सम्मानीय प्रधानमन्त्री ज्यू,
नमस्कार साथै अभिवादन भन्न चाहन्छु ।
तपाइँ कोरोनालगायत बिभिन्न रोगबाट सुरक्षित रहँदै देश र जनताको स्वास्थ्यमा पनि कर्मनिष्ठ भएर सोच्नु हुनेछ । जनताको सुस्वास्थ्यलाई पनि आफ्नै समस्या ठानी हल गर्नु हुनेछ भन्ने अपेक्षा राख्दै कोरोनाभाइरसको महामारीबाट तपाइँ दुईतिहाई सरकारको शक्तिशाली प्रधानमन्त्री भएको कारणले तपाइँसँग केही प्रश्न गर्न मन लाग्यो ।
राम्रोसँग थाहा छ हजुरलाई हामी साधारण नेपालीले गरेको प्रश्नले केही छुँदैन भन्ने तर पनि हजुर जनताबाट चुनिएरै जानुभएको हो त्यसैले पनि कतै हामीहरुको प्रश्नको प्रतीक्षा गरेर बस्नुभएको त छैन भन्ने लागेर नै म आफ्नो मनमा रहेका केही कुराहरु हजुरसमक्ष पुगोस् भन्ने हेतुले नै यो पत्र लेख्ने हिम्मत गर्दै छु।
सम्मानीय प्रधानमन्त्री ज्यू, हाम्रो देश नेपालले विगत लामो समयदेखि विभिन्न बहानामा विभिन्न किसिमका जातीय आन्दोलनहरुकासाथै राणा शासनविरुद्दको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, १० वर्षे महान जनयुद्ध, राजतन्त्रविरुद्धको आन्दोलनजस्ता धेरै घटनाक्रम पार गर्दै देशमा गणतन्त्र आएको पनि करिब १२/१३ बर्ष भैसक्यो । तर गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको छ। परिवर्तनका लागि लडेकाहरु कति सहिद भए, कति घाइते, अपाङ्ग भएका छन् तिनिहरु र परिवर्तनको लागि रगत बगाउनेहरुको परिवारहरुले परिवर्तनको महसुस गर्न र सरकार भएको महसुस गर्न पाएका छैनन् ।
अधिकारको लागि जे जति आन्दोलन भएतापनि ती आन्दोलनको उद्देश्य जब ब्यक्ती सत्तामा पुग्छन् सबैले बिर्सन्छन त्यसैले त शासन ब्यवस्था जस्को हातमा पुगे पनि जनताको जीवनशैली भने जस्ताको त्यस्तै छ ।
आज म तपाइँसमक्ष धेरै कुरा गर्नुभन्दा पनि केही प्रश्नको जवाफको अपेक्षा राखेको छु प्रधानमन्त्री ज्यू, हाम्रो देश नेपाल प्राकृतिक रुपमा धनी भएतापनि आर्थिक रुपमा गरिब छ भन्ने कुरा त मैंले हजुरलाई बताउनुपर्ने जरुरत ठान्दिनँ, त्यही पनि हाम्रो देश गरिब भएर तपाइँजस्ता नेताहरु जो सामान्य टाउको दुख्दा अनि झाडापखाला लाग्दा अमेरिका, स्विटजरल्यान्ड, सिङ्गापुर धाउनुहुन्छ तपाइँहरुका लागि त देश गरिब छ भन्ने महसुस पनि हुँदैन होला सायद । तर हाम्रो देशमा यस्ता विकट ठाउँहरु छन् जहाँका जनताहरु सिटामोलको अभावमा प्राण त्याग गर्न बाध्य छन् । प्रधानमन्त्री ज्यू उनीहरुको बारेमा तपाइँले कहिले सोच्ने ?
खाली राज्य भनेको उही नेताहरुको लागि सत्तामा पुग्ने अनि आफ्ना नातागोता इस्टमित्रलाई बिनायोग्यता सरकारी जागिरे बनाइदिने, चैन गर्ने ठाउँ हो कि जनताले पनि राज्यबाट सुखको अनुभुति गर्न पाउने ?
हाम्रो देशले मेडिकल शिक्षाको लागी बर्सेनी करोडौँ लगानी गर्दै आइरहेको छ, देशमा क्यान्सरजस्ता रोगको उपचारको लागि पनि हस्पिटलहरु बनेका छन् र करोडौँ खर्चेर डाक्टर तथा नर्सहरु पढिरहेका छन् तर तपाइँहरु सामान्य टाउको दुख्दा अनि झाडापखाला लाग्दा पनि आफ्नो उपचार गर्न अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर तथा थाइल्यान्डलाई आफ्नो रोजाइ मा राख्नुहुन्छ जसबाट हामीजस्ता नेपालीहरु जो रात र बिहान नभनिकन काम गरिरहेकाछौं साथै सात समुन्द्र पारी हुने साथीहरु चर्को घाम, रातदिन नभनी रेमिटेन्स पठाइरहेका छन् । जुन राज्यकोष बनेको छ उक्त रकम उडाउने काम मात्र गर्नुहुन्छ आखिर किन ?
