काठमाडौं ।
नेपाल नर्सिङ काउन्सिलमा लाईसेन्स पास गराउनका लागि घुसको बार्गेनिङ भएको समाचार बाहिरएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रतिक्रिया आएको छ । काउन्सिलकी कर्मचारी जिता बरालले घुस मागेको काण्डमा रजिस्टार मन्त्रीपत्नी बृन्दा घिमिरेको नाम जोडिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले प्रष्टिकरण दिएका हुन् ।
श्रमिती विन्दा घिमिरेको नाम लिएर बरालले घुस मागेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले घुस प्रकरणबारेमा सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरेका छन् । भट्टराईले कुनै गल्ती नगरिएको भन्दै षडयन्त्र र खुराफातप्रति सचेत रहेको जानकारी दिए ।
बरालले नर्सिङ लाइसेन्स परीक्षा पास गराइदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेकी थिइन् । नेपाली कांग्रेसको कोटामा चुनाव लगेर काउन्सिल सदस्यमा विजयी भएकी बरालले च्याटमार्फत आफूले विन्दा घिमिरेलाई पनि पैसा दिनुपर्ने बताएकी थिइन् । बराल भ्रष्टाचार विरोधी अभियन्ता भनिने ज्ञानेन्द्र शाहीसँग सम्बन्धीत अभियानसँग जोडिएकी मान्छे हुन् ।
शाहीले केही महिनाअघि पर्यटनमन्त्री भट्टराईविरुद्ध नेपालगञ्ज विमानस्थलमा आक्रमणको प्रयास गरेका थिए । अहिले उनकै अभियन्ता बरालले श्रीमती विन्दालाईसमेत बुझाउने भन्दै घुस रकम माग गरेको सार्वजनिक भएको छ ।
घुस प्रकरणबारे नेपाल नर्सिङ काउन्सिलले प्रष्टिकरण दिएको छ । रजिस्टार वृन्दा घिमिरेले एक विज्ञप्ती जारी गर्दै घुस लेनदेनको च्याट प्रकरणबारे सम्बन्धीत सदस्यलाई सोधपुछ भएको जनाएकी छन् । काउन्सिलले जारी गरेको विज्ञप्तीमा घुस माग गरेकी बरालले आफ्नो फेक आइडी बनाएर त्यसो गरिएको बताएकी उल्लेख छ ।