जानुका धमला
शिल्पकारको जस्तो कुशल कला हुँदो हो त मेरो पुस्ताले सर्वहारा वर्गको निम्ति गरेको बलिदानलाई निकै कलात्मक ढंगबाट सुन्दर कलामा कुँदेर ती वीरहरूको योगदानलाई विश्वले हेर्न लायक बनाएर संसारलाई चिनाउने थिएँ । शिल्पकारको जस्तो सुन्दर कला त छैन म सँग । मात्र छ, मेरा सहयात्रीहरूको सहयात्राको मिठो सम्झना, नओइलाउने यादहरू ।

लेखक
वर्गसंघर्षको भट्टीमा आफूलाई ताप र रापले पोलेर स्पातजस्तै स्पातिलो कर्म गर्ने वीरहरूको बलिदानको सम्मान हो । सहिद जो शब्द यति प्यारो लाग्छ जो देश र जनताको लागि मरेर पनि आफ्नो भौतिक सुख सुविधालाई तिलान्जली दिएर बाँचिरहेका छन् र युगाँै युगसम्म चम्किरहने छन् आकाशका धुव्र तारा जस्तै गरेर ।
महान बनेका योद्धाहरू हुन् भद्रटार गा.वि.स वडा न.२ का हालको पन्चकन्य गाउँपालिकाका सुनिल कुमार तामा¨ क.असिम, सुनखानी गा.वि.स. हालको शिवपुरी गाउँपालिकाका दिपक ठकुरी क.विवस र रसुवाको धैवु¨ गा.वि.स. हालको कालिका गाउँपालिकाका गणेश कुमार सारु मगर क.सविन । तीनै विर योद्धाहरूको रगतले लत्पतएिको थियो रसुवाको जीबजिबे गाउँ जहाँ ती कर्मवीरहरूलाई घेरा हालेर शाही सेनाहरूले हत्या गरेको थियो ।
समिर कुमार तामाङ क.असिम
उनको राजनैतिक आन्दोलनका गुरु हुन् उनकै सहोदर जेठो दाजु कृष्णबहादुर तामाङ क.विशाल हुन् । जब–जब नुवाकोटमा जनयुद्धले उचाई हासिल गर्दैथियो । त्यो बेलामा यो परिवारको अतुलनीय भूमिका छ, नुवाकोटको वर्गसंघर्षको यात्रामा यो परिवारले निकै ठुलो त्याग बलिदान गरेको छ । २०५७ सालमा क. विशाल पार्टीको पूर्णकालीन कार्यकर्ता भएपछि संकटकालमा घरमा भाइबहिनी छोराछोरी बुबाआमाले भोग्नुपर्ने भौतिक पीडादेखि युद्ध मैदानमा क.असिमले एक इन्च पनि वर्गलाई नबिर्सिकन गरेको जीवन बलिदानले पनि प्रमाणित गर्छ ।
२०४० सालमा हालको पन्चकन्या गाउँपालिकामा बुबा मान बहादुर तामाङ र आमा चिनिमाँया तामाङको कोखबाट जन्मनुभएको थियो । एसएलसीसम्मको अध्ययन पुरा गरेपछि उहाँ २०५८ पार्टीमा पूर्णकालीन कार्यकर्ता भएर हिँड्नुभयो । २०६२ साल असोज २२ गते उहाँले पार्टीमा नै पूर्णकालीन हुनुभएकी जनमुक्ति सेनाको महिला कमाण्डर लिला तामाङ क.सुचनासँग जनवादी विवाह गर्नुभयो । कस्तो बिडम्बना ! विवाह भएको एक महिना पुगेकै दिन कार्तिक २२ गते नै उहाँलगायत अरु दुईजना साथीहरूको पनि सँगै हत्या भयो ।
कसरी सम्झनुहुन्छ त क.सुचना आफ्नो प्यारो जीवनसाथी क.असिमलाई ?
