- शोबिता रिसाल
केही दशकअघि सम्मको समय यस्तो पनि थियो, सग्लो अक्षर पढ्न सक्ने मानिस राम्रै पढेलेखेको कहलिन्थे । २००७ सालमा देशमा पढ्न लेख्न सक्ने अर्थात् साक्षर नागरिकको सङ्ख्या २ प्रतिशत हाराहारी थियो । त्यसको ७१ वर्षपछि भएको जनगणना–२०७८ को तथ्याङ्कले भन्छः देशका ७६.२ प्रतिशत मानिस लेख्न पढ्न जान्दछन् । अझै पनि २३ प्रतिशत हाराहरी मानिस सामान्य लेखपढसमेत गर्न सक्दैनन् । यसरी लेखपढ गर्न नसक्नेमा युवा पुस्ता होइन, पाको पुस्ता छ । तर मैले जोड्न खोजेको विषय पढ्न, लेख्न सक्ने साक्षरताको मात्रै होइन, मिडिया साक्षरताको हो । सरकारले साक्षर नेपाल अभियान चलाएर पनि सबैलाई साँवा नेपाली अक्षर चिनाउन समेत त यति दुःख गर्नुपरेको अवस्थामा ‘मिडिया लिटरेसी’ अर्थात् मिडिया साक्षरताको विषय आम मानिसलाई बुझाउन सजिलो होला ? पक्कै पनि छैन । तर गाह्रो छ भन्दैमा अब यसलाई नजरअन्दाज गरेर बस्न मिल्ने अवस्था छैन । बदलिँदो समय र प्रविधियुक्त यो समाजमा मिडियाको बाढी छ । जनगणना २०७८ कै तथ्याङ्क हेर्दा देशका ३७.८ प्रतिशत नागरिक इन्टरनेटको सिधा पहुँचमा जोडिएका छन् । जबकि ७३ प्रतिशत नागरिक स्मार्ट फोन बोक्छन् । जो इन्टरनेटको सिधा पहुँचमा पुगेका छैनन्, उनीहरू पनि एन्ड्रोइड मोबाइलको पहुँचमा भने छन् । यसबाट भन्न सकिन्छ कि, उनीहरू सबैले कुनै न कुनै तरिकाले इन्टरनेट चलाइरहेका छन् । अर्थात् इन्टरनेटको सिधा पहुँचमा नपुगेकाहरू पनि डाटाको माध्यमबाट इन्टरनेटको संसारमा प्रवेश गरेका छन् । इन्टरनेटको दुनियाँमा छिरेपछि सबै कुरा प्रशस्त भेटिएजस्तै मिडिया र सोसल मिडिया पनि प्रयोग गरिनसक्नु नै भेटिन्छन् । इन्टरनेटमा यति धेरै मिडिया र सोसल मिडिया छन् कि मानिसहरू तिरिमिरी हुने स्थिति छ ।
परम्परागत मिडिया अर्थात् रेडियो, पत्रपत्रिका वा टेलिभिजनतिर भन्दा न्यु मिडिया अर्थात् अनलाइन, युट्युब, फेसबुकपेजतिर मानिसहरूको ध्यान धेरै छ । तर, आम नागरिकलाई कुन परम्परागत मिडिया हो ? कुन आमसञ्चारका माध्यम विश्वसनीय हुन् ? कुन नयाँ मिडिया हुन् ? कुन माध्यमका सामग्री ‘भेरिफाइड’ हुन्छ ? केही थाहा छैन । मिडिया अर्थात् सञ्चार र आमसञ्चार माध्यमका बारेमा जानकारी÷साक्षरता नभएकै कारण मानिसहरू सूचनाको कुहिरोमा काग जसरी हराइरहेका छन् । कयौँले फेसबुकलाई नै मिडिया मान्छन्, कतिले फेसबुकमा आएका जति सबै कुरालाई जानकारी ठान्छन् । फेसबुकमा कसैले मनलाग्दी केही लेख्यो भने पनि मानिसहरू त्यसलाई आधिकारिक सूचना नै भन्ठान्छन् । न लेख्ने मानिसलाई अपुरो कुरा लेख्न, सेयर गर्न हुँदैन भन्ने थाहा छ न पढ्ने मानिसलाई फेसबुकतिर आएका सबै कुरा विश्वासलायक हुँदैन भन्ने नै जानकारी छ । नेपालमा सबैभन्दा धरै चलाइने एप्लिकेशन फेसबुक, टिकटक र युट्युब जताततै यति धेरै सूचना र विचारहरू पोष्ट भइरहेका हुन्छन् कि त्यसमध्ये कति प्रतिशत विश्वास गर्न लायक जानकारीहरू हुन्छन् भन्ने बारेमा आधिकारिक अध्ययन त भएको छैन तर यतिचाहिँ भन्न सकिन्छ कि, आधाभन्दा बढी सूचना ‘फेक’ नै हुन्छन् ।
