राम प्रकाश वि.क.
जुम्ला ।
कर्णालीमा हुने विवाहवर्तन तथा विभिन्न सभा–समारोहमा बजाइने पञ्चेबाजासँगै हुड्केनाच हराउँदै गएको छ । पञ्चेबाजा र हुड्के नाच पुस्तान्तरण नहुँदा हराउँदै गएका हुन् । विवाहवर्तन तथा विभिन्न सभा–समारोहमा पञ्चेबाजासँगै हुड्केनाचको माग अझै पनि बढ्दो क्रममा छ । तर पुराना पुस्ता सकिँदै जाँदा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । तिला गाउँपालिका १ रारा गाउँका जगमानी दमाइले बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत संगित र बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृति हराउन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले केही वर्ष पहिले हुने विवाहवर्तन तथा विभिन्न सभा–समारोहमा अनिवार्य जस्तै बनेको हुड्केनाच र पञ्चेबाजा अहिले लोप हुँदै गएको बताए ।
कर्णालीको मौलिकता झल्काउने हुड्केनाच र पञ्चेबाचा बजाउने सीप पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । नयाँ पिँढीसमेत सिक्न तयार हुनुपर्छ । पञ्चेबाजामा पर्ने नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोगले हुड्के नाच्ने गरिन्छ । तर यस्ता खालका सामग्री संरक्षण गर्न कठिन छ । दमाइका अनुसार पहिले विभिन्न बाजाको निर्माण स्थानीय स्तरमा हुने गरेको भए पनि अहिले त्यस्ता खालका बाजा बनाउने सीप तथा हुड्के गाउने कला भएका मानिस भेटाउन मुस्किल छ । हुड्केनाच र पञ्चेबाजा संकटमा पर्न थालेपछि यसको संरक्षण र सम्वद्र्धनका लागि तिला गाउँपालिका पञ्चेबाजा समुह गठन गरिएको छ । स्थानीय सरकारसमेत लागि परेको छ । तर परम्परा र संस्कृतिको निरन्तरता नभई अभियान चलाउनुपर्ने अवस्था आएकोमा कतिपय बुढापुराना चिन्तित छन् ।
आफ्नो बुबाबाट सिकेका उनले अहिले गाउँघरमा कसैको विवाह हुँदा, बच्चा जन्मिदाँ वा कुनै उत्सव हुँदा घर घरमा पुग्छन् । तर उनको गुनासो छ, हुड्के नाचमा उनलाई साथ दिने दमाली छैनन् ।
तिला गाउँपालिकाले यसको संरक्षणका लागि केही सहयोग गरेको छ । पञ्चेबाजा संस्कृति संरक्षणका लागि पञ्चेबाजा समुहलाई भने बजेटको अभाव छ । पञ्चेबाजा समुहका अध्यक्ष रहेका दमाईले जिल्लास्तरिय खसानी पञ्चेबाजा संरक्षण तथा प्रवर्द्धन मञ्च दर्ता गर्ने योजना सुनाए । पञ्चेबाजाको टोलीलाई आवश्यक पर्ने पहिरन र वार्षिक रकम उलब्ध गराएको खण्डमा यसको अनुमोदन हुने उनको भनाई छ । गाउँघरका बुढापाका र पर्यटकहरू हुड्के नाच र पञ्चेबाजाप्रति खुब चाख राख्छन् तर हुड्केनाच, ढालनाच, मागल, चुट्किला जस्ता जातीय तथा क्षेत्रीय पहिचान बोकेका कर्णालीका मौलिक कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व संकटमा छ ।
कर्णालीको पहिचानमा आधारित संस्कृति
तिला गाउँपालिकाका अर्का स्थानीय महेन्द्र परियारका अनुसार हुड्के नाच कर्णालीमा मात्रै नाचिने संस्कृति हो । दमाई जातसँग आधारित यो नाच कर्णालीमा निकै रुचाइन्छ पनि । यो नाच्न जान्नेलाई निमन्त्रणा आएमा सिधै ज्याला निर्धारण गरेर जान्छन् ।
पुस्तान्तरण नहुँदा सङ्कटमा
जुम्ला लगायत कर्णालीमा हुड्के नाच मात्र हैन, मागल, पञ्चेबाजा, ढाल नाच लगायतका संस्कृति लोपोन्मुख भइसकेका छन् । स्थानीय तहमा नीतिगत निर्णय नहुँदा हुड्के नाच पुस्तान्तरण र संरक्षण गर्न चुनौतिपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन् । तिला गाउँपालिका ३ का हस्त दमाई हुड्के नाचकै कारण अहिले पनि परिचित छन् । उनले हुड्के नाचबाटै दैनिकी चलाइरहेका छन् । आफ्नो बुबाबाट सिकेका उनले अहिले गाउँघरमा कसैको विवाह हुँदा, बच्चा जन्मिदाँ वा कुनै उत्सव हुँदा घर घरमा पुग्छन् । तर उनको गुनासो छ, हुड्के नाचमा उनलाई साथ दिने दमाली छैनन् । मान्छेले हेर्न रुचाउँछन् । नाच्न कोही आउँदैनन् । निम्तो आएपछि उनलाई साथी जुटाउनै सास्ती छ ।
रारा गाउँका महेन्द्र परियार बेलैमा परम्परागत नाचहरूको पुस्तान्तरणबारे नसोचे निकट भविष्यमै कर्णालीको संस्कृति कथा बन्ने चिन्ता व्यक्त गर्छन् ।
कर्णलीमा रहेका यस्ता खालका सँस्कृति दमाई जातीमा आधारित मौलिक पेसा हुन् । यसको संरक्षणमा स्थानीय सरकारदेखि स्वयम् दमाई समुदाय अग्रसर हुन जरुरी छ । नेपाली भाषाको उद्गम स्थल कर्णाली संस्कृति र मौलिकताको प्रचुर सम्भावना भएको ठाउँ हो । तर अहिले कर्णालीका गाउँघरमा प्रचलित देउडा, हुड्के नाच, धामी नाच, लहरे नाच लगायतका संस्कृति बिस्तारै हराउँदै छन् ।