काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको संयोजनमा “पत्रकार आचारसंहिता जागरण एवं मिडियाप्रतिको जनगुनासो” विषयक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सञ्चार माध्यम र पत्रकारसँग सम्बन्धित गुनासा र ती गुनासा सम्बोधनमा प्रेस काउन्सिल नेपालले खेल्नसक्ने भूमिकाबारे धारणा राखेका थिए । ‘हामी पत्रकार आचारसंहिता पालना गर्न प्रतिबद्ध छौँ’ भन्ने सामुहिक प्रतिबद्धताबाट सुरु भएको कार्यक्रममा सहभागी पत्रकारले काउन्सिलको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले न्यायाधीशलाई न्याय दिने निकाय प्रेस काउन्सिल भएको भन्दै पत्रकार आचारसंहिता परिमार्जन गर्न आवश्यक रहेको औल्याउनुभयो । ‘समाचार ठीक हुँदा पनि रुँदै आउँछन्, बेठीक आउँदा पनि रुन्छन् । समाचारले कम्पन ल्याउँछ । लेख्ने र सार्ने दुइखाले पत्रकार छन् । सार्ने पत्रकारले चलाएको मिडिया खासगरी अनलाइनमा विज्ञापनको बाढी हुन्छ ।’ उहाँले भन्नुभयो, ‘मिडियालाई मर्यादित र व्यवस्थित बनाउन मिडिया स्थापना हुँदैदेखि आचारसंहिता प्रशिक्षण तथा तालिम आवश्यक छ ।’ काउन्सिललाई जति बलियो बनाउन सकियो, पत्रकारिता क्षेत्र त्यत्तिकै मर्यादित, स्वतन्त्र र निष्पक्ष हुने उहाँको भनाई थियो । उहाँले मिडियालाई कस्न खोजे तरङ्ग आउने भन्दै स्वघोषणा र आचारसंहिताको स्वनियमन नै उपाय हुन सक्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशका अध्यक्ष बैकुण्ठराज पराजुलीले काउन्सिलले नियमन गर्दै आएको आचारसंहिताको पालना के–कति गरिरहेका छौँ आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलबाट एसोसिएट प्रदेशअन्तर्गत कार्यरत पत्रकारलाई अनुदान सुविधा, विधागत तालिम दिने व्यवस्था हुने अपेक्षा आफूहरुको भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले व्यक्तिगत स्वार्थको कारण पूँजीबजारलाई प्रभाव पार्न नहुने धारणा राख्नुभयो । ‘पूँजीबजार अर्थतन्त्रको मेरुदण्ड हो, पत्रकारले पनि लगानी गर्न पाउनुपर्छ तर निहित स्वार्थपूर्तिको लागि सूचना प्रवाह गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो । नेपाल स्टक एक्सचेन्जका मुराहरि पराजुलीले सेयर मार्केटमा उतारचढाउ पार्ने समाचार आइरहने भन्दै लगानीकर्ताले आफ्नो बिक्री गर्न चाहँदा मूल्य बढ्नेगरी र खरिद गर्नुपर्ने अवस्थामा मार्केट डाउन हुनेगरी सनसनीपूर्ण समाचार आउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले सेयरबजारमा लगानी गर्ने कि नगर्ने भन्ने बिषयमा स्वार्थ बाझिने गरी गर्न नहुने प्रष्ट पार्नुभयो । ‘आफ्नो जिविकोपार्जनको लागि लगानी गर्न सक्छ, यदि लगानी गर्ने हो भने सम्पादकसामु जानकारी गराउनुपर्छ, स्वार्थ बाँझिने भएमा रिपोर्टिङ् गर्न हुँदैन ।’ उहाँले भन्नुभयो ।
मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष मेघबहादुर थापाले पत्रकारलाई म्युचुअल फण्डमा लगानी उपर्युक्त हुने बताउनुभयो । ‘न्युजले ठूलो प्रभाव पार्दछ, पत्रकारले म्युचुअल फण्डमा लगानी गर्दा उत्तम हुन्छ । मार्केट गिरावटले तात्विक असर पर्दैन ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले स्वच्छ र मर्यादित पत्रकारिताको विकासको लागि आचारसंहिता निर्माण, अनुगमन र आचारसंहिताको पालना गर्न जागरण ल्याउने उद्देश्यले नियमितरुपमा सरोकारवाला संघसंगठन र उपभोक्ताबीच छलफल गर्दै आएको उल्लेख गर्नुभयो । ‘हामीकहाँ मिडियाप्रतिको जनगुनासो, उजुरी आउँछन्, आचारसंहितामा उल्लेखित पत्रकार तथा सञ्चार माध्यमले गर्न हुने र गर्न नहुने १४÷१४ बुँदा छन्, यसको पालना गरौं ।’ उहाँले भन्नुभयो । १४ बुँदे विषय समेटी फ्लेक्स प्रकाशन गरेर छिटै मिडिया हाउसलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । स्वनियमन नै प्रमुख कुरा भएको भन्दै भुसालले सञ्चार माध्यम बन्द गरेर, सेवा रोकेर, दण्ड जरिवाना गरेर समस्या समाधान नहुने बताउनुभयो । काउन्सिलले पत्रकारका लागि पुरस्कार, उपचार खर्च, प्रेस सामग्री खरिदमा अनुदान दिँदै आएको पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा एसोसिएट प्रदेशका महासचिव रोयल आचार्यले कार्यपत्र प्रस्तुत गर्दै विधागत पत्रकारिताको विकासमा रहेका समस्या औँल्याउनुभया । उहाँले विषयगत तालिमको अभाव, उपकरण अभाव, प्रोत्साहनको कमी कारण विधागत पत्रकारितामा समस्या रहेको भन्दै उपत्यकामा कार्यरत पत्रकारको लागि पनि अनुदान, पुरस्कारमा विधागत सहभागिता गर्न सके पेसागत हकहित र सुरक्षा हुने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका उप प्रशासकीय अधिकृत रामशरण बोहराले युट्युब नियमनका सम्बन्धमा नेपाल सरकारलाई सुझाव पेस गरेको भएपनि हालसम्म कुनै प्रगति नभएको बताउनुभयो ।
यस्तै स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामचन्द्र न्यौपानेले कोभिड महामारीको यो दुई वर्षमा स्वास्थ्य बिटतर्फ पत्रकारहरुसँग खासै अन्तरक्रिया नभएकोतर्फ ध्यानाकर्षण गराउनुभयो । चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले मिडियाबाट पीडित गुनासोकर्तालाई छुट्टै छलफल गरेर त्यसपछि पत्रकारसँग अन्तरक्रिया गरेको भए प्रभावकारी हुने धारणा राख्नुभयो ।
एसोसिएट प्रदेशका सदस्य अनुजराज ढुङ्गेलले स्वनियमनमा बसौं भन्दै आर्थिक पत्रकार समाजले आफ्नै पत्रकार आचारसंहिता बनाएको बताउनुभयो । उहाँले विदेशतिर पत्रकारलाई सेयरमार्केटमा लगानी गर्न प्रतिवन्ध रहेको बताउँदै नेपालमा प्रेस काउन्सिल, पत्रकार महासङ्घ सबैतिर राजनीतिक प्रभाव र पुरस्कारभित्र राजनीति हुँदा नियमन गर्ने निकाय हुन नसकेको उल्लेख गर्नुभयो ।
पत्रकारिता विकास समाजका उपाध्यक्ष पोष्ट केसीले आवेगमा वा विवेक गुमाएर, प्रतिशोध वा पूर्वाग्रही नभइ काउन्सिलले पनि नियन्त्रण गरेर ठीक पार्छु भन्ने सम्झन नहुने बताउनुभयो । यस्तै फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्कीले प्रविधिको विकाससँगै विकृति बढेकाले स्वनियमन ठूलो कुरा भएको उल्लेख गर्नुभयो । विधागत पुरस्कार वितरण गर्दा संस्थागत सिफारिस, लिष्ट माग गर्नु उत्तम हुने भन्दै उहाँले मिडियामा सरकारी सहयोग वा लोककल्याणकारी विज्ञापन वितरण ठीक नभएको धारणा राख्नुभयो । मिडिया उद्योग भएकाले अनलाइन वर्गीकरण आवश्यक नरहेको उहाँको भनाइ थियो ।
केन्द्रबिन्दु डटकमका पत्रकार निकेश बरालले पत्रकारिता र युट्युबकारिता छुट्टयाउने माध्यम के हो ? भन्दै पत्रकारिता पढिरहेका नयाँ पिँढीलाई पत्रकारिता कहाँबाट सुरु गर्ने अन्यौलता रहेको उल्लेख गर्नुभयो । हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्यले पत्रकारको आचारसंहिताबारे अध्यापन, अभ्यास हुने गरे पनि कार्यान्वयन नभएको बताउनुभयो ।
नेपाल लाइभका पत्रकार विरेन्द्र ओलीले अनलाइनमा सेयर गर्ने, भ्युज देखाउने होडबाजी हुँदा आचारसंहिता उल्लङ्घन बढेको बताउनुभयो । सेयर देखाउन नमिल्ने बनाउँने, गल्ती गरेको पाइएमा जुन पृष्ठमा समाचार आएको छ, सोही पृष्ठमा दोब्बर साइजमा खण्डन छाप्न लगाउने कडा नियम नभइ नहुने उहाँको भनाइ थियो । कार्यक्रममा रोजगार मिडिया फणिन्द्र दाहाल, बीमा पोष्ट रिला खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।