पहिलो कुरा सामाजिक सञ्जाल र आमसञ्चार माध्यम एकै होइन । सामाजिक सञ्जालमा व्यक्तिले आफ्नो भावना लेख्न, पोख्न पाउँछ । त्यसलाई व्यक्तिगत जानकारीकै रूपमा मात्रै लिनुपर्छ भनेर आम मानिसलाई बुझाउन सकिएको छैन । दोस्रो आमसञ्चार माध्यममा नै आएका पनि सबै समाचार, विचार र धारणा सही नहुन पनि सक्छन् । आचारसंहितामा रहेर लेखिएका, बोलिएका नहुन पनि सक्छन् । अझ नयाँ मिडियाको रूपमा मौलाइरहेका युट्युब÷फेसबुकपेजतिर त कयौँ सूचना, विचार, कुराकानीहरू यस्तो पनि आइरहेको देखिन्छ, जसको सत्यसँगको सम्बन्ध दूरदूरसम्म हुँदैन । तर ‘मेनस्ट्रीम’ अर्थात् रेडियो, टेलिभिजन, पत्रपत्रिका वा स्थापित अनलाइनभन्दा अडियन्सहरू (पाठक÷स्रोता÷दर्शक) फेसबुक, फेसबुक पेज, ब्लग, युट्युब वा टिकटक हेरेर आफ्नो धारणा बनाइरहेका छन् ।
अहिलको युगमा अब प्रविधिलाई रोक्न सकिँदैन । उच्च प्रविधियुक्त मोबाइल बोक्नमा पनि रोक लगाउन सकिँदैन । फेसबुक चलाउन बन्देज लगाउन सकिँदैन । टिकटक अकाउन्ट खोल्न रोक लगाउन, युट्युब नचलाउन उर्दी जारी गर्न मिल्दैन । किनकि अहिलेको विश्वले भन्न थालेको छ Information is wealth. अर्थात् सूचना नै धन हो । हुन पनि अहिलेको युगको लागि सूचना सबथोक हो । इन्टरनेट मार्फत मिडिया र सामाजिक सञ्जालको प्रयोग गर्ने र सूचना लिनेदिने विषय गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी जत्तिकै महत्वपूर्ण बनेको छ ।
सही सूचनामार्फत मानिसले पढ्ने, लेख्ने, व्यापार व्यावसाय सम्हाल्ने मात्रै होइन, सूचना/सञ्चारमार्फत नयाँ कुरा सिकेर यही प्लेटफर्ममार्फत नै ज्ञान बेचेरै धनी पनि बनेका छन् । सूचनाकै आधारमा मानिसहरू विश्व घुमेका छन् । विश्वको हाराहारीमा देशलाई हिँडाएका छन् । छिनमै विश्वको पश्चिम भूगोलमा घटेको घटना पूर्वी भूगोलका मानिसलाई जानकारी भएको छ । इन्टरनेट र मिडियाहरू सूचनाको सारथी बनेका छन् ।
यसरी निमेशभरमा नै नयाँनयाँ सूचना पाउनु त राम्रो कुरा हो, अहिलेको युगको आवश्यकता पनि । तर के, सबै नयाँ कुरा सबै मानिसका लागि उत्तिकै कामलाग्दा छन् ? छैनन् । तर कुन सूचना काम लाग्दो छ, कुन सूचना आफूलाई कामै लाग्दैन भन्ने बारेमा अडियन्सलाई थाहा छैन । न त मिडियाले आफ्ना अडियन्सको लक्षित समूह निर्धारण गर्ने र सूचना छनोट गरेर प्रस्तुत गर्ने गर्न सकेको छ । अडियन्सलाई यस बारेमा कसरी साक्षर बनाउने त ? मिडिया र सामाजिक सञ्जाल सञ्चालनमा नीतिले नै कस्न त अब सकिँदैन बरु यसका चौतर्फी आयामहरूका बारेमा प्रशस्त जानकारी दिन सकिन्छ ।
