केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पुर्याएको छ । यही असारको शुरुदेखि परेको अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो ।
बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताए। असार १ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले केन्द्रीय विद्युत् प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्याएको छ । बाढीपहिराले बिजुलीको पोल र तार पुरिनुका साथै बाढीले बगाएर लगेको छ ।
लघु जलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन चामे सदरमुकामसम्म विद्युत् सेवा उपलब्ध गराइएको थियो । फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोड्न सफल भएको थियो । अहिले बाढीपहिरोले क्षति पुर्याएपछि पुनः जडानमा कठिनाइ भएको वितरण केन्द्रका प्रमुख सुवेदीले बताए ।
मनाङको माथिल्लो भेगसम्म लाइन विस्तारका लागि कूल रु तीन करोड ५४ लाख ४१ हजार लाग्ने अर्थ मन्त्रालयले जनाएको छ । प्राधिकरणका अनुसार मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ, खाङसार हुँदै तिलिचो आधार शिविरसम्मका लागि रु एक करोड १८ लाख ८४ हजार १४० विनियोजन भएको छ भने जिल्लाको माथिल्लो भेगस्थित मनाङ, टङ्किमनाङ हुंँदै थोरोङ्ला आधार शिविरसम्मका लागि रु दुई करोड ३५ लाख ५६ हजार ९३४ विनियोजन भएको थियो ।
बाढीपहिराले जिल्लाको १० लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीपहिराका कारण क्षति पुगेको जलविद्युत् तत्काल मर्मत गर्न सम्भव भने देखिएको छैन ।








