तपाइँहरु सामान्य उपचार को लागि विदेश जाँदा देशमै करोडौं रकम खर्चेर डाक्टर अनि नर्स पढेकाहरुमा कस्तो मानसिक असर पर्ला त्यो कहिल्यै सोच्नुभएको छ प्रधानमन्त्री ज्यु ?
के नेपालका हस्पिटलहरु तथा डाक्टरहरु बिरामीको उपचार गर्न असमर्थ छन त ?
यदि छन् भने फेरि बर्सेनी मेडिकल शिक्षा हासिल गर्नको निम्ति करोडौँ खर्चेर नेपाल सरकारले छात्रवृत्ति दिएर विदेश पढ्न किन पठाइरहेको छ त ?
विदेश पढ्न गएकामध्ये कम मात्रामा नेपाल फर्केर सेवा गर्ने इच्छा गर्छन् र धेरैले किन आफ्नै देशमाथी गद्दार गर्छन् भन्ने प्रश्नको उत्तर पनि यहीँ छ प्रधानमन्त्री ज्यू टाढा जानुपर्दैन, उनिहरु नेपाल फर्केर सेवा गर्न अनिच्छा गर्नुमा तपाइँहरुले नै सबैभन्दा धेरै हामी नेपाली जनतालाई गद्दारी गरेर हो त्यसैले अब यसको जवाफ तपाइँहरुले हामी जनतालाई दिनुपर्छ प्रधानमन्त्री ज्यू ।
जनता बिहान बेलुका खाना जोहो गर्न को निम्ति खाडी मुलुकमा आफ्नो शरीरको प्रवाह नगरी ४५/५०° को गर्मी तथा -१५/२०° को चिसो मा काम गरेर देशमा रेमिटेन्स पठाउँदै राज्यकोष जम्मा गरेका छन् । तपाइँहरु भने राज्यकोषको दुरुपयोग गर्ने ?
के राज्य नेताहरु र उनकै नातागोता अनि इस्टमित्रको लागि मात्र हो त प्रधानमन्त्री ज्यू ?हा
हामीले हाम्रो देशमा पनि सरकार छ भनेर कहिले अनुभूती गर्न पाउने ?
अझ भन्नुपर्दा त तपाइँ अनि तपाइँको सरकार आफुलाई कम्युनिस्ट भन्नुहुन्छ , यदि तपाइँको कम्युनिस्ट सरकार हो भने जनतालाई समान अधिकार दिएको खै त ?
अनि के कम्युनिस्ट नीतिले राज्यकोषबाट नेताहरुले मोज मस्ती अनि चैन गर्न सिकाउँछ त प्रधानमन्त्री ज्यू ?
डेढ अर्बको हेलिकप्टर र १८ करोडको गाडी राष्ट्रपतिलाइ करोडौँको कार्पेट अनि तपाइँ र तपाइँका मन्त्रीहरुलाई पनि विभिन्न शीर्षकमा रकम निकासा हुने गरेको छ । कार्यकारी राष्ट्रपती प्रणाली निर्माण गरी गोलापर्थाबाट सांसद बनाउने कार्य बन्द गर्नुस ! नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्यारा पत्ता लगाइ, तत्कालीन राजा विरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड पत्ता लगाइ हत्याराहरुलाइ जनतासामु उभ्याएर कारबाही गर्नुस् !
बिन्ती छ, प्रधानमन्त्री ज्यू रुकुम, रोल्पा, हुम्ला, जुम्लाका गरिब जनतालाई पनि सरकार छ भन्ने अनुभूति गराइदिनुस्, सर्बप्रथम नेपाल मै भएको जनशक्तीको प्रयोग गर्न सिक्नुस, उनिहरुलाई मानसपटलमा नकारात्मक छाप नबसाइदिनुस्, आफुले विदेशमा सिकेको सीप ज्ञानलाई म मेरै देशमा प्रयोग गर्ने हो भनेर जनताले ढुक्कसाथ भन्न सक्ने वातावरण बनाइदिनुस्, म र म जस्ता लाखौँ साधारण जनताको यही माग हो प्रधानमन्त्री ज्यू ।
तपाइँ जनताबाट चुनिएको प्रधानमन्त्री भएकोले गर्दा हामी जनताको यी र यस्ता मागहरू प्रती चासो देखाउनुहुनेछ र तत्काल समाधानको लागि कदम अगाडि बढाउनुहुनेछ भन्ने अपेक्षा गरेको छु।
तपाइँले २-२ पटक मृर्गौंला प्रत्यारोपण राज्यको पैसाले गर्न हुने तर जनता ५ रुपैयाँको सिटामोल र १० रुपैयाँको जीवनजल खान नपाएर मृत्युको मुखमा पुग्नु परेको छ । यहि हो त दुइतिहाइको कम्युनिस्ट सरकारको नीति, विधि ?
