– लक्ष्मी पौडेल
‘जीवन एक्लै त रहेछ नि, सबै एक्लै हो, एक्लै आयो, एक्लै जाने हो ।’ झौखेल भक्तपुरमा रहेको मानव कल्याण समाज (सेवाघर)मा भेटिएकी बिमलालाई परिवारसँग साथैमा हुन नपाएकोमा पछुतो छैन । बसेको ठाउँमा रमाइलो छ । बिहान बेलुका समयमा खान पाइएको छ । स्याहार गर्नेहरू घरपरिवारका भन्दा पनि प्यारा छन् । ‘घर परिवारलाई तपाईंले खोजी गर्नुभएको छैन ? भन्दा भन्नुभयो, ‘परिवारले नखोजेको मैले कहाँ खोज्न सक्नु ?’
आधाजसो कपाल फुलेको छ । रातो टोपी, बैजनी कुर्ता, गुलाबी रंगको सुरुवाल, ढाडमा मजेत्रो बाँधेकी बिमलाले कोही मान्छे गेटबाट छिर्नासाथ नमस्कार गर्नुहुन्छ । टिनले बेरिएको कम्पाउण्डभित्रको आँगनमा बिमलाजस्तै थुप्रै आमाबुबा हुनुहुन्छ । सबैले एकस्वरमा नमस्कार गरेको मधुर सुनिन्छ ।
२०७६ साल जेठ १२ गते सडकमा विक्षिप्त अवस्था भेटिएकी बिमलालाई महानगरीय प्रहरी वृत्त भक्तपुरले मानव कल्याण समाज (सेवाघर) भक्तपुरलाई जिम्मा लगायो । पूर्णरूपमा मानसिक सन्तुलन गुमाएकी बिमलालाई सेवाघरमा ल्याइएपछि स्याहारसुसार, औषधोपचार सुरु भयो । ४ वर्षको अन्तरमा पुराना कुरा याद नभए पनि बिमलालाई यहाँको बसाई, खानपान र स्याहारसुसार मन परेको छ । ‘छोरीहरूले आँखा हेर्छन्, जिब्रो हेर्छन्, (ढाड देखाउँदै) यी यहाँ छाम्छन्, हात खुट्टा हेर्छन्, कस्तो छ भनेर सोध्छन् । खुसी लाग्छ ।’ उहाँ प्रफुल्ल देखिनुभयो । ‘बिमलाले छोरी भनेको सेवाघरमा नर्सिङ सेवा दिने जुनिता श्रेष्ठ र विष्णु सुवेदीलाई हो’ सेवाघरका अभियन्ता रोसन ढकालले भन्नुभयो । बिमलाले अहिले मानसिक बिरामीको औषधि नियमित सेवन गर्नुहुन्छ । दिनको एकपटक समयमै औषधि नदिने हो भने अर्को दिन उहाँलाई अप्ठ्यारो हुन्छ । बिमलाको घर पश्चिम नेपाल हो भन्ने उहाँको बोलीचालीले ठम्याउन सकिन्छ । ‘तमी आयो, खुसी भया म । खुसी लाग्छ नि ।’ बाहिरका मान्छे आएर कुरा गर्दा रिस उठ्छ कि खुसी लाग्छ ? भनेर सोध्दा उहाँले भन्नुभयो ।
५८ वर्षीय चन्दे तामाङको घर नुवाकोटको ककनी गाउँपालिका रानीपौवा हो । प्यारालाइसिसका कारण शरीरका अधिकांश अङ्ग नचल्ने र बोल्न पनि नसक्ने तामाङलाई महानगरीय प्रहरी वृत्त भक्तपुरले २०७७ सालको वैशाख १६ गते मानव कल्याण समाज (सेवाघर)को जिम्मा लगायो । घरपरिवार भएपनि अपाङ्गता भएकै कारण सडकमा आएका उहाँलाई सेवाघरमा स्वाथ्योपचार सँगैको स्याहारसुसारले परिवर्तन ल्याइदियो । सेवाघरमा आउँदा पूर्णरूपमा बोल्न नसक्ने तामाङले हामीसँग गफ गर्दै भन्नुभयो, ‘म यस्तो बोल्न सक्थेन, यहाँ ल्यायो, अहिले त हात खुट्टा राम्रो चल्छ, बोल्न सक्छु । घरमा मान्छे त छन् तर यस्तै हो केही गर्न नसक्ने भएपछि बस्नुभन्दा निस्केर हिँड्न ठिक ।’ चन्दे तामाङको घरपरिवारबारे सेवाघरले प्रहरीको सहयोग लिएर खोजी गरेको छ । ‘घर त हामीले स्थानीयलाई सोधेर जानकारी लिइसकेका छौँ तर उहाँ घरमै पुनस्थापित हुन सक्ने अवस्था हो, होइन भन्नेबारे अझै बुझ्न जरुरी नै भएकाले उहाँ आश्रममै हुनुहुन्छ ।’ अभियन्ता ढकालले प्रष्ट पार्नुभयो । तामाङ पनि नियमित उपचारका क्रममा हुनुहुन्छ । दिनहुँ औषधि खुवाउने काममा उहाँलाई सेवाघरका स्वयमसेवकले सहयोग गर्छन् ।
एक्लो स्टार्फ नर्सको जिम्मामा ११५ बढी बृद्धबृद्धा
संसारमा पहिलो नर्सिङ सेवाको सुरुवाती प्रेरणाको रूपमा फ्लोरेन्स नाइटिङ्गेललाई लिइन्छ । जसलाई बिरामीले लेडि विथ द ल्याम्प अर्थात् बत्ती लिएकी केटी भनेर उपमा दिन्छन् । उनी सन् १८४५ देखि १९१० सम्मको समयकी स्वास्थ्यकर्मी थिइन् । जो विश्वका लागि प्रेरणा बनिन् । उनको समयभन्दा १ सय १३ वर्ष पछाडि ज्येष्ठ नागरिकको सेवामा रहने नर्सहरुको अहोरात्र खटाइ उस्तै प्रेरणादायी देख्न सकिन्छ, भक्तपुरमा मुख्य कार्यालय रहेको मानव कल्याण समाज (सेवाघर)मा ।
यो सेवा घरमा ४५ जना ज्येष्ठ नागरिक हुनुहुन्छ । अधिकांशको मानसिक अवस्था कमजोर छ । विक्षिप्त अवस्थामा सडकबाट उद्धार गरि ल्याइएकाहरूको नियमित औषधिउपचार र स्याहारसुसार गर्नुपर्छ । प्रदेश सरकारले २० जनाभन्दा बढी ज्येष्ठ नागरिक आश्रित रहेका आश्रमलाई १ जना नर्सिङ सुविधा दिने नीतिअनुरुप माग गरेको आवेदनमा सेवाघरले तीन जना स्टाफ नर्सको आवश्यकता औँल्याउँदै आवेदन दियो । बाग्मती प्रदेश सरकारले तीनजना त होइन, एक जना स्वास्थ्यकर्मीका लागि सुविधा उपलब्ध गराउने गरी आवेदन स्वीकृत ग¥यो । यो सेवा घरमा ज्येष्ठ नागरिकको स्याहारको लागि विसुद्ध जागिरे स्टार्फ नर्सभन्दा पनि सेवाभाव बढी भएको र २४ सै घण्टा समय दिनसक्ने व्यक्ति आवश्यक थियो । त्यसैले सेवाघरले आवेदन खोल्यो र एकजना स्वास्थ्यकर्मी नियुक्त गर्यो । त्यसपछि गत पुस महिनामा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरेर एकजना नर्सिङ कर्मचारी नियुक्त गरिएको छ । तर स्वास्थ्यकर्मीमा नियुक्त जुनिता श्रेष्ठ भक्तपुरको आश्रममा भेटिनुभएन । ‘हाम्रो केन्द्रीय कार्यालयमा भन्दा धुलिखेलको सेवाघरमा बढी बुवाआमा हुनुहुन्छ र उहाँहरूलाई जुनसुकै बेला पनि चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक छ । त्यसैले हामीले जुनिता जीलाई हप्ताको ५ दिन धुलिखेल र २ दिन भक्तपुर हेर्ने गरी मिलाएका छौँ ।’ सेवाघरकी अध्यक्ष सुमित्रा चौलागाईले भन्नुभयो । उहाँका अनुसार प्रदेश सरकारसँग बाग्मती प्रदेशमा जहाँ व्यवस्थापन गरे पनि हुने तरिकाले समझदारी भएको छ । महिनाको १७ हजार तलब प्रदेश सरकारले स्वास्थ्यकर्मीका लागि उपलब्ध गराउँछ । सडकका बेबारिसे स्याहार्ने यस्तो सेवाघरमा जागिरे मानसिकताले स्याहार हुन सम्भव छैन । विसुद्ध सेवाभाव र उच्च मानवसेवाको सोचले मात्र यो सम्भव छ । त्यसैले जुनिता जुनसुकै बेला बुवाआमाको सेवा गर्न भनेर तयार हुनुहुन्छ ।
भक्तपुरका ४५ र धुलिखेलका ७० गरी १ सय १५ जना ज्येष्ठ नागरिकको हेरविचार गर्नुपर्ने जिम्मा स्वास्थ्यकर्मी जुनितालाई छ । ‘धेरै समय धुलिखेलमा नै हुन्छु । भक्तपुरमा आवश्यक पर्दा भिडियो कलबाट परामर्श दिएर पनि यहाँ आइपरेको समस्या समाधान गर्ने गरेको छु ।’ श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्यकर्मीका लागि यो सेवा सुविधा कत्तिको प्रयाप्त हो भन्न सकिँदैन । तर हामीलाई १०–५ बजेको जागिरे स्वास्थ्यकर्मीभन्दा पनि जुनसुकै बेला सेवा दिन सक्ने सेवा भाव भएको व्यक्ति चाहिएको हो । त्यसअनुरुप उहाँलाई हामीले धुलिखेल धेरै समय र भक्तपुरमा थोरै समय दिने गरी मिलाएका हौँ ।’ अध्यक्ष चौलागाईले भन्नुभयो ।
जुनिता यसअघिको जागिर छोडेर सेवाघरमा २४ सैँ घण्टा उपलब्ध हुनेगरी सेवामा आउनुभएको हो । प्रदेश सरकारले उपलब्ध गराएको सुविधामा आफू नियुक्त भएको भएपनि आफूले नियुक्तीपत्र नलिएको उहाँको भनाइ छ । ‘पुसदेखि यहीँ नै बसेर सेवा दिएकी छु । प्रदेश सरकारलाई कुनै विवरण कागजात बुझाउनुपर्ने हो भने त त्यस्तो कुनै नियुक्तीपत्र लिएर वा दैनिक हाजिरी गर्ने गरेको छैन ।’ उहाँले भन्नुभयो ।
श्रेष्ठले सेवाघरको सुविधालाई अझ प्रभावकारी बनाउन समयअनुसार तालिम प्रशिक्षण पनि आवश्यक रहेको औँल्याउनुभयो । ‘हामीसँग जटिल किसिमका बिरामी बुबाआमा हुनुहुन्छ । कतिपय अवस्थामा हामीसँग भएको सिप पनि स्वास्थ्य उपकरण वा प्रविधिको अभावमा प्रयोग गर्न पाइँदैन । फेरि स्वास्थ्य क्षेत्रमा दिनहुँ नयाँ नयाँ उपलब्धि र प्रविधिको विकास भइरहेको छ । तर मलाई तालिम प्रशिक्षण आदिको अभाव छ । म अझै राम्रो गर्न सक्थेँ । स्थानीय सरकार वा प्रदेश, केन्द्र सरकारले यसरी चलिरहेका आश्रममा स्वास्थ्य सेवाको अवस्थाबारे अझ गम्भीररूपमा सोचिदिएर काम गरे हुन्थ्यो ।’