सञ्चार के हो ? आमसञ्चार माध्यम भनेका के हुन् ? यी माध्यमको मुख्य काम के हो ? आमसञ्चार माध्यममा आएका सूचना तथा जानकारीलाई कसरी हेर्ने ? आफूलाई चाहिने मात्रै सूचना कहाँ पाइन्छ ? पत्रकारिता के हो ? समाचार के हो ? समाचार के होइन ? कसैलाई व्यक्तिगत हानी वा लाभ पुग्ने गरी दिएका जानकारी पत्रकारिताभित्र पर्छ पर्र्दैन ? अहिले अडियन्सले जेलाई पत्रकारिता मान्छन्, त्यो पत्रकारिता हो कि होइन ? आम मानिसलाई सरल भाषामा बुझाउन जरुरी छ । त्यसैले अब आवश्यकता छ मिडिया साक्षरताको ।
तर धेरैलाई मिडिया साक्षरता भनेको के हो नै थाहा छैन । मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने, ग्रहण गर्ने र तिनको मूल्याङ्कन÷विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । (खनाल, २०७६)
विश्वमा २० औं शताब्दीको मध्येतिरबाट मिडिया साक्षरताको बारेमा चर्चा हुन थालेको भएपनि नेपालको लागि भने अझै पनि यो विषय नयाँ नै छ । किनकि, आम अडियन्सलाई त यसबारेमा जानकारी छैन नै मिडिया क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरूका लागि समेत मिडिया साक्षरताको विषय परिचित र अनिवार्य आवश्यकताको विषय बन्न सकेको छैन । मिडिया साक्षरता अडियन्सको शैक्षिकस्तर र उनीहरूको बुझाइमा भरपर्छ । मिडियाप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ । तर मिडियाले प्रस्तुत गर्ने सामग्रीको विश्लेषण गर्नसक्ने क्षमता भने कमै अडियन्समा देखिन्छ । विज्ञहरू पी अफडेरहाइड र सी फाइरस्टोनका अनुसार मिडिया साक्षरता भन्नाले The ability to access, analyze, evaluate and communicative messages in wide variety of forms भन्ने बुझिन्छ । (आचार्य, २०१२)
अर्थात् मिडिया साक्षरतालाई अडियन्सले मिडियासँग राख्ने पहुँच, विश्लेषण र मूल्याङ्कनसँग जोडेर हेर्नुपर्छ । जब मानिस मिडियाको पहुँचमा पुग्छ, मिडियाको पहुँचमा पुगेर मात्रै भएन त्यसलाई विश्लेषणात्मक ढङ्गले हेर्नसक्ने पनि हुनुपर्छ, विश्लेषण गरेर मात्रै हुँदैन मूल्याङ्कन समेत गर्न सक्नुपर्छ ।
मिडिया साक्षरताको पहिलो सर्त भनेको पहुँच नै हो । कुनै पनि व्यक्ति मिडियाको पहुँचमा छ कि छैन भनेर सुरुमा नै हेर्नुपर्छ । अडियन्सले सूचना पाउँछ कि पाउँदैन भन्ने कुरा पहिलो विषय हो । अनि दोस्रो कुरा भनेको उसले पाएको सूचना वा जानकारीलाई कसरी ग्रहण गर्छ ? भन्ने हो । अडियन्सले प्राप्त सूचनालाई जस्ताको त्यस्तै हेर्छन्÷बुझ्छन् वा छानेर ग्रहण गर्छन् ? आफूलाई चाहिने जति मात्रै अड्कलेर लिन्छन्, अनि परिस्थितिअनुसार विश्लेषण गर्न सक्ने क्षमता राख्छन् वा जसरी मिडियाले प्रस्तुत गरेको छ सोलोडोलो उसैगरी बुझ्छन् ?
