सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प भएको छ । विभिन्न माग राखेर मजदुर आन्दोलित भएपछि काम रोकिएको हो । बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै हिजो दिनभर आन्दोलित भए ।
मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ । बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन् ।
निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै पटक–पटक काम अवरुद्ध गर्दै आएका छन् । अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर विशाल चौहानले बताउनुभयो ।
९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।