काठमाडौँ।
संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बाधक भएको बताएका छन् ।
प्राइम टिभीको एक कार्यक्रममा शनिबार बोल्दै उनले पार्टीको पछि लाग्ने विभिन्न पार्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको विकासको बाधक हो भनेका हुन् ।
दलका कार्यकर्तालाई छोडेर जनता सडकमा उत्रिए पनि उहाँहरु कहाँ पुग्नुहुन्छ ? भन्दै आचार्यले प्रश्न गरे । उनले दलका नेताहरुले जे भन्यो त्यही जनताले मान्छन् भन्ने कुरा गलत हो भन्दै नेपाली जातिमा सहनशीलता बढि भएकाले मात्रै सहेका हुन, तर अति भएपछि बिद्रोह गर्छन भने ।
उनले अहिलेका भ्रष्ट र नालायक नेताहरुलाई जनताले चाँडै नै लखेट्ने पनि दावी गरे । आचार्यले भने, गफ दिने, भाषण गर्ने, जनतालाई कुनै सुविधा नदिने, संविधानमा भएको कुरा कार्यान्वयन नगर्ने हो भने उनीहरुको लखेटिने दिन मैले निकै नजिक देख्छु ।’
अति भएपछि जनता सडकमा आउने बताउँदै आचार्यले विगतमा पनि पार्टीका नेताहरुको आव्हानका कारण नभई अति भएपछि जनताले प्रतिरोध गर्ने बताए । अहिलेको संघीय व्यवस्था र दलका नेताहरुको कार्यशैलीका कारण मुलुक आर्थिकरुपमा धरासायी अवस्थामा पुगेको, जनता महामारीका खान नपाएर भोकै बस्नुपरेको, आत्महत्या गर्नु परेको, तर नेताहरु आफ्नो सुखसुविधामा लिप्त रहेको आरोप लगाए ।
(प्राईम टेलिभिजनमा प्रशारित कार्यक्रमको समाचार अंश https://corporatenepal.com/ बाट साभार गरिएको हो ।)