पुँजीपति र सामन्तीहरूको विवाह हुन्थ्यो भने त हनिमुनको समय पनि सकिन नपाई नै विधुवा भएको चेली हुँ म । असोज २२ मा हाम्रो माक्र्सवादी तरिकाले विवाह भयो । कार्तिक २२ गते नै उहाँ लगायत क.विवस, क सबिनलाई रसुवाको कालिका गाउँपालिका जिबजिबे बजारमा सेल्टर लिएर बसिरहेको अवस्थामा स्थानीय सुराकीले खबर गरेर शाही सेना बोलाएर नै उहाँहरू बसेको घर घेरा हाली कब्जामा लिएर हत्या गरेको हो । जीवन साथी सहिद भएको कुरा गोर्खाको स्वारामा थाहा पाएको हुँ म तेतिखेर जनमुक्तिको गण्डक कमाण्डमा कार्यरत थिए । उहाँ रसुवा नुवाकोटको कमाण्डो ग्रुपमा हुनुहुन्थ्यो । एक कुशल लडाकु त पक्कै पनि हुनुहुन्थ्यो नै साथै एउटा असल जीवनसाथी पनि । जीवनमा संघर्षको लागि जे जति प्रेरणा पाएर अहिले बाँचेको छु त्यसमा उहाँको पनि निकै ठूलो योगदान छ । जो छैन, त्यो चिज निकै प्यारो हुन्छ । नभएको वस्तु नै मेरो लागि कोहिनुर भएको छ । उसैले छोडेर गएको क्रान्तिको अभिभारा पुरा गर्दै उसको हातबाट झरेको बन्दुकलाई उठाउँदै वर्गप्रतिको निष्ठाले नै यो ठाँउसम्म ल्याइपुर्याएको छ । अहिले बुझ्दै छु यो समाजमा विधुवा भएर बाँच्नुको पीडा । तर म हारिन उसको गर्विलो इतिहासको गौरवपूर्ण बलिदानले मलाई प्रत्येक अप्ठ्याराहरूको साक्षी बनायो र यो समाजसँग लड्ने आँट बटुलेको छु । हृदयमा सजिएको उसको याद नै काफी छ मलाई यो दुनियाँको चुनौतीको सामना गर्न ।
कसैले अनुमान गर्छ भने कस्तो हुन्छ विवाह भएको एक महिना पुगेकै दिन जीवन साथीको हत्या हुँदा ? जसले भोेगेको छ उसलाई नै थाहा छ । अहिले हाम्रो जीवन भोगाई कति मान्छेलाई क्यामेराले खिचेको रिलजस्तो पनि लाग्नसक्छ । तर यो मैले र मजस्तै युद्धमा जीवनसाथी गुमाउनेहरूले भोगेको साझा पीडा हो ।
अहिलेको अवस्थामा हिजो युद्ध अवस्थाबाट आएको नेतृत्व पनि फेरिएर हिजोको बलिदानलाई नजरअन्दाज गरेको देखेर दुःख लाग्छ । उनी मरेर महान सहिद भए म बाँचेर प्रत्येक पल मरेर बाँच्नुको पीडा सायद कमैले अनुमान गर्लान । यो अवस्थाको लागि हाम्रो मान्छेहरूको रगत बगेको होइन, विडम्बना हामी यही अवस्था र व्यवस्था हेरिरहेका छौँ । साँच्चै कवि भुपी शेरचनले भनेको जस्तै
मर्नेहरू हो, यहाँ एकपटक जिएर त हेर
यहाँ जीउन कति गाह्रो छ
यही कविताको लाइनजस्तै भएको छ अहिले हिजोको जनयुद्धमा जीवनसाथीहरू गुमाउनेहरूको जीवनदशा । देशमा व्यवस्था फेरियो तर हामी जस्तै हजारौँ जनयुद्धमा सहभागी योद्धाहरू र जनताको अवस्था फेरिएन । मलाई मेरो विरताको इतिहासप्रति कहिल्यै गुनासो र दुखेसो छैन, कुरा यो हो कि जुन उद्देश्यका लागि रगत बग्यो त्यो उद्देश्य पुरा भएको छैन ।