गाउँगाउँमा सिहंदरबारको नारा पनि बालुवामा पानी हालेजस्तै भएको छ । दरबार काठमाडौंमै छ भने छोटे, मोटे सिहंहरु मात्र गाउँगाउँमा पुगेका छन् । ठेक्का मिलाउने, ठेक्दार बन्ने, जेसिबि खरिद गर्ने, प्रत्येक ठाउँमा आफुखुसी जनतालाइ थाहा नदिइ समिति गठन गरी प्राकृतिक सम्पदाहरु नष्ट गर्ने, विकासका नाममा आएका बजेटहरु कामभन्दा धेरै भष्टाचार हुने गरेको छ। तपाइँको सरकारले मल ल्याउन ठेक्का दिनुभएका ठेक्दार कम्पनीहरुले समयमै मल नल्याउदा किसानहरुले खेतवारीमा मल हाल्न नपाउँदा बालिनालि नष्ट भएका छन् भने जनताहरु धेरै निराश भएका छन् ।
तपाइँको सरकारले खर्च गरेको कोरोनाको नामको अर्बौं रकम पनि खै कहाँ खर्च भयो जनताले राहतको महसुस समेत गर्न पाएनन् । बाढी पहिरोमा परी कतिले त परिवार गुमाएका छन्, कति त घरबारबिहिन भएका छन् । बाढीपहिरो पीडितहरुले समयमै उद्दार र राहत पाउन सकेका छैनन् त्यतातिर पनि सरकारको ध्यान केन्द्रीत होस् ।
विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि कोरोनाबाट अछुत हुन सकेन । नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो । नेपालमा कोरोना भाइरस पुष्टि भए पछि चैत ११ गतेबाट लागू भएको लकडाउन आंशिक रुपमा खुलेपनि करिब छ महिना पुग्नलाग्दा पनि जारी नै भएको हजुरहरुलाई अवगत नै छ। लकडाउन केही सामान्य भएदेखि कलकारखाना, संघसंस्था, यातायात, बजारहरु जस्ता विभिन्न क्षेत्रहरु केहि हदमा खुलिसकेका छन् तर विश्वविद्यालय र बिद्यालयहरु भने खुल्न सकेका छैनन् । मुलुकका धेरैजसो विद्यालयहरु क्वारेन्टिन बनाइएका छन् ।
यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामना गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। अन्य मुलुकमा वैकल्पिक माध्यमहरुबाट पठनपाठन सुचारु भए । विश्वका धेरै देशहरूले पनि यो कठिन समयमा आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागी भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन् । किनकी विकसित चेत भएका प्रायः सबै देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई अत्यन्तै महत्त्व दिएका छन् । तर नेपालमा त्यो भने सम्भव भएको देखिँदैन ।
विद्यालय कलेजहरु बन्द भएका कारण कतिपय विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परिरहेको तथ्य पनि हजुरलाई थाहा नै छ होला । सबै विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन् । जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविष्य के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन् ।
यस्तो बेलामा विद्यार्थीहरुलाइ कसरी शैक्षिक क्रियाकलापहरुमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु पर्ने हो तर विश्वविद्यालय र हाम्रा कलेजहरुले कानमा तेल हालेर बसिरहेका छन् । विद्यार्थीले गुहार माग्दै बोलेको न सरकारले सुन्छ न विश्वविद्यालयले सुन्छ । न त त्यस्का आङ्गिक एवं सम्बन्धन प्राप्त कलेजहरु सञ्चालन गरिरहेका उच्च व्यक्तित्वहरुले नै ‘मरेका मान्छे राखिने मुर्दा घर जसरी सुनसान देखिन्छन् विश्वविद्यालय अनि त्यसका आंगिक एवंम सम्बन्धन प्राप्त कलेज र त्यहाँका सञ्चालकहरु।’
काठमाडौँ विश्वविद्यालयले लकडाउन भएदेखि आन्तरिक परीक्षाको मूल्याङ्कन गरी नतिजा निकाल्ने र भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत शैक्षिक क्यालेन्डरलाई कुनै असर नपर्ने गरेर नियमित कक्षाहरु सञ्चालन गरिरहेको छ र त्यो प्रभावकारी पनि देखिएको छ । के त्रिभुवन, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदुरपश्चिमाञ्चल जस्ता विश्वविद्यालय हरुले यस्तो गर्न सक्दैनन् र ? विश्वबजारमा भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत पढाइ भइरहेको काठमाडौँ विश्वविद्यालयको सर्टिफिकेट चल्ने अनि अरु विश्वविद्यालयको नचल्ने पनि कहि कतै हुन्छ र ? मूल्याङ्कन गर्नलाई अरु सेमेस्टर र वार्षिक परीक्षाहरु बाकि छँदैछन् के १ semester वा १ वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कन बाटै रिजल्ट निकाल्दा पहाड खस्ने अनि जमीन नै भासिने हुन्छ र ?
