-सुमित्रा सुमी
तिमी निसास्सिएर ,
शिकार खोसिएको बाघझैँ झम्टन्छौ
आफ्ना क्रुर पन्जाले मलाई चिथोर्छौ,
मेरो मुलायम छाती गिद्धले झैँ लुछ्छौ,
लाखेकाझैँ दुष्ट आँखाले हेर्छौ,
सजिलै मेरो भावनाको निर्मम हत्या गर्छौ,
आफ्नो मनको सारा भोक मेट्छौ,
अनि,
निर्विवेक मेरै निर्दोष भावनामा
लात बजार्दै फर्कन्छौ ,
बस् !
यत्ती सहनकै लागि
म स्वास्नी बन्न सक्दिनँ ।
ज्यूँदो भएर पनि मैले
ज्यूँदो हुनुको पराकाष्ठा त्याग्नुपर्छ,
आफैँलाई तिलान्जली दिएर बाँच्नुपर्छ,
निर्विरोध जवानी पिलाएर,
हरपल आँसुले तिर्खा मेटाइदिनुपर्छ,
यदि यस्तै-यस्तै नियत स्वीकार गर्दै,
तिम्रो आरामदायी बिछ्याउना मात्र
बनिदिनुपर्ने हो भने …
भयो,
म स्वास्नी बन्न सक्दिनँ ।
शब्दकोषमा स्वास्नीको अर्थ
सुवासिनी लेखिएजस्तै,
प्रेमले बोलिने प्रेमिका र,
शास्त्रमा मानिने अर्धाङ्गिनीजस्तै,
जिवनको आवश्यकता जीवनसाथीजस्तै,
जो साथै भएर सहारा मिल्दैन भने,
भो महाशय,
तिम्रो कामुकता मेटाउन मात्र …
म स्वास्नी बन्न सक्दिनँ ।
हरकोही नारीको जिन्दगी
तयारी चाउचाउ होइन,
भोक लागेको बेला काँचै खान,
र होइन पनि बाँदरको सिरानी …
निद पुर्याएर च्यात्ने फाल्ने ।
त्यसैले त,
मलाई स्वयं म हुनुको अर्थ खोज्नुछ ।
भयो अब
खोक्रो तिम्रो देखावटी रक्षाशास्त्र आफैंसँगै राख,
जर्जर समाजको क्रुर बकपत्र सुन्नुछैन मलाई,
निदाउनकै लागि स्लिपिङ ट्याब्लेट खानु पनि छैन,
केबल,
निर्दयी मान्छेका बन्द आँखा खोलेर,
अन्धो धृतराष्ट्रलाई,
नारीभित्रकी आमा, प्रीया, छोरी चिनाउनु छ,
प्रेम, आफ्नोपन र मानवीयता पढाउनुछ ।
त्यसैले …
माफ गर प्रीय
म कोही कसैको भोक र मृगतृष्णा मेटाउन मात्र
स्वास्नी बन्न सक्दिनँ,
जरुर, म स्वास्नी बन्न सक्दिनँ ।