– खुमा ओली
काठमाडौँको कीर्तिपूर नगरपालिका १० की अस्तमाया महर्जन ८० वर्ष पुगिन् । बिहानको नित्यकर्मपछि आफ्ना लागि आफैँ खाना पकाउने, खाने र जुठाभाँडा गर्छिन् । यति गर्दा घडीको सुइले ११ बजाइसक्छ । त्यसपछि महर्जन घरनजिकैको दिवा सेवा केन्द्रमा पुगेर भजनकिर्तनमा भुल्छिन्, आफ्नै उमेरका दौँतरीसँग भलाकुसारी, योगअभ्यास र दिउँसोको चियाखाजा सकेर ३ बजेतिर उनी घर फर्किन्छिन् । अनि बेलुकाको भातभान्सा र जुठोभाँडो सकेर बिस्तारामा पल्टिँदा ९ बज्छ । महर्जनको यो दैनिकी २०७५ सालदेखि सुरु भएको हो । घरमा छोरा बुहारी, नातीनातिना र बिहे भइसकेका छोरीहरू छन् । दिनभर उनीहरू कोही काम त कोही पठनपाठनमा लाग्छन् । बुढ्यौली उमेर त्यसमाथि दिनभर घरमा एक्लै हुँदा महर्जनका मनमा अनेक कुरा खेल्न थाले । दिनभर काम छैन बस्दा जिउँ दुख्थ्यो, सुत्दा टाउको दुख्थ्यो । कुराकानी गर्ने मन भुलाउने बाटो केही थिएन । यस्तैमा स्थानीय युवाहरू मिलेर ज्येष्ठ नागरिकका लागि नगरपालिका र वडाले छुट्याउने बजेट सदुपयोग गर्ने भनेर समिति गठन गरे । पछि वडाबाट १ लाखको बजेट बराबरको सामग्री पाउने भएपछि तिनै युवाहरूले शङ्खधर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र खोले । त्यसपछि सुरु भयो वडाका सय भन्दा बढी बृद्धबृद्धाको लागि रमाइलो दिवाकालीन सेवा ।
इट्टाले बेरिएको एककोठे, लामो, एकतिहाइ छानो ढलान गरिएको र दुईतिहाइ भाग जस्ताले छाएको जिर्ण टहरो । गुठीका नाममा रहेको यो टहरोमा वडा कार्यालयबाट आएको १ लाख रकम बराबरको पकाउने भाँडा, ओछ्याउने ‘पि–फर्म’ र कार्पेट तथा वाद्यवादनको व्यवस्थापन गरेर सेवा सुरु भएको बताउछिन् शङ्खधर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रकी उपाध्यक्ष यसोधा श्रेष्ठ ।
६८ वर्षीय चिरीनानी श्रेष्ठ ढल्किँदो उमेरमा पनि हार्मोनियम बजाएर भजनकिर्तन गाउन सिपालु छिन् । यो दिवासेवा केन्द्रमा उनी नियमित भजन गाउँछिन्, हार्मोनियम बजाउँछिन् । ‘यहाँ आयो, भगवानको सेवामा मन लगायो, आनन्द हुन्छ । मनलाई शान्ति मिल्छ, सुख मिल्छ । कुनै थकाइ लाग्दैन,’ हसिलो अनुहारमा श्रेष्ठको वाक्य फूट्यो ।
कोरोनाले देश थलिनुअघि हप्ताका सातै दिन यहाँ बृद्धबृद्धाको भीड लाग्थ्यो । तर कोभिडपछि भने दिवाकालिन सेवामा नियमितता छैन । अहिले मङ्गलबार र शनिबार मात्र खुल्ने दिवासेवा केन्द्र हप्तैदिन खुलोस् भन्ने चाहना छ, स्थानीयको । ‘बुढा बित्नुभएको ५ वर्ष भयो, उहाँले छोडेपछि एक्लो भएँ, घर ठुलो छ, छोराबुहारी छन् तर मेरा कुरा सुनेर कसले बस्छ ? काम गर्नुपरेन ? कमाउनु, खानु परेन ? दिनभरी यहाँ बस्दा मन पनि हलुका हुन्छ, ज्यानलाई पनि आराम हुन्छ । पहिलाजस्तो दिनहुँ आउन पाइँदैन । दिनकै खोलिदिए हुन्थ्यो,’ ७२ वर्षीय पवित्रा महर्जनले सजिलो अप्ठ्यारो एकैचोटी सुनाइन् ।
भवन अभावमा जीर्ण कोठाभित्र चलिरहेको दिवा सेवा केन्द्रमा दिउँसो ११ बजेदेखि १२ बजेसम्म भजनकिर्तन, १२ बजेदेखि १ बजेसम्म ज्येष्ठ नागरिकका अनुभव आदानप्रदान २ बजेदेखि नाचगान, योग अभ्यास हुन्छ । ज्येष्ठ नागरिकलाई समन्वय र सहजीकरण गर्ने केन्द्रकै स्वयंसेवकहरू छन् । साँघुरो कोठामा अट्नेहरू बस्छन्, नअटेकाहरू बाहिर चौतारोमा सुस्ताउछन् ।