यदि यो कुरा पनि सम्भव नभए पठनपाठन सुचारु नभएर एकवर्ष ग्याप हुनुभन्दा नेपालमा धेरै निम्नवर्गीय विद्यार्थीहरुले ऋण नै काटेर भएपनि भर्चुअल क्लासरुम अनि अनलाइन क्लासमार्फत उपस्थिति होलान । के अब त्यो पनि सम्भव छैन र ?
विश्वविद्यालय र कलेजहरु के पैसा असुल्ने भाडा मात्र हुन् र ?
मुलुकमा आपतविपत आइपर्दा सोच्नु पर्ने बेला भएको छैन र ?
यदी यस्तो होइन भने हजुरहरुलाई के कुराले रोकेको छ? हुन्छ भने हुन्छ भन्दिनुस् हुन्न भने हुन्न भन्दिनु लाखौ विद्यार्थीहरूको भविष्य अन्धकारमा पारेर विधार्थिहरुलाई यता न उताको नपारी दिनुहोस्। चार वर्षमा सकिने कोर्स ५ वर्षमा सकिन्थ्यो अब यस्तै पारा हुने हो भने ६ वर्षमा पनि सकिन गाह्रो हुन्छ।
केहि विश्वविद्यालय अझैपनि नेतृत्व विहिन भएका छन् । यो अवधिमा प्रशासनिक एवम् शैक्षिक गतिविधी शुन्य रहेको छ। शैक्षिक क्यालेन्डर ध्वस्त भएको अवस्था छ । वैक्ल्पिक शैक्षिक योजना पनि आधिकारिक रुपमा लागु हुन सकेको छैन । विद्यार्थीले के बुझ्न जरुरी छ भने भोली यो वा त्यो बाहनामा हाम्रो ६ महिने सेमेस्टर २ महिने मात्र हुनेछ । नेतृत्व एवम् पदपुर्ती नगर्ने अनि १-२ महिनाको सैद्धान्तिक कक्षाको भरमा परिक्षामा होमिनुपर्ने जटिलता विद्यार्थीले भोग्नुपर्ने ?
कुलपतिको एवम् सहकुलपतिको गल्तिको सिकार विध्यार्थी बन्नु पर्ने देखिन्छ । १-२ महिना कक्षा सञ्चालनको भरमा परिक्षा सञ्चालन हुन्छ के यसरी नै शैक्षिक गुणस्तर उभो लाग्छ होला त ?
सरकार लाई मन लागेको गर्न पाउने हो दुई तिहाइमा ?
अनि अब ल त्यो त छोडौँ गल्ती भयो होला अब सुधार्नु हुन्छ होला । आशा छ, तपाइँजस्तो जान्नेबुझ्ने प्रधानमन्त्रीबाट अब विश्वविद्यालयको हालत हेरौँ अझै कस्तो हुन्छ ।
विश्वविद्यालयहरुमा विगत महिनौबाट न उपकुलपति छ, न रजिस्ट्रार, न परीक्षा नियन्त्रक, न डिनहरू सबै रिक्त भएका छन् । अनि कुलपति को नाताले तपाइँले उपकुलपति नियुक्ति गर्नु पर्ने हैन र ?
