
नुवाकोट ।
नेपाली काँग्रेस बेलकोटगढी नगरपालिका नुवाकोटका सभापति लेखनाथ मुडवरीले निर्वाचनमा केन्द्र र जिल्लाका नाम चलेका नेताले करोडौँमा टिकट किनबेच गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सभापति मुडवरीले स्थानीय तहको निर्वाचनमा करोडौँमा किनबेच भएको तथा छोटे राजाहरुको माला, खादा र मोटर कार्यक्रममा कार्यालयमा नगरी होटलमा गरेर करोडौको बिल उठाएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउनुभएको छ ।
‘स्थानीय निकायको निर्वाचनमा जिल्ला र केन्द्रीय स्तरमा नाम चलेका नेताहरुले करोडौँमा टिकट बेचेको, छोटे राजाहरुको माला, खादा, मोटर कार्यक्रम कार्यालयमा नगरी होटेलमा करोडको बिल उठाएर संस्थागत गरेको, जनतालाई बाँच्न मुस्किल हुनेगरी भएको मूल्यवृद्धितिर ध्यान दिनुछैन । यही हो गणतन्त्र ? बेलैमा चेतना भया !’ उहाँले लेख्नुभएको छ ।

नगरसभापतिले टिकट बेचेको कुरा सार्वजनिक गरेपछि नेपाली काँग्रेस जिल्ला अनुशासन समितिले टिकटको किनबेच भएको कुरा पुष्टि गर्न चुनौती दिएको छ । समितिका संयोजक श्रीराम श्रेष्ठले मुडवरीको स्टाटसमा प्रतिक्रिया लेख्दै निर्वाचनमा जिल्ला र केन्द्रीय स्तरका नेताहरुले करोडौँ रुपैयाँमा टिकट बेचेको आरोपलाई पुष्टि गर्न अनुरोध गर्नुभएको हो । उहाँले नगरसभापतिको यसकिसिमको भनाइप्रति जिल्ला अनुशासन समितिको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

मुडवरीले स्टाटसको सुरुवातमै पार्टी पङ्तिको नेतृत्व प्रणाली प्रति प्रश्न उठाउनुभएको छ । लामो समयसम्म एउटै मान्छे पार्टीमा सभासद, सभापति, अध्यक्ष वा प्रधानमन्त्री भएको भन्दै उहाँले पार्टीमा लगानी सबैले गरेकाले एकचोटी भएपछि पालो दिनुपर्दैन ? भनी प्रश्न गर्नुभएको छ । उहाँले साउनको दोस्रो सातासम्म किसानलाई मल नभएको, एमालेको भ्रष्टाचार छानबिन नगरेको भन्दै नयाँ काम केही नभएकोमा पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि पोख्नुभएको छ ।









