ठ्याक्कै शब्दमा भन्न गाह्रो छ, त्यो त्यही बेला हो हामी प्रचण्ड कमरेडको एक आदेशमा मर्न र मार्न तयार थियौँ, पार्टी र नेतृत्वप्रति प्रतिबद्ध थियौँ । नेतृत्वप्रति विश्वास थियो कि, पुरातन राज्यसत्ता को ध्वंस र जनवादी राज्यसत्ताको स्थापना हुनेछ । कि त जनताले समान अवसर पाउने छ । समृद्ध समाज र देश बन्ने छ. तर आज राजनीतिक नेतृत्व हिजोका आफ्नो प्रतिबद्धताहरू सहिदहरू र जनताको सपनाप्रति इमान्दार रहन सकेनन् । अझै भनौँ युद्धबाट आएका नेताहरूको पनि दिन दुई गुणा रात चौगुणाको दरले वर्ग रुपान्तरण भैइरहेको छ । सबै नेतागण परिवारवादमा फसेका छन् । एउटा राजा फाल्यौँ, गाउँगाउँमा छोटे चन्द्र शमशेरहरूको राज चलेको छ । यसले झन् जनतामा निरासा र अन्यौलता छाएको छ । अहिले त हामीले त्यतिबेला परिकल्पना गरेको राजनीति सबै भ्रम रहेछजस्तो लाग्न थालेको छ । दिनदहाडै लुट, हत्या, हिंसा, बलत्कारबाहेक केही छैन । जनताको हितमा दुई तिहाईनजिक जनमत पाएको नेकपा पार्टीसँग हजारौँ सहिद परिवार र जनताको आशा भरोसा थियो तर पुरा भएन ।
दिपक ठकुरी क.विवस
उनी एक कुशल राजनीतिकर्मी, लाल र निपूर्ण जनमुक्ति सेनाका लडाकु सिपाही थिए । २०५७ सालमा पार्टीमा पूर्णकालीन कार्यकर्ता भएका हुन् उनी । नुवाकोटमा बनेको जनमिलिसियाको सदस्य हुँदै नुवाकोटमै जनमुक्ति सेनाको स्पेशल फोर्सको प्लाटुन सह कमाण्डरसमेत थिए । पार्टी संगठनमा जिल्ला कमिटी सदस्यसमेत हुन् । नुवाकोटमा हुने प्रत्येक फौजी कारबाहीमा उनको समान सहभागिता थियो । उनी निकै निडर र साहसी योद्धा थिए । नुवाकोट, रसुवा लगायतका गरिब जनताको प्रत्येक बस्तिमा उनको पदचाप पुगेको छ । २०५८ सालको युद्धको बेलामा उनीसंगै सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । निकै सरल स्वाभावका धनी थिए अन्याय पटक्कै मन पर्दैनथियो उनलाई । नुवाकोटमा जनयुद्धको बेलादेखि नै जातिवाद र गुटवादले राम्रो जरा गाडिसकेको थियो त्यो वादहरूको सिकार उनी पनि भएका थिए ।
एक जमान थियो, नुवाकोटमा माओवादी विरोधीहरू अझ भनौँ त्यो बेलामा माओवादीलाई ध्वस्त पार्न सरकारले बनाएको गाउँगाउँबाट माओवादी मासौँ भन्ने अभियानका नाइकेहरू जो प्रतिकार समितिको अध्यक्षसमेत थिए उनीहरू भन्ने गर्थे, ‘कुनचाँही माओवादी सानो की ठूलो ?’ त्यो समयमा नै उनी ठूलो माओवादीको लिष्टमा परेका थिए । अर्थात लडाकु सिपाही युद्धकलाले भरिपूर्ण परिस्थितिअनुसार आफूलाई जस्तोसुकै रूपमा पनि परिवर्तन गर्न सक्ने ।