म नियुक्ति गर्न सक्दिनँ असक्षम छु भन्ने लाग्छ भने म असक्षम छु भनिदिनुहोस् हामी वैकल्पिक बाटो खोजौला । यसरी चुप्प लागेर लाखौं विद्यार्थीहरूको भविष्यसँग खेलवाड नगरी दिनुहोस् । अहिलेका विद्यार्थी पछि देश विकासका मेरुदण्ड नै हुन् । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहनुभएको हजुरले बेसार, अदुवा तातोपानीको सल्ला सुझाव दिन ठीकै हो ति कुरा पछि सोचौला र समाजमा आलोचनात्मक हुने कुराहरु पनि नगरीदिनुहोस् ।
बरु अहिले विश्वविद्यालय सोचिदिनुस्। सबैलाई अहिले विश्वविद्यालयहरु टुहुरो लाग्दैछन् ।
‘कि लिपुलेकमा भारतीयले वर्षौंदेखि बाटो खन्दै गर्दा हजुरले थाहा नपाए जसरी विश्वविद्यालयमा रिक्त रहेका पदहरू हजुरलाई थाहा छैन र ?”
अब यसै पत्रबाट हजुर र हजुरका शिक्षामन्त्रीले थाहा पाउनु भयो होला भन्ने आशा छ । अझैपनि कानमा तेल हालेर सुने पनि नसुने झैं गरेर नबसी दिनुहोस् । केहीदिन अघि शिक्षामन्त्रीज्यूको अभिव्यक्तिले परिक्षाको छलफल स्वयं विश्वविद्यालयले विद्यार्थीहरुका लागि हाल परिक्षा नलिइ अर्को सेमेस्टरमा पढाइ सुरु गर्न सक्ने बारे विश्वविद्यालयहरुले गृहकार्य गरिरहेको जानकारी गराउनुभएको थियो तर अहिलेसम्म पनि विश्वविद्यालयहरूले केही निर्णय गर्न सकेका छैनन् । के अब ढिलो भएन र ? अझै कति ढिलो गर्ने ? कि परीक्षा हुन्छ भन्नुपर्यो कि हुँदैन भन्ने निर्णय जतिसक्दो चाँडो गरिदिनु पर्यो । विद्यार्थीहरु अन्यौलमा परेका छन् अन्योलबाट मुक्त गराईदिनु पर्यो ।
यसरी अघि बढ्ने हो भने विद्यार्थीको भविष्य डामाडोल अनि भद्रगोल नै हुने देखिन्छ विद्यार्थीको मात्र नभई मुलुकको नै भविष्य अन्धकार हुने कुरामा दुईमत छैन । कोरोना र लकडाउनले गर्दा १ बर्ष नै लस त हुने हैन भन्ने कुराले धेरै विद्यार्थीहरूको मनमुटु पिरोलिरहेको छ । यदि यस्तो भयो भने विद्यार्थीहरुलाई आफ्नो पठनपाठन व्यवस्थापन गर्न निकै कठिन हुने देखिन्छ । खाई नपिई ऋण, जोहो गरेर सहरमा कोठा भाडामा लिएर पढिरहेका लाखौँ विद्यार्थीहरूको सपना चक्नाचुर हुने देखिन्छ। एक सेमेस्टर त खेर गयो गयो अब अर्को सेमेस्टर पनि खेर जाने हो कि विद्यार्थीहरु पिर मानेर अत्तालिन थालेका छन् ।कतिले त लकडाउनको बीचमा आत्महत्या गरिरहेको समाचार आइरहेको छ ।
अर्थतन्त्र लगायत अन्य क्षेत्रहरूको ग्याप वा असरहरु त २/४ वर्षको मिहिनेतबाट रिकभर गर्न सकिएला । तर शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको मात्रै भविष्य बिग्रदैन, यसले सिंगो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चोट पुर्याइरहन्छ । यसरी नै शिक्षण संस्थाहरु बन्द राखेर पठनपाठन ठप्प गर्ने हो भने भविष्यमा शिक्षा क्षेत्र र मुलुकको विकासमा ठुलो क्षति हुने देखिन्छ ।
तसर्थ भविष्यमा शिक्षा क्षेत्र र मुलुकको दिगो विकासमा भइ परि आउने ठूलो दुर्घटनाबाट बच्न र बचाउनको लागि अहिले नै नेपाल सरकारले दीर्घकालीन उपायहरु अपनाएर बन्द भएका विद्यालय, कलेज र विश्वबिद्यालयहरूको पठनपाठन के कसरी सुचारु गर्न सकिन्छ त्यता तिर ध्यान दिनु हुन विनम्र अनुरोध गर्दछु।
काण्डै काण्डले तपाइँको सरकार त खुइलिनसम्म खुइलियो त सरकार अझै गोकुल बाँस्कोटाहरुलाई सम्मान गरिरहनु भएको छ त । लकडाउनको बेलामा झण्डै ३००० को हाराहारीमा जनताहरुले आत्महत्या गरिसकेका छन् । लकडाउनलाइ व्यवस्थित गर्न नसक्ने भए झनै कोरोनाको महामारी भयावह हुने स्थिति पैदा भएको छ । सधैं लकडाउनले समस्या हल हुदैन पिसिआर परिक्षणदर व्यापक बढाउनुपर्छ । कम्तिमा प्रत्येक घरको १/१जनालाई कोरोना परिक्षण गर्ने, कोहि कोरोनाभाइरसबाट पीडित भए उनिहरुको राज्यले निःशुल्क रुपमा उपचार गर्ने स्कुल, कलेज, विश्वविद्यालयहरु सञ्चालन गरि शिक्षाबाट कुनै विद्यार्थीलाई पनि बन्चित नबनाउने, साथै कुन विद्यार्थी बिरामी भएर पढ्न जान नसकेमा उसलाई वैकल्पिक व्यवस्था गर्ने गरि शिक्षा प्रणालीलाई अगाडि बढाउन पर्छ ।
