
जापान महिलाका लागि सुरक्षित देश मानिन्छ तर यो देशमा पनि अन्य देशमा जस्तै अपराधिक घटना हुन्छन् । नेपालमा जस्तो मिडियामा कम आउने भएकोले हामीलाई थाहा नभएको मात्रै हो ।
बलात्कार, ठगी, चोरी कुटपिट हत्याजस्ता जघन्य घटना जापानमा पनि हुन्छन् है । तिमी त टोकियोमा आयौ । जापानमा पनि गाउँ वन जंगल उकाली ओराली छन् । गाउँतिर त झन् सुनसान हुन्छ । तिमीसँग टोकियो आएका र टोकियो बाहिर आएका बहिनीहरुलाई यो कुरा सुनाइदेउ ल ।
बहिनी यो चकाचक टोकियोभित्र तिमीले अलिअलि भाषा नजान्दासम्म र जापानको नियम नबुझ्दा सम्म यी कुरामा ध्यान देउ ल ।
१. ‘दाई तपाईंले जे भन्नुहुन्छ त्यही मान्छु’ मलाई काम लगाइदिनुस् । यो शब्द प्रयोग नगर । जे भन्नुहुन्छ त्यही मान्छु भन्यौ भने तिमिलाई पापी नरपिचासहरु त्यही वाक्यबाट गलत दृष्टिकोणले हेर्न सुरु गर्छन् र फरक ठाउँमा पुर्याउँछन् ।
२. विदेशीहरुसँग धेरै कुरा नगर । खुरुखुरु आफ्नो काम गर्नु अरुको मतलब नराख्नु । विदेशीहरुले त झन् छिटो फसाउने गर्छन् ।
३. आफ्नो कार्डहरु आधिकारिक ठाउँबाहेक व्यक्तिहरुलाई नदिनु
५. कसैको कोठामा नजानु
६. जापान आएर परिचय भएका साथिहरुलाई झट्ट विस्वास नगर्नु
७. कसैले मेनसेचुको दिन अफिस टाईम र अफिसमा भन्दा अन्य समय वा अन्त बोलायो भने नजानु ।
८. आफ्नो विगत र पारिवारिक कुराहरु भर्खर चिनेका मान्छेलाई नखोल्नु त्यसबाट तिम्रो कमजोरी पक्ष पत्ता लगाएर फाइदा लिनेहरु सलबलाउने छन् ।
९. काममा आफ्नो इमान्दारिता देखाउ अरुको लागि नबोल ।
१०. नजानेका कुरा ५० पटक सोध तर अनुमानको भरमा नगर ।
११. खाना निन्द्रा काम र पढाइको ब्यालेन्स मिलाएर लैजाउ ।
१२. स्वास्थ्यलाई सबैभन्दा बढी ध्यान देउ । बिरामी परियो भने पानी खान दिने मान्छे नै हुँदैन परदेशमा ।
१३. रातमा अबेरसम्म ड्युटी छ भने अन्तिम ट्रेनको ख्याल गर ।
१४. ट्रेनमा फोनमा कुरा नगर ।
१५. बस ट्रेन चढ्दा (युसेनसेकी)मा छौ भने बृद्धा सुत्केरी अपाङ्गता भएका यात्रुलाई आफू बसेको ठाउँ छोडिदिनु । त्यसले तिमीप्रति हेर्ने दृष्टिकोण नै राम्रो बनाउने छ ।
१६. पोष्ट बक्स हरेक दिन चेक गर्ने गर ।
१७. तिम्रो कलेजमा हाजिरी १०० % बनाउ । भोली भाषा कमजोर भए पनि सेनमोन जान र भिषा रिन्यु गर्न राम्रो हुनेछ ।
१८. कसैलाई नढाँट, नछल, काममा सिफ्ट राखेपछि टाइममा उपस्थित हुने गर । कारणबस् ढिला हुने भए कारण खुलाइ ढिला हुने कुरा समयअगाडि नै जानकारी गराउ ।
१९. कोही कसैसँग झगडा नगर । कानुनी फन्दामा पर्दा जापानका नियमहरु बेग्लै छन् । कारण बस अनुसन्धानमा परियो भने अनुसन्धान नसकिँदासम्म पुलिसले कसैलाई जानकारी गराउँदैन ।
२०. हरेक ठाउँका नियमहरु फरक फरक हुन सक्छन् जस्तै तिमी बस्ने घरको नियम, फोहोर फाल्ने तरिका, स्कुलको नियम, काम गर्ने कम्पनीको नियम जहाँ जस्तो नियम छ भनेबमोजिम मान ।
बहिनी यी र यस्तै अरु धेरै कुराहरु पनि छन् । बाको त्याग, आमाको माया, साहुको ऋण, आफन्तको सहानुभूति सम्झेर आफ्नो भविष्यलाई उज्जल बनाउनपट्टी समय खर्च गर्नुपर्छ । केही कुरा गल्तिबाट नयाँ पाठ सिकिन्छ भने कतिपय गल्ति गर्नै हुँदैन । नजानेर भएका गल्तिले पनि कानुनसम्म पुर्याउन सक्छ ।
अतः बहिनी माथिका कुराहरु पालना गर्दागर्दै पनि आफू अप्ठ्यारोमा परियो र कसैले कुनै कुरामा जबर्जस्ति गर्न खोज्यो, अन्याय गर्यो भने कलेजको सेन्सेइको सहयोगमा नजिकको प्रहरी चौकीमा उजुरी गर ।
(पत्रकार पोखरेल हाल जापानमा हुनुहुन्छ ।)