प्रेस काउन्सिल नेपालले सुर्खेत गुर्भाकोटकी राउटे किशोरीमाथि भएको यौन दुर्व्यवहारको घटनाबारे अध्ययन गर्ने भएको छ । प्रेस काउन्सिल नेपालअन्तर्गतको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले घटनालाई अतिरञ्जित गर्दै युट्युब अनलाइन तथा सामाजिक सञ्जालमा अतिरञ्जित तबरले भिडियो तथा तस्बिर प्रयोग भएको विषयमा अध्ययन गर्ने निर्णय गरेको हो ।
काउन्सिलले घटनामा युट्युबरको प्रत्यक्ष संलग्नता भएको विषयलाई विशेष चासोका साथ हेरेको र अध्ययन गर्न खोजेको बुझिएको छ । पत्रकारिता जगतले पीडितलाई थप पीडा पुर्याउने, व्यक्तिको गोपनीयताका प्रतिकूल असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवं घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराएको काउन्सिलले औल्याएको छ ।
उक्त घटना र घटनाका विषयमा प्रकाशित प्रसारित केही समाचारजन्य भनिएका सामग्रीले अल्पसङ्ख्यक एवं महिलाको आत्मसम्मान र भावनामा प्रतिकूल असर परेको ठहर गर्दै काउन्सिलले यी विषयमा अध्ययनका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।