यातायात, कलकारखाना, फ्याक्ट्रीहरु सबै सञ्चालन गरि खस्किदै गएको आर्थिक अवस्थालाई उकास्न तर्फ राज्यले ध्यान दिन जरुरी छ । सधैं विश्वबैंकबाट ऋण लिएर मात्र देशलाई माग्ने बनाउने परनिर्भर बनाउने, बन्ने क्रमको अन्त्य गर्नुपर्छ । प्रत्येक नेपालीको टाउकोमा ४२/४३ हजारको दरले ऋण थप्दै लैजाने भन्दा पनि नेपाल र नेपाली जनतालाई ऋणबाट मुक्त गराइ सुखि नेपाली र समृद्ध नेपाल बनाउने कार्यमा सरकार अग्रसर भइ खुल्ला सिमानाहरुमा कडाइ गर्दै विदेशबाट आएकाहरुलाइ मापदण्ड बनाइ क्वारेन्टिनमा राख्ने, सरकारी कार्यालयहरु खोल्ने र जनताको कामकाजलाइ निरन्तर अगाडि बढाउने काम गर्न जरुरी छ ।
जनता रोगले भन्दा पनि भोक र शोकले मर्ने खतरा बढेको छ काठमाडौं लगायत देशका धेरै ठाउँमा जनताहरु भोक भोकै रात कटाउन बाध्य भएका छन् । लकडाउनले गर्दा कोठाभाडा तिर्न नसकेर कति घरबेटीहरुले त कोठाभाडामा बस्ने परिवारहरुलाइ कोठाबाट निकालिदिएका छन्, मान्छेमा मानवता भन्ने चिज हराउँदैगएको छ । कोरोना भाइरसको नाममा लकडाउन गर्दा गर्दा अन्य धेरै रोगका बिरामीहरुको स्वास्थ्यमा ठुलो असर देखापरेको छ । कति गर्भवती महिलाहरुको त अकालमै ज्यान गइसकेको छ । अन्य समयमा जस्तै लकडाउनको बेलामा झन महिला तथा बालबालिका हिंसाको सिकार बनेका छन। बलत्कार र हत्या दिनदिनै बढिरहेको छ । निर्मलाहरुको आत्माले कहिले न्याय र शान्ति पाउने ?
२१औँ शताब्दीमा पनि जातजातिका बीचमा लडाइँ भइराखेको छ राज्यले कथित जाति बनाउदै नवराज विकहरुले अकालमै ज्यान गुमाउनु परेको छ । यस्ता निच कार्यको कहिले अन्त्य गर्नुहुन्छ प्रधानमन्त्री ज्यू ! अब त अति भो कहिलेसम्म नवराजहरु दलित बनिदै मर्नु पर्ने, मान्छे सरहको जीवन बाँच्न नपाउने, हामी युवाहरु कहिलेसम्म विदेशीको दास बन्नु पर्ने ? अनि विदेशीको गुलामी गर्दै हातमुख जोर्न समेत विदेशकै भूमि टेक्नुपर्ने ? वर्षेनि युवा स्वरोजगारको नाममा अर्बौं बजेट निकासा भएको खबर सुनिन्छ तर केही कार्यकर्ता र नजिकका मान्छेबाहेक अरुले देख्नसम्म पाउँदैनन् । हामी युवाहरुले देशभित्रै केही काम गरौं भने काम गर्ने वातावरण नै छैन, प्रधानमन्त्री ज्यू हामीलाई विदेशीनु पर्ने अवस्थाबाट मुक्ति दिने कार्यक्रमहरु ल्याउनु निम्न स्तरका जनताको पहुँचमा पुर्याउनुस् । जनताले सरकार छ भन्ने महसुस दिलाउनुस् तपाइँसँग विनम्र अनुरोध गर्छु । राष्ट्रघाति सन्धिसम्झौताहरु नगर्नुस् । १९५० यताका सबै असमान सन्धिसम्झौताहरु खारेज गर्नुस् ! भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भूमि तुरुन्त फिर्ता गराइ अमेरिकी राष्ट्रघाती परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) खारेज गर्नुस् ! देशका हितमा काम नगर्ने, जासुसी गरिरहेका एनजिओ, आइएनजिओहरु नेपालबाट हटाउँदै अन्य यस्ता एनजिओ, आइएनजिओहरुलाइ नेपालमा स्वीकृत नदिनुहोस् ! समयमा काम पूरा गर्नु पर्ने तर काम पूरा नगरेका विदेशी ठेक्दार कम्पनीहरुको ठेक्का रद्ध गरि नेपाली राम्रा ठेक्दार कम्पनीहरुलाइ ठेक्का दिई नेपाली कामदारहरुलाइ नै काममा लगाइ नेपाली पैसा विदेशिनबाट जोगाउनुस् !