तेस्रो कुरा मिडियाका सामग्री हेरिसकेपछि, पढिसकेपछि, सुनिसकेपछि अडियन्सले त्यसलाई मूल्याङ्कन गर्न सक्ने दक्षता राख्छन् कि राख्दैनन् भनेर हेर्नुपर्ने हुन्छ । आएका सूचना वा जानकारी ठिक हो कि होइन ? विषयमा मिडियाले दिएका एङ्गल (कोण/दृष्टिकोण) सत्य मात्रै छन् ? कि त्यसमा केही पूर्वाग्रह छ कि ? कुनै स्वार्थ बाझिएको पो छ कि ? भनेर विभिन्न आयामबाट मूल्याङ्कन गर्नसक्ने अडियन्स हुनु मिडिया साक्षरताको अर्को आधार हो । अनि अडियन्सले बुझेका सूचनाबारे उनीहरूले अर्को पक्षसँग कसरी प्रस्तुत गर्छन ? वा आफूले बुझेका कुरा साथीभाइ, छरछिमेकमा कसरी सञ्चार गर्छन् ? यो पनि मिडिया साक्षरताको आधार हो ।
विज्ञ स्टयान्ली जे ब्यारेनले मिडिया साक्षरतालाई विभिन्न दक्षतासँग जोडेका छन् । उनका अनुसार अडियन्सलाई यस्तो अवस्थामा मात्रै मिडिया साक्षर भएको मान्न सकिन्छः मिडियामा आएका सामग्रीलाई पूरै ध्यान दिने र बुझ्ने प्रयास गर्ने, मिडियाबाट आउने सन्देशहरूलाइ एउटा शक्तिको रूपमा बुझ्ने, मिडियामा प्रस्तुत सामग्रीलाई बुझेर तर्कसङ्गत तरिकाले प्रस्तुत गर्ने, मिडिया सामग्रीहरू प्रति उच्च अपेक्षा राख्ने ।
कुन विचार हो, कुन समाचार हो, कुन विज्ञापन हो, कुन विश्लेषण हो, थाहा पाउनु पनि मिडिया साक्षरताको एउटा सर्त हो । कुनै पनि मिडिया सन्देश शत प्रतिशत सही नहुन पनि सक्छ चाहे त्यो जतिसुकै विश्वसनीय सञ्चार माध्यमले दिएको किन नहोस् वा जतिसुकै भरपर्दो स्रोतबाटै आएको किन नहोस् । मिडियाबाट आएका सामग्रीलाई आलोचनात्मक तरिकाले हेर्न सक्नुपर्छ । मिडियामा प्रकाशन, प्रसारण भएका हरेक कन्टेन (विषयवस्तु)लाई आलोचनात्मक तवरले हेर्नुपर्छ र विश्लेषण गर्नुपर्छ भन्ने सोचाइ र दक्षता राख्नु मिडिया साक्षरताको विशेषता हो । तर, यसको मतलब मिडियालाई विश्वास नै नगर्ने भन्न खोजिएको भने होइन । हरेक मिडियाका हरेक सामग्रीमा शङ्का गर्नु भन्न खोजिएको होइन, तर समालोचात्मक ढङ्गले हेर्नुस् भन्न खोजिएको हो । मिडियाका सामग्रीलाई समालोचनात्मक चेतका आधारमा बुझ्न सक्ने क्षमता बनाउनु नै मिडियाको बारेमा साक्षर हुनु हो । अहिले नेपालको परिस्थितिमा मिडियामा वा सूचनामा पहुँच पुगेको छ, तर अडियन्समा विश्लेषण तथा मूल्याङ्कन गर्न सक्ने क्षमता विकास भएको देखिँदैन । यसको कारण मिडिया र मिडियाले दिने सामग्रीको बारेमा पर्याप्त जानकारी नहुनु हो ।
मिडिया साक्षरता किन ?
