-पुजा श्रेष्ठ
खै कसरी भनुँ यो के प्रतिरोध हो
खै कसरी सुनाउँ यो के परिवर्तन हो
छैन म सँग तिमिलाई दिने केही उमङ्गहरु
त्यसैले माफी देउ
आज तिम्रो फोटोलाई माला लगाउन आइन ..।
तिमीले जुन बाटो देखायौ
पछ्याएका थियौँ लक्ष्य भेट्छौँ भनि
तिम्रा सपनालाई च्याती – च्याती
भागबन्डामा लुछाचुडी गरेपछि
कसरी सहुँ तिम्रो रगतको अपमान
त्यसैले माफी देउ
आज तिम्रो फोटोमा अबिर लगाउन आईन …।
तिम्रो त्यो साहस , त्यो बिरता,
त्यो अठोट, त्यो त्याग र बलिदान
धिक्कारेर आफ्नो बाटो फेर्नेहरु
तिम्रो अस्तित्वमा डलर खेती गर्न थालेपछि
कसरी भनुँ तिम्रो गाँथाहरु पुर्दैछन् भनेर
त्यसैले माफी देउ
आज तिम्रो फोटोमा पुष्प गुच्छा लिएर आइन …।
तिम्रो रगतलाई धरौटी राखेर
चरित्रको ब्यापार गर्न थाले
तिम्रो आश्थालाई बेश्यालय बनाएर
बाध्यताको बिल्ला भिराउन थाले
तिम्रो अठोट माथि नाङ्गो नाच नाचेपछि
कसरी सम्हालौँ तिम्रो सपनाहरु
त्यसैले माफी देउ
आज तिम्रो सामु पिडा बिसाउन आइन ….।
अब तिम्रो चिहान खोतल्न आउनेछु
तिमी जुर्मुराएर जुरुक्क उठिदेउ
यो पटक आफ्नै देखेकाहरुसँग
घनिभूत प्रतिरोध गर्नुछ
कोही अरु आउन या नआउन
म तिमी सँगसँगै उसेैगरी हुनेछु
तिम्रा बाँकी सपनाहरु पुरा गर्नुछ
यो पटक जसरी पनि तिमी बिजयी हुनुछ
बल्ल उमङ्गले तिमी संगै रहौँला
त्यसैले माफी देउ
आज तिम्रो सामु अधुरा सपना लिएर आइन ….।
महान् सांस्कृतिक शहीदहरु अमर रहुन् !
०५/१२/२०७८ बुटवल