रौतहट ।
२०६३ सालको आजकै दिन अर्थात चैत ७ गते तत्कालिन माओवादीको कार्यक्रममा आतंक मच्याएर घटाईँएको गौर हत्याकाण्डका दोषि १३ बर्षसम्म पनि उन्मुक्त छन् । २८ जनाको हत्या र ५ जना बेपत्ता हुने गरी घटाइएको घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो ।
१३ बर्षअघि रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी मधेशी मुक्ति मोर्चाको एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप भएको थियो । झडपले हिंसाको रुप लिएपछि यो घटना ‘गौर हत्याकाण्ड’ को नामले स्मरण गरिन्छ ।
पर्सा, बारा र रौतहटमा र्याली गर्ने मधेशी जनाधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला स्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्र मा र्यालीको सार्वजनिक घोषणा गर्ने अग्रिम तयारी थालेको थियो।
मधेशी जनाधिकार फोरमको यो निर्णयको एक हप्ता पछि नेकपा माओवादीको मधेशी मुक्ति मोर्चाले पनि सोहि ठाउँमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो।
र्यालीको दुई दिन अघि देखि नै तनावको सिर्जना हुने आशंका गरिएको थियो। त्यसैले दुवै पार्टीका नेतृत्व तहका नेताहरु बसेर एउटा कार्यक्रम सकिएपछि अर्को गर्ने सहमति भएको थियो ।
तर मधेशी मुक्ति मोर्चाको कार्यक्रम भइरहेको समयमा झन्डै १५०० देखि ४००० को संख्यामा फोरमका समर्थकहरू बिहान देखिनै खडा र भाटासहित र्यालीको लागि गौर आइपुगे ।
फोरमका कार्यकर्ताहरु नेकपा माओवादीका समर्थकहरुसंग भिड्ने तथा आक्रमण गर्ने तयारीका साथ उपस्थित थिए ।
तत्कालिन नेकपा माओवादीका केहि कार्यकर्ताले पनि बन्दूक र सकेट बम, साथै अन्य विस्फोटक उपकरणका साथ उपस्थित थिए ।
यसरी झन्डै दिउसो १.४५ बजे, १५ जना हतियारधारीहरुले माओवादीको कार्यक्रम विथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम स्वरूप हत्याकाण्ड भयो ।
मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा/इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर मारेका थिए ।
महिलाहरुलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइमा समेत उक्त घटना दोहोरो मुठभेड थिएन । माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए । उनीहरुले प्रतिरोध गर्नै पाएनन्।
त्यही कारण नै फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेका थिए ।
यो पाशविक घटनाका पीडितहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । घटनाको मुख्य दोषी पुर्व मन्त्री उपेन्द्र यादवसँगै अपराधिक गिरोहहरु बबन सिंह, ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भू साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायत पनि दोषी मानिन्छ ।
घटनापछि उपेन्द्र यादव पटक-पटक मन्त्रीसमेत भइसकेका छन् । सरकारले गौर घटना छानबिनका लागि तात्कालिन सर्वोच्च अदालतका न्यायधीश खिलराज रेग्मीको नेतृत्वमा २०६४ मा छानबिन समिति गठन गरेको थियो । तर छानबिन समितिले दिएको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन् ।