आम नागरिकमा सबैखाले मिडियाका सन्देश बुझ्न सक्ने, विश्लेषण गर्न सक्ने, समालोचना गर्ने, प्रश्न गर्ने चेत हुनुपर्छ । अनि आफैँले पनि मिडिया सन्देशहरू उत्पादन गर्न चाहेको खण्डमा त्यस्तो सीप र दक्षता हासिल गर्ने विधिको विकास गर्नु नै मिडिया साक्षरताको प्रमुख उद्देश्य हो ।
यस्तो सीप सबैमा हुनु आवश्यक छ । मिडिया सञ्चालन गर्ने, सोसल मिडिया मात्रै चलाउने वा ‘मेनस्ट्रिम’ मिडिया प्रयोग गर्ने सबैमा । नागरिकमा मिडिया साक्षरता नभएकै कारण समाजमा धेरै भ्रम भइरहेको छ । भएका भन्दा नभएका विषय हो कि जसैगरी फैलिने गरेका छन् । हुँदै नभएका, असत्य खबरले अडियन्सलाई पीडा दिएका छन् । अनावश्यक होहल्ला र नचाहिँदा पोष्टहरू धेरै सेयर हुने, त्यसमा लाइक, कमेन्ट र ‘अडियन्सको इन्भल्ब्मेन्ट’ धेरै हुने भएका छन् ।
सामाजिक सञ्जालमा विचारहरू व्यक्त गर्नुको साटो व्यक्तिगत तहमा आलोचनामा उत्रने क्रम बढेको छ । सञ्चार माध्यममा एकतर्फी विचारहरू बढिरहेका छन् । तिनै एकतर्फी विचार र समाचार हेरेर एकतर्फी धारणा बनाउँदा दोस्रो पक्षको पाटो छोपिएको छ । त्यसैले मिडिया र पछिल्लो समय त डिजिटल साक्षरता नै बढाउनुपर्ने देखिएको छ । ताकि इन्टरनेटको प्रयोगमार्फत असत्य र अफवाह नफैलियोस्, मानिसहरूले मिडियाका सामग्रीलाई बुझ्न सकून्, मिडियामा आएका सामग्रीले मानिसको जीवनमा नकारात्मक असर नपारोस् । जसका लागि मिडिया साक्षरता व्यापक बनाउनु आवश्यक छ ।
कसरी बढाउन सकिन्छ मिडिया साक्षरता ?
