काठमाडौँ ।
तत्कालीन नेकपा माओवादी केन्द्रको जनकलाकार संघमा सक्रिय कलाकार पुजा श्रेष्ठ साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को सञ्चालक सदस्यमा नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद् निर्णयअनुसार वैशाख १० गते सञ्चालक सदस्यमा नियुक्त श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो ।
नुवाकोट जिल्लाको सुर्यगढी – १ मगरथुम भन्ज्याङमा २०४४ साल कार्तिक ११ गते जन्मनुभएकी श्रेष्ठ माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा जनकलाकार संघमा संगठित भएर काम गर्नुभएको थियो । जनवादी गायन तथा नृत्यमा सक्रिय श्रेष्ठ पछिल्लो समय जनसांस्कृतिक महासंघको बाग्मती प्रदेश समितिको उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठ जनपक्षीय साहित्य लेखन तथा सिर्जना र वाद्यवादनमा पनि दख्खल राख्नुहुन्छ ।