प्रकाश फुयाल
ककनी
हो थाहा छ ,
भेडाहरु एक्लै हिँड्दैनन्
बथानमा हिँड्छन्
मालिकले जता जता डोहोर्यायो
त्यतै त्यतै डोहोरिन्छन् भेडाहरु
भेडाहरु आफैसँग
आफ्नै वुद्धि र विवेक हुदैन,
र त अरुको वुद्धि र विवेकमा चल्छन् ।
हरियो घाँस देख्नुपर्छ
मालिक चिनेपछि भेंडाहरु
आफै पछि पछि लाग्छन् ।
हो भेडाहरुमा,
आफैंसँग चेतना हुँदैन,
र त मालिकको विस्वास गर्छन् ।
मालिकको कोठामा पुग्छन्
चोटामा पुग्छन्
दिनदिनै मिठो पिठो जे दिन्छन्
खान्छन् भेडाहरु,
दिन दिनै मोटाउदै मोटाउदै जान्छन् ।
मालिक व्यापारी हो कि कसाई हो
के थाहा उनीहरुलाई
मालिकको अगाडि घुम्छन्
पछाडि घुम्छन्,
घुम्दा घुम्दै सयौं चोटी
बेचिएको पनि थाहा हुँदैन उनिहरुलाई
बेचिँदा बेचिँदै मालिककै घर आँगनमा
पसारिएको पनि थाहा हुँदैन उनिहरुलाई ।
किनिदै जान्छन् बेचिदैं जान्छन् भेडाहरु
बस् यस्तै छ नियति भेडाहरुको ।