्ने ममताको खानी आमा तिमिलाई कुन शब्दले सम्बोधन गरुँ म ?
भनिन्छ आमा र देश एकै हुन् । हो, आमा अनि देश एकै हुन् । जती धर्तिले सहेर बस्छिन् प्राकृतिक क्षती, त्योभन्दा धेरै आफ्नै सन्तानको अत्याचार सहेर बस्छिन आमा । आफ्नो आमालाइ धर्ती अनि धर्तीलाइ आमा भन्नेहरु हेरौँ त आज – छातीमाथि । हो, आमाको छातीमाथि नाङ्गो नाच नाँच्दैछन् लोकलाइ आफ्नो नाङ्गो नित्य ताण्डव देखाउँदैछन् । वस्तुस्थितिलाई नजिकबाट नियाल्ने हो भने आज देशलाई आमाको नाम दिएर आमाकै अस्मिता लुट्ने चौपायाहरुको कमी छैन् । आज ती नरपिचासहरुले गर्दा धर्तीसँग मानव अनि आमासँग सन्तानबीचको दुरी लम्बिदै गएको छ ।
खै त्यो हाम्रो परिचय ? बिहान उठ्दा आमाको खुट्टा अनि धर्तीमाथि हाम्रो सिर झुकेको । यो सँस्कार अनि परिवेशलाई झेलेर आएका हामी किन हामीलाई आज आफ्नै जन्मदाता बोझ लाग्छ ? किन हामी आज हाम्रा अस्तित्वलाइ खोपाभित्र थन्काउँदै छौं अनि आश्रमको जिवनमरणको जिन्दगी जिउँन बाध्य बनाउँदै छौ ? यो आजको पुस्ताले सोच्नै पर्ने बिषय हो ।
सबै बोझ अनि पिडाहरुलाई छातीभित्र दबाएर हजारौँ चुनौतीका पर्खाल भत्काउँदै आफ्ना सन्तानलाई मार्गदर्शन देखाउने आमा । आमा तिमी महान छौ । मेरो बुझाइमा कुनै एक व्यक्तिको लागि आफ्नो सारा खुशी अनि सपनाहरुलाई आफ्नो चिहानमा गाडेर अरुकै निम्ति बाँच्ने त्यो आमा नै हुन् केवल ।
बर्षदिनमा एकचोटि सामाजिक सञ्जालको भित्ता रङ्गाएर आमाप्रतिको सम्मान बढ्ने होइन्, आमाले झैँ त्याग गरेर हेरौं, आमाले झैँ पिडाहरुलाई नजिकबाट नियालौं अनि हेरौं त कति गाह्रो हुँदोरहेछ आमा बन्न । मलाइ जन्म दिनुहुने तथा मेरो जीवनको यात्रामा कहीँ न कहीँ आमाको भूमिका खेल्नुहुने तपाईं तमाम आमाहरु प्रति हार्दिक नमन ।