नेपालको नक्सालाइ केक बनाएर नक्सा काट्दै जन्मउत्सव मनाउने काम जब तपाइँले सुरु गर्नु भयो तब नेपालमाथि ठुलाठुला अपमानहरु सुरु भए । त्यो बिषयमा तपाइँले नेपाल र नेपाली जनतासँग माफी माग्दै देशको भूमि भारतको हो भनेर संसदभवनमा खुल्मखुला भाषण गर्ने सरिता गिरीहरु, नेपाल आमामाथि कुदृष्टि लगाउने, अपशब्द प्रयोग गर्ने सिके राउतहरु, नेपालको झण्डा जलाउनेहरु, जातिजाति लडाएर द्वन्द मचाउनेहरु, धर्मका नाममा लडाइ गर्न खोज्नेहरु सबैलाई कार्वाही गर्नुस् ! अनि देशको हितमा काम गर्नेहरुलाई समेट्दै नेपालको विकासलाइ अगाडि बढाउनुस् सम्मानिय प्रधानमन्त्री ज्यु !
चुनाव हारेका जनताको नजरमा गिरेकाहरु पनि पार्टीको पावरमा सांसद बन्न मिल्ने तर देशका लागि राम्रा काम गर्नेहरुले अवसर नपाउने यहि हो त ? तपाइँको सरकारले जनताको पक्षमा काम गर्छ, देशको हितमा काम गर्छ भन्ने विषय कहाँ मिल्ला र यसरी त !
सम्मानित तरिकाले जनताले बाच्न पाउनुपर्यो, राज्यले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात सञ्चार, मनोरञ्जनको पुर्ण ग्यारेन्टी गर्नुपर्यो भन्ने कुरा गर्नु र जनतालाइ यी आधारभुत वस्तुहरुको राज्यले निःशुल्क उपलब्ध गराउनपर्यो भने कुरा गर्नु के गलत कुरा त होइन होला !
यदि राष्ट्रिय स्वाधीनता, जनजिविकाको विषयमा आवाज उठाउन मिल्ने कुरा त तपाइँको संबिधानमा उल्लेख गरिएको बिषय हो।नेपालको संबिधान,कानुन, अदालत भन्दा माथि कोहि हुने छैन भनी उल्लेख भएको विषय खै कहाँ कार्यान्वयन भएको ? तपाइहरुले बनाएको संविधानले मान्छेले स्वतन्त्रता पुर्वक समानताका साथ बाच्न पाउने,आफ्नो बिचार राख्न पाउने, भन्ने लगायतका धेरै बिषय उल्लेख गरिएको छ ।तर खै त कहाँ कार्यान्वयन भएको ?आफुले जन्माएको बच्चाको आफैले हत्या गर्ने भने जस्तै, आफुले लेखेको संविधानको आफैं अपमान गर्ने ?
