नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। घटनामा २५ जना घाइते छन्। विदुर नगरपालिका–४ बट्टारबाट दाङसिंह जाँदै गरेको बा २ ख ८४४५ नम्बरको बस दुर्घटना भएको हो । चैनपुरमा भएको दुर्घटनामा तारकेश्वर गाउँपालिका–६ भमराका रामप्रसाद अर्याल, उनकी पत्नी सीतादेवी अर्याल र खड्गभञ्ज्याङका बाबुराम दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
रामप्रसाद र बाबुरामको घटनास्थलमै र सीतादेवीको उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। अस्पताल पुर्याइएका २६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेकामा चार जनालाई काठमाडौं रिफर गरिएको त्रिशुली अस्पतालका सूचना अधिकारी रिकेश रानामगरले जानकारी दिनुभयो।
उहाँका अुनसार १० जनाको अवस्था मध्यम छ भने अन्य १० जनाको अवस्था सामान्य छ । अस्पताल ल्याइएकामध्ये एक जनाको बाटोमै ज्यान गएको हो ।








