दिवा सेवा केन्द्रमा आउनेहरू अधिकांश महिलाहरू छन् । ‘सुरु सुरुमा त बुवाहरू पनि धेरै आउनुभयो । पछि बिस्तारै संख्या कम हुँदै गयो । बुवाहरू चोक चौतारोमै बसेर राजनीतिक गफ गर्न रुचाउनुहुँदो रहेछ । आमाहरू त यहाँ आएपछि साथीहरूसँग मनका कुरा गर्न पाइने । बुढी भएपछि कति मनमा कुरा खेल्दाहुन् सबै सुनाउने गर्न रुचाउनुहुँदो रहेछ । हामीले १२ बजेदेखि १ बजेसम्म उहाँहरूका कुरा सुन्छौँ । सुरुमा बोल्न नखोज्ने उहाँहरू अहिले त गित गाउन, नाच्न र घरमा के भयो कसले के भन्यो कसले के गर्यो भन्ने जस्ता अनुभवहरू सुनाउन खोज्नुहुन्छ ।’ केन्द्रकी उपाध्यक्ष यशोदा श्रेष्ठ प्रष्ट पार्छिन्, ‘वृद्धवृद्धाको लागि यस्ता ठाउँहरू चाहिने रहेछन् । हामीले सोचेभन्दा धेरै राम्रो कामको सुरुआत भयो भन्ने लागेको छ ।’
केन्द्रले भवन अभावमा सेवा रोक्न नहुने भन्दै सहयोगको लागि निर्वाचित सांसद, पालिका र सहयोगी दातासँग अनुनय गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा गायिका आनी छोइङ डोल्मा फाउण्डेसनसँग दिवासेवाका लागि भवन बनाउन सहयोग गर्ने गरी सम्झौता भएको छ । ६० प्रतिशत गायिका आनीको सहयोग र ४० प्रतिशत नगरपालिका र स्थानीयको तर्फबाट व्यवस्थापन गर्नेगरी भवन निर्माणको कार्य आधा सकिसकिएको छ । ‘केन्द्रले ४० प्रतिशत बजेट व्यवस्थापन गर्नुपर्ने भएपछि हामीले कीर्तिपुर नगरपालिकासँग बजेट माग गर्यौँ, त्यहाँबाट गत आर्थिक वर्षमा १५ लाख बजेट र यस आर्थिक वर्षमा १० लाख जति स्वीकृत भएको छ । हामी केन्द्रका सञ्चालकहरूले उठाएको रकम ५ लाख जति छ । सांसदसँग पनि बजेट माग गरेका छौँ । केही बजेट आउला ।’ केन्द्रकी अध्यक्ष नानीमैयाँ रञ्जितकार भन्छिन् । २ करोड लागत अनुमान गरिएको भवन आर्थिक वर्ष २०७९/०८० मा बनाइसक्ने भनिएपनि आर्थिक वर्ष २०८०/०८१ भित्रै सक्ने गरी काम भइरहेको केन्द्रका संस्थापक सल्लाहकार विरेन्द्र शाक्यले जानकारी दिए ।
भवन निर्माण सम्पन्न भयो भने कोरोनापूर्वजस्तै सातै दिन दिवासेवा सञ्चालन गर्ने र वृद्धवृद्धाका लागि विभिन्न क्रियाकलापसमेत सञ्चालन गर्ने योजना छ केन्द्रको । भवन निर्माण भइरहेको जग्गा सरकारी हो । भवन निर्माण भइसकेपछि दिवा सेवा केन्द्र व्यवस्थित र नियमित हुने विस्वास छ स्थानीयलाई पनि । भवन निर्माण भएपछि अन्य विभिन्न कार्यक्रम गरेर भएपनि बजेट व्यवस्थापन गरी दिवाकालीन सेवा प्रभावकारी बनाउने योजनामा काम भइरहेको शाक्यले बताए ।
‘सुरुमा हिँड्न नसक्ने बुवाआमालाई बोकेर पनि केन्द्रसम्म ल्याएर दिनभर राखेर घरमा पुर्याइन्थ्यो । दिउँसो नाचगान, योगअभ्यास आदि नियमित हुँदा कति बुवाआमाको स्वास्थ्यमा राम्रो सुधारसमेत आयो । अहिले त्यो क्रम केही रोकिएको छ । यो कोठा हेर्नुस् न, यस्तोमा कसरी योगा गराउने । नयाँ भवन बनेपछि सबै काम व्यवस्थित गरेर सञ्चालन गर्ने सोच छ,’ उपाध्यक्ष श्रेष्ठले भनिन् ।
कीर्तिपुर नगरपालिकाकै पांगामा अर्को दिवा सेवा केन्द्र पनि सञ्चालनमा छ । स्थानीय हरिदेवी महर्जनको परिवारले दान गरेको जग्गामा एकतले ४ कोठे भवन बनाउन स्थानीयले सुरुमा धार्मिक यज्ञ सञ्चालन गरे । ‘यज्ञबाट ४० लाख बजेट सङ्कलन भएको थियो, त्यसपछि प्रदेश सरकार संघीय सांसद र नगरपालिकाको गरी ७० लाख बजेट जम्मा भएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रकी अध्यक्ष हरिदेवी महर्जनले बताइन् । यो सेवा केन्द्रमा दैनिक ३० जना नागरिकले सेवा लिइरहेका छन् । कीर्तिपुरकै वडा नम्बर ९ मा पनि दिवा सेवा केन्द्र सञ्चालनको तयारी भएको विरेन्द्र शाक्यले जनाए ।
वडा–वडामा यसरी सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकका लागि प्रभावकारी त छन् तर व्यवस्थापनमा भने समस्या देखिन्छ । न्युन बजेटमा सेवा सुरु गरेपनि अन्य सुविधाको व्यवस्थापनमा भने बजेट अभाव हुने गरेको केन्द्र सञ्चालकहरूको गुनासो छ ।