तपाइँको सरकारलाई काम गर्न कस्ले रोकेको छ र ? कम्युनिस्ट सरकार भनेर कम्युनिस्टको बेज्जत गर्ने, जनतालाइ कम्युनिस्ट भन्ने शब्द शुन्दा पनि लाज लाग्ने स्थिति पैदा भएको छ । जनता कम्युनिस्टबाट आजित भएका छन् ! कम्युनिस्ट भनेको के हो ? आज हरेकले थाहा पाएर पनि प्रश्न गर्न थालेका छन् । तपाइँको दुइतिहाइको कम्युनिस्ट सरकारबाट जनताले कम्युनिस्ट भनेको के रहेछ त्यस्को अनुभुती गर्न पाओस् ! तपाइँसग मेरो अपेक्षा यहि कि तपाइँको सरकारले जनतालाई गास, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, मनोरञ्जनलगायतका आधारभुत आवश्यकताका सामाग्रीको निःशुल्क व्यवस्थापन गर्नुस् यदि गर्न सक्नुहुन्न भने यी आधारभुत समस्याको हल गर्न संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको परिकल्पना गरिरहेकाहरुलाई काम गर्ने अवसर प्रदान गरिदिनुस् । बाँदरले आफ्नो घर पनि भत्काउँछ र अरुको घर पनि बनाउन दिँदैन भने जस्तै नगर्नुस् ! तपाइँ दुइतिहाइको सरकारको नेतृत्व गरेको हिसाबले पनि तपाइँले गर्न नसकेको काम अरु कसैले गर्छ भने बाटो खाली गरिदिनुस्, ती आवाजहरुलाइ दबाउन खोजेर दब्दैन झन मौलाउछ, मान्छे मार्दैमा जेलनेल हाल्दैमा, प्रतिबन्ध लगाउँदैमा समस्याको हल हुँदैन बरु उनिहरुको कुरा सुन्दै वार्तामार्फत समस्याको हल गर्नुको साटो कानमा तेल हालेर बस्दा झन समस्या बल्झिन्छ । त्यसैले बेलैमा यी बिषयहरुमा सोच्नुस् । प्रतिबन्ध लगाएका हरेक फरक आस्था राखेका पार्टीहरुलाइ वार्तामार्फत तुरुन्त उनिहरुले उठाएका बिषयमा छलफल गरी निकट भविष्यमा नेपालमा देखापर्ने समस्या बेलैमा हल गर्नुस् । हाम्रो पुर्खाले लडेर जोगाएको भूमिलाइ हामी सबै नेपाली मिलेर बचाउनुपर्ने समयमा नेपाली नेपाली लडेर भिडेर भन्दापनि आत्मसात् गरेर अगाडि बढ्नु हुनेछ भन्ने अपेक्षा लिएको छु । ०२८ सालको झापा बिद्रोह र १४ बर्षको जेलजिवनको अनुभवलाई राम्रैरी देशको हकहितमा प्रयोग गर्नुस् धेरै राम्रो हुन्छ । भुकम्पको बेला, नाकाबन्दीको समयदेखि फेरि विश्वभरी फैलिएको महामारी कोरोनाभाइरसको यस्तो अवधिमा पनि तपाइँका मन्त्री, नेता, कार्यकर्ता तपाइँले विश्वास गरेका सबै मान्छेहरु कमाउ धन्दामा लागेका छन् । लुटने, कुट्ने जनता बिनासितिमा भुट्ने कार्य अब तुरुन्तै बन्द गर्नु पर्छ । जनता आजित भइसके, भष्ट्चार, बलत्कार गुन्डागर्दी ,दलाली, तस्करी, घुसखोरीलगायतका कार्य दिन २ गुना रात चौ गुनाको दरले वृद्धि भएको छ । यो व्यवस्थाबाट जनता धेरै निराश भइसके त्यसैले संसदीय व्यवस्थाको विकल्प खोज्न जरुरी आजको बिषय बनेको छ।
अन्त्यमा,
जनतालाई समानतापूर्वक बाच्न पाउने, रोग र भोक, शोकको कारणले जनताले अकालमै ज्यान गुमाउन नपरोस् केही आपत् विपत् पर्दा सरकार साथमा भएको अनुभूती जनताले गर्न पाइयोस् । दुधेबालकलाई साथमा आमा भएको महसुस भएजस्तै हामीलाई साथमा सरकार भएको महसुस होस् । नेपाली नेपालीबीचको असमानतालाई छिट्टै हल गर्दै अन्याय अत्याचारमा परेका जनतालाई न्याय दिलाइ कोरोना लगायतका सम्पूर्ण रोगका बिरामीलाई छिटो भन्दा छिटो निःशुल्क उपचारको व्यवस्था गरियोस् । राजनीति बिषयका समस्याहरुलाई द्वन्द को रुप नबनाइ राजनीतिक तरिकाबाट हल गर्ने विषयहरु खोजियोस् । बाँकी तपाइँको कार्यकाल सफलतापूर्वक सञ्चालन गर्नुहोस् । नेपाली जनता देश र जनताको पक्षमा राम्रो कामको लागी साथमा साथ दिन तयार छन् । देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेमा जनता विद्रोहमा होमिन बाध्य हुने छन् त्यसैले बेलामा सोच्नुहोस् भन्दै मेरो भनाइ यहि अन्त्य गर्दछु ।
उही तपाइँको जनता
प्रपोजल शर्मा
चितवन