देश यतिबेला पुरै कोरोना सन्त्रासका कारण लकडाउनमा छ । बजारमा अत्यावश्यक बाहेकका सरसामाग्री किनमेल गर्न पाईदैन । अत्यावश्यक भनेर जोहो गरिएका सामाग्रीमा महिलाका लागि महिनावारीका समयमा आवश्यक पर्ने प्याड धेरैले किनेका छैनन् । बजारबाट ल्याएको प्याड सकिदाँ नियमित हुुने महिनावारीमा महिलाहरुलाई अप्ठ्यारो परेको कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
यस्तो बेला महिनावारी र त्यसको सुरक्षा सतर्कताका लागि संयमित रहन महिला तथा बालबालिका मन्त्रालय र एक्सपोज नेपालले अपिल गरेको छ । विशेषगरी किशोरीहरुलाई आफ्नो समस्या नबताई चिन्ता लिएर एक्लै नबस्न अपिल जारी गरिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै अपहेलनाको रुपमा र अर्मयादित रुपमा घर समाजमा लिइएको रजस्वला महिनावारीलाई यस समयमा मर्यादित बनाउन समेत अपिल गरिएको छ ।
आधुनिक बजारमा प्राप्त केमिकलयुक्त प्याडको प्रयोगबाट विस्तारै यौनसम्बन्धी र पाठेघरसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा नकरात्मक असर गर्ने भएकाले महिनावारीका बेला स्वदेशमै उत्पादित कपडाको प्याड प्रयोग गर्न नेपाल सरकार र एक्पोज नेपालको सुझाव छ ।
एक्सपोज नेपालका अध्यक्षसमेत रहेका नेपाली प्याड म्यान ज्ञान महर्जनले महिलाका लागि केमिकलयुक्त प्याड भन्दा कपडाकै प्याड प्रयोग गर्नुमा उत्तम हुने बताए । कपडाको प्याड एक पटक प्रयोग गरेपछि पुनःप्रयोग गर्न सकिने भएकाले पैसाको बचत हुनुका साथै लकडाउनका समय प्याडको खोजीमा बजार–बजार धाउन नपर्ने भएकाले यस अवस्थामा कपडाबाट बनेको प्याड नै प्रभावकारी हुने उनको भनाई छ । स्वास्थ्यका हिसाबले पनि यो सुरक्षित हुने भएकाले महर्जन सकेसम्म कपडाकै प्याड प्रयोग गर्न सुझाउँछन् ।