सेवाघरमा रहेका सबैजसो ज्येष्ठ नागरिक अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने अवस्थाका भएपनि त्यसो गर्न सम्भव छैन । सेवाघरले स्थानीय प्रशासन र अस्पतालसँग समन्वय गरेर सेवाघरमै केही हदसम्म भएपनि चिकित्सकीय सेवा दिने प्रयास गरेको छ । भक्तपुर अस्पतालका डाक्टर दुर्गा थापा र डाक्टर सुमित्रा गौतमको टोलीले समय समयमा सेवाघरमै आएर सेवा दिने गरेको सेवाघरका सचिव विजय पोखरेलले जानकारी दिनुभयो । यसका साथै सेवाघरमा स्वेच्छाले सेवा गर्न जाने स्थानीय पनि हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा कार्यरत विष्णु सुवेदी सेवाघरमा आवश्यकता परेको बेला हाजिर हुनुहुन्छ । त्यसबाहेक उहाँ बिदाको दिन र फुर्सदमा सेवाघरमा गइरहनुहुन्छ । बिमला र चन्देजस्तै सेवाघरका बुबाआमाले बिष्णुलाई छोरी भनेर बोलाउनुहुन्छ ।
२०७४ सालको कुरा हो । भक्तपुर क्षेत्रमा सुमित्रा चौलागाई, विजयकुमार पोखरेल, बालमुकुन्द सुवाल, कृष्णराम गणेश लगायतका केही युवाहरू मिलेर सडकमा बेबारिसे भएकालाई भोजन बाँड्ने अभियान चलाइरहेका थिए । सोही क्रममा आफूहरूले नियमित भोजन बाँडिरहेकी एकजना बेबारिसे महिलाको मृत्यु भयो । २०७२ सालदेखि चाउचाउ बिस्कुट र २०७४ सालमा भोजन अभियान नै चलाएर खाना बाँडिरहेका युवाहरूलाई ती महिलाको मृत्युले सेवाघर खोल्ने प्रेरणा मिल्यो । कुनै न कुनै कारणले सडकमा पुगेकाहरूलाई खानासँगै छाना, नाना र स्यारसुसार उपचार समेत चाहिने रहेछ भन्ने लाग्यो । ‘ती मध्ये कोही गम्भीर बिरामी नै पनि हुन सक्नुहुन्छ । उहाँलाई खाना मात्रै दिएर हुँदैन । कसैलाई स्याहार सुसार र उपचार समेत चाहिएको हुनसक्छ भन्ने ती आमाको मृत्यु भएपछि हामीलाई लाग्यो र हामी उपयुक्त दाता जुटाउने र सेवाघर खोल्ने निर्णयमा पुग्यौँ’ चौलागाईले भन्नुभयो । २०७४ सालको त्यो सोचले २०७५ सालको वैशाख २४ गते पूर्णाकार लियो र खुल्यो भक्तपुरको झौखेलमा मानव कल्याण समाज (सेवाघर) ।
यसरी सडकका मानिसको उद्धार स्याहार गर्दै आएको सेवाघरमा धेरै अभाव रहेको सहजै अनुमान लगाउन सकिन्छ । उसो त आफ्नो देशको नागरिकको जिम्मा राज्यको हो । प्रदेश सरकारले केही मापदण्ड तोकेर सोका आधारमा उपलब्ध गराएको नर्सिङ सेवाले सेवाघरमा आश्रीतहरूलाई लाभ त पुगेको छ, तर पर्याप्त छैन । राज्यले पूर्ण जिम्मा लिन नसक्ने अवस्थामा यसरी समुदायस्तरबाट मानवकल्याणकै लागि सञ्चालन भएका यस्ता सेवाघर वा आश्रमलाई व्यवस्थित गर्ने र समस्या समाधान गरी प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकार मात्रै होइन, संघीय र स्थानीय सरकारले पनि योजनाबद्ध रूपमा काम गर्न आवश्यक छ ।