२०५९ साल संकटकालमा भाद्र महिनामा तलाखुमा सेल्टर लिएर बसेका थियौँ हामी बसेको घरको छिमेकीले थाहा पाएपछि अल्छेमा रहेको सेनाको ब्यारेकमा गएर शाही सेनाहरूलाई बोलाएर ल्याएछ । हामीलाई दुश्मनले घेरा हालेसकेको थियो । त्यो बेलामा उनले मलगायतका साथीहरूलाई नबचाएको भए म त्यहीबेला नै मारिने थिएँ । उनको युद्ध कौशलताको कारण नै हामी बाँच्न सफल भयौँ । बेलुका उनले त्यो सुराकीलाई एकैचोटी भौतिक कारबाही सफाया गरेर फर्किए उनी आफ्ना विपक्षी दुश्मनकोसामु निकै कठोर रुपमा प्रस्तुत हुन्थे । त्यही नै अन्तिम भेट भयो मेरो क. विवससँग ।
गणेश सारु मगर क.सविन
तत्कालित रसुवा जिल्लाको धैबुङ गा.वि.स. हालको कालिका गाउँपालिकामा बुबा कृष्णबहादुर सारु मगर, आमा बेलकुमारी सारु मगरको कोखबाट गणेश सारु मगर क.सविनको जन्म भएको थियो । सानै उमेरदेखि विद्रोही स्वभावको क.सविनलाई पनि देशमा चलेको जनयुद्धको चहलपहलले कहाँ अछुतो राख्न सक्थ्यो ? क. दिक्षा, क.ज्वाला, क.बसन्त मगर लगायतको बलिदानले पनि उनलाई क्रान्तिमा लाग्नको लागि प्रेरणा मिल्यो । उनी २०५९ सालमा स्कुलमा पढ्दा पढ्दै सर्वहारावर्गको मुक्तिको खातिर सुनौलो सपना देखेर जनयुद्धमा सहभागी भए । देशभर युद्धको राँको दिन दुई गुणा रात चौगुणा जसरी फैलिँदै गयो । त्यहीअनुरुप जनमुक्ति सेनाले पनि फौजी कारबाही तिव्ररूपमा अगाडि बढाउन आवश्यक थियो । फौजी आक्रमणलाई बढाउँदै पार्टीको १६औँ कार्ययोजनालाई कार्यान्वयन गर्ने क्रममा रसुवा जिल्लाको हालको कालिका गाउँपालिकाको जिबजिबे बजारमा दुश्मनलाई मानिङ एम्बुस राख्ने क्रममा स्थानीय सुराकीको सूचनाको आधारमा गिरºतार गरी शाही सेनाले हत्या ग¥यो । त्यही दिन तिनजना चेलीहरूको सिउँदोको सिन्दुर पुछियो । आमाहरूको काख रित्तियो, छोरा टुहुरा भए । (नोट ः क.विवसको एक छोरा छन्)
तपाईको हराइले हराएको प्रियजनहरू एकदिन फर्किन सक्छन् ।
कठिनाइमा परेको मानिसलाई घरमा कसैले पर्खिरहेको छ भन्ने भावना मात्रले पनि बाँचेर फर्किन प्रेरित गरिरहेको हुन्छ ।