नेपालमा सामान्य लेखपढसम्बन्धी साक्षरता नै पूर्ण हुन नसकेको समयमा मिडिया साक्षरता सम्भव छ त ? भनिन्छ संसारमा असम्भव भन्ने कुनै पनि चिज छैन । मिडियाको बारेमा सम्पूर्ण जानकारी जनजनमा पु¥याउने काम असम्भव त कसरी हुन्छ र ? पक्कै सम्भव छ । तर त्यसको पहल सरकारी तहबाट हुनुपर्छ, कुनै व्यक्ति वा सानो सस्थाबाट मात्रै गरेर भने सम्भव छैन । साक्षर नेपाल अभियान नै सञ्चालन गरेर सरकारले देशको साक्षरता बढाउन सक्रियता देखाएजस्तै मिडिया साक्षरताको विषयलाई पनि सरकारले नीतिगत योजनाभित्रै पारेर काम गर्नुपर्छ ।
मिडिया साक्षरता भनेको के हो ? यसको बारेमा थाहा पाउन किन महत्वपूर्ण छ ? मिडिया साक्षरताले के के फाइदा पुग्छ ? भन्ने बारेमा पहिले अध्ययन तथा अनुसन्धान गर्नुपर्छ । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सरकारले नीति तथा योजना ल्याउनुपर्छ । र योजना कार्यान्वयनको लागि बजेट छुट्याउनुपर्छ । हालसम्मको अवस्थामा सरकारले देशमा मिडिया साक्षरताको अवस्थाबारे अध्ययन गर्ने, मिडिया साक्षरता बढाउन पहल गर्ने, नीति तथा कार्यक्रमहरू निर्माण गर्ने र लागु गर्ने गरेको छैन । केही निजि तथा गैह्रसरकारी सस्था र सञ्चारसम्बद्ध केही सस्थाहरूको पहलले मात्रै मिडिया साक्षरता व्यापक बनाउन र यसको बारेमा बुझाउन सम्भव छैन ।
त्यसो त मिडिया साक्षरताको बारेमा आम अडियन्सलाई मात्रै होइन, मिडिया सञ्चालक र पत्रकार सम्मलाई पनि बुझाउनुपर्ने आवश्यकता छ । मिडियाले चाहीँ आफ्नो दायरा बिर्सने, आफ्नो नैतिकता भुलेर सामग्री प्रस्तुत गर्ने अनि अडियन्स चाहीँ मिडिया साक्षरयुक्त खोजेर पाइन्छ ? पक्कै पाइँदैन । मिडियालाई नै पनि यसबारेमा बुझाउनु आवश्यक छ । यसको लागि सरकार नै सक्रियतापूर्वक नलागी हुँदैन । स्थानीय, प्रदेश तथा सङ्घीय तीनवटै तहमा सरकारले नागरिकलाइ सचेत बनाउन कार्यक्रमहरू चलाउनुपर्छ ।
बजेट छुट्याउने, अभियानात्मक कार्यक्रम चलाउने, चेतनामूलक कार्यक्रम राख्ने, सामाजिक सञ्जाल र मिडियामार्फत नै मिडिया साक्षरताको बहस व्यापक बनाउने, तालिम गोष्ठी, छलफल मात्रै होइन, विद्यालय तहबाट नै पाठ्यक्रममा यसबारेमा सामग्रीहरू राखेर अध्ययन गराउन सकिन्छ । त्यसो भयो भने मिडियाको बारेमा साक्षरता केही बढ्न सक्छ । स्कुल तहमा पढ्दै गरेका बालबालिकालाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको सीपबारे जानकारीले सुसज्जित बनाउँदै लैजानुपर्छ । यो कार्य नियमित पठनपाठन जस्तो होइन, चरणबद्ध पाठ्यक्रमको विकास गरी विद्यार्थीलाई मिडियाका समग्र पक्षबारे सुसूचित बनाएमा मिडिया साक्षरता र शिक्षाको पुनःसंरचना गर्ने प्रयासमा समेत सहयोग पुग्ने छ । (बराल, २०७९)
यसमा सरकारले पर्याप्त काम गर्नुपर्छ । साथै सञ्चार माध्यम, सञ्चार सम्बद्ध अरु निकायहरू, विद्यालय, कलेज, अन्य सार्वजनिक संघसंस्थाले पनि यसबारेमा चेतना फैलाउने काम गर्नुपर्छ । यसलाई एउटा अभियान बनाउन सकियो भने मिडिया साक्षरता वृद्धि गर्न सकिन्छ ।
लेखक रिसालले प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको २०८१ असोज अंकबाट साभार गरिएको ।स.