नेकपा माओवादी केन्द्रले हालै गरेको जिम्मेवारी बाँडफाँडमा सांगठनिक जिम्मेवारी पाएका एक नेताले जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
नेता नारायण शर्माले पार्टीले माओवादी केन्द्रको हालै बसेको बैठकले गरेको जिम्मेवारी विभाजनप्रति असहमति र विरोध जनाउनुभएको हो ।
शर्माको नाम प्राध्यापक सम्बद्ध संगठनहरुको इन्चार्जमा राखिएको छ । नेता शर्माले आफुलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको भन्दै यदी यो साँचो हो भने एउटा अर्को विचित्रता भएको बताउनुभएको छ ।

नेता शर्माले भदौ ६ को मिति राखेर अनलाइनहरुमा सार्वजनिक भएको सो पार्टीको परिपत्रप्रति टिप्पणी गर्दै वैचारिक, सैद्धान्तिक, राजनैतिक प्रष्टता र संगठनात्मक प्रणालीका बारेमा आफ्नो धारणा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै बुझाएको बताउनुभएको छ।
जनयुद्ध शुरु गर्दाको १९ मध्येका एक केन्द्रीय सदस्य शर्माले माओवादीहरुको एकतामा आफू कार्यालय सदस्य रहेको बेला मनोमानी ढंगले स्थायी समिति हुँदै हाल फेरि केन्द्रीय सदस्य राखेर पुरानो जिम्मेवारी दिइएकोप्रति रोष प्रकट गर्नुभएको छ। उहाँले क्रान्तिकारीता, सिद्धान्त निष्ठता, स्वच्छता, सदाचारीता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतले दण्ड पाउँदै जान थालेको बताउनुभएको छ ।
शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छः
“सही हो कि गलत हो ? माओवादी केन्द्रको हालै बसेको बैठकले मलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको छ । यदी यो साँचो हो भने एउटा अर्को विचित्रता भएको छ ।
पार्टीको गैरक्रान्तिकारी र गैरमालेमावादी विचार, नीति, विधी तथा नेतृत्वका अन्यायपूर्ण र अपमानजनक आचरण-व्यवहारसँग मेरा कैयौं असहमती छन् । यो अवस्थामा मैले कुनै बैठक पनि एटेण्ड गरिरहेको छैन र यी विषयहरु समावेस भएका १५ बुँदा मैले गत पुषको बैठकको क्रममा सार्वजनिक समेत गरिसकेको छु । यी गम्भीर सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयहरुको सम्बोधन नभएसम्म म बैठकमा आउँदिन भनी स्वयं अध्यक्षलाई फोनमा भनी छोडिसकेको अवस्थामा तत्पश्चात कुनै छलफल, संवाद, सल्लाह र सन्देस पनि भएको र आएको छैन ।
अहिले सर्वोच्च अदालतले नै माओवादी केन्द्रको पुरानै कमिटी, सदस्य, स्वरुप र संरचना पुनर्स्थापित गरिदिएको अवस्थामा पनि आफ्नो स्वार्थलाई मध्यनजर गरी मनोमानी तरिकाले स्थायी समिति बनाएर मलाई केन्द्रीय कार्यालयको सदस्यबाट केन्द्रीय समितिको सदस्यमा अपमानजनक तरिकाले झारी पुरानै जिम्मेवारी दिनु अनौठो विडम्बना भएको छ ।
आज पार्टीमा क्रान्तिकारिता, सिद्धान्तनिष्ठता, स्वच्छता, सदाचारिता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतको कुनै अर्थ नभैरहेको र यसमा सुधार, शुद्धीकरण, रुपान्तरण आदि केही कत्तिपनी हुने सम्भावना नदेखिइरहेको यो अवस्थामा यी समग्र पक्षमा मेरो असहमती र विरोध समेत रहेको पुन: सार्वजनिक गर्न चाहन्छु ।”
shere this
याे सामग्री सेअर गर्नुहाेस्