सुशील पाण्डे, एभिन्युज टेलिभिजन
हामीले नियालिरहेका थियौँ कि चीनले कसरी वुहानमा लकडाउन गर्यो ? के लकडाउन मात्रै उपाय हो ? त्यही किसिमबाट कार्यक्रमको खाका बनायौँ, चीनमा अलपत्र परेका नेपाली विद्यार्थी कसरी ल्याउने, ल्याएर कहाँ राख्ने भन्ने समस्या थियो, त्यसलाई पनि अलि बढि नै ध्यान दिएर विषयवस्तु उठाइराखेका थियौँ । जब इटली हुँदै रोग फैलियो, अमेरिकाजस्तो स्वास्थ्यमा त्यति प्रभावकारी काम गर्ने मुलुकमा त यस्तो हालत छ भने हामीले के गर्न सकौंला र भन्ने कोणबाट कुरा उठाउन थालियो । चैत ११ गते कतिपय टेलिभिजनहरू अब बन्द गर्ने भन्न थाले ।
हामी भने लकडाउन सुरु हुने अघिल्लो दिन बैठक बसेका थियौँ । घरभित्रै थुनिने स्थिति आइसकेपछि सर्वसाधारणको बाहिर सम्पर्क टुट्छ । व्यक्तिगत सम्पर्क भएपनि सार्वजनिक समस्या आउन सक्छ, त्यसकारण फोन कल लिएर कार्यक्रम तत्काल सुरु गरौं भन्ने निर्णय ग¥यौँ । र, चैत ११ गतेबाटै कोरोना कहर ः एभिन्युज पहल’ भन्ने व्यानरमा जनताका समस्या के हो सुन्ने प्रयास गर्छौं भनेर कार्यक्रम थाल्यौँ । तर हामीसँग तत्काल उद्धार गर्ने, सहयोग गर्ने कुनै तयारी थिएन । एक सातासम्म लकडाउनले अलपत्र परेको छु, मेरो मान्छे वा कोही बिरामी फलानो ठाउँमा समस्याग्रस्त हुनुहुन्छ, ल्याइदिन पहल गर्नुस् भन्ने गुनासासहितका फोन आउन थाले । त्यसपछि नेपाल प्रहरी, गृह मन्त्रालय र स्थानीय प्रशासनसँग समन्वय गर्यो ।
खाद्यान्नका समस्या धेरै आउन थालेपछि सार्वजनिक रुपमा आव्हान ग¥यौँ– हाम्रो पूर्वीय सभ्यता, संस्कृति भनेको दुःख परेको बेला, मर्दापर्दा मागेर होइन आफै सहयोग गर्ने जीवनपद्धति हो त्यसकारण तपाईं जो नजिक हुनुहुन्छ, फलानो ठाउँमा मानिस भोकै हुनुहुन्छ, जसले सक्नुहुन्छ यो टेलिफोन नम्बरमा सम्पर्क गरेर खानेकुरा दिनुस् भन्न थाल्यौँ । यसरी स्वतस्फुर्त नजिक भएका व्यक्तिले अप्ठ्यारोमा परेकाहरूलाई खाना दिन र सहयोग गर्न थाल्नुभयो ।
भक्तपुरको सल्लाघारी बस्ने उदयपुरका एक जनाको बुबा बित्नुभएको रहेछ । ७ दिनसम्म केही पनि नखाएको स्थिति । खान भएन, फलफूल खान पैसा छैन । उनले फोन गरेपछि त्यही नम्बर सार्वजनिक गरेर अपिल ग¥यौँ । त्यहाँ धेरै मान्छे पुगेर सहयोग गरे, प्रहरीसँग समन्वय गरेर गाडीमा उदयपुर पनि पठाए । कतिपय महाराजगञ्जस्थित हाम्रै कार्यालयमा पैसा बोकेर आए । यसरी सहयोग दिन आउनेहरूलाई सम्बन्धित व्यक्तिलाई नै दिन भन्यौँ र सम्पर्क नम्बर उपलब्ध गरायौँ । हामी केवल सञ्चारकर्मी हो, सञ्चारकर्म मात्रै गर्छौँ भन्यौँ ।
वास्तविक पीडितको छनौट
राष्ट्रिय टेलिभिजनमा जो व्यक्ति रुँदै सहयोग माग्दै सार्वजनिक हुन्छ, त्यसमा खासै गैरपीडित व्यक्ति नआउलान् भन्ने लाग्