रुसी कवि कन्स्तान्तिन सिमोनोभ सन् १९४१ दोस्रो विश्व युद्धमा रेडस्टार पत्रिकाको सम्पादकको रूपमा खटाइएका थिए र त्योबेला जन्मिएको यो कविताको हरफले सन्देश दिएको छ । उनले युद्ध मैदानबाट आफ्नी पत्नीलाई पर्खनु है मलाई † म फर्किआउने छु भनेर लेखेको कविताको यी हरफहरूले नेपालमा सञ्चालित जनयुद्धको क्रममा उदयमान क्रान्तिकारी सपना देखेर वर्गदुश्मनको राज्यलाई ध्वस्त बनाउने क्रममा सहिद वा बेपत्ता भएका परिवारजनको मनको भावनाको पनि प्रतिनिधित्व गरेको छ । म पनि खोज्ने गर्छु मेरा प्रिय आत्माहरूलाई तिनीहरूको अन्त्येष्टी भएको स्थानको समिप पुगेर कहिँकतै फर्किहाल्छन् कि भनेर तर उनिहरू फर्किएनन् । जो भौतिकरूपमा बिलाए तारापुज्ज बनेर चम्कीरहेका छन् ।
मैले यी वीरहरूको गाथा लेख्दै गर्दा उनीहरूको जीवनसाथीहरूका बारेमा पनि केही त खोतल्दिनुपर्छ । यी तिन योद्धाहरू विवाहित हुन् । उनीहरूलाई तत्कालीन पार्टी माओवादीले सहिद घोषणा ग¥यो तर ति योद्धाहरूको घरपरिवार र तीनका जीवनसाथी र छोराछोरीको अवस्थाको बारेमा पार्टीको नेतृत्व गरेर आएका नेताहरू सत्तामा पुगेर पनि चिन्न छाडे । नेताहरूले सहिद र उनीहरूको परिवारसमेत चिन्न छोडेको देखेर दुःख लाग्छ । तिनै योद्धाहरूको रगतको आहालमा पौडिएर बाँचेको नव धनाढ्यहरूलाई यो रगतले नपोलेको देखेर अचम्म पनि किन मान्नु छ र अहिले † वर्ग फेरिएकाहरूसँग अहिले जनयुद्धको त्याग, बलिदान समर्पणको कुरा गर्ने, सुन्ने, सुनाउने फुर्सद छैन रे ! जो ठेकेदारको चंगुलमा फसेका छन् र नाफा खाएर शानको जिन्दगी बाँचीरहेका छन् । सबै कुराको निर्धारण विचारले गर्छ, जहाँ विचार शुन्य हुन्छ त्यहाँ विचारविहिन झुण्डहरूको भेला हुन्छ ।
अग्रज र मेरा पुस्ताले राज्य व्यवस्था परिवर्तनको लागि कयौँपटक विद्रोहको आवाज बुलन्द ग¥यो र मेरो पुस्ताले विभिन्न कालखण्डमा भएको विद्रोहलाई मुर्तरुप दिन माओवादी पार्टीको नेतृत्वमा शसस्त्र युद्धमा नै भौतिक शरिरको पर्वाह नगरी उपस्थिति जनायो । यसबाट उपलब्धी के भयो त ? यसको लेखाजोखा के ले निर्धारण गर्ने अहिले ? लाचार सरकार भर्ती अभियानमा अमुखको आर्शिवाद पाएर नेता भएकाहरूलाई हिजोको योगदानले छुँदैन र विगतको त्यागलाई अनादर गर्नु कुनै अनौठो पनि नमान्दा हुने रहेछ ।
यो बलिदानलाई पक्कै पनि पछिल्लो पुस्ताले सम्मान गर्नेछ । मेरो पुस्ताले त एउटा इमान्दार नेतृत्व नदेखीकनै देहत्याग गर्नुपर्ला । फेरी परिवर्तनकै बाटोमा नयाँ पुस्ताले पनि संघर्ष गर्न जरुर आवश्यकता छ । साँच्चै युद्ध सुनौलो बिहानी लिएर आउँछ र डरलाग्दो चित्कार छोडेर जान्छ । ती वीर योद्धाहरूको सम्झनामा लाखौँ श्रद्धासुमन लाखौँ श्रद्धाञ्जली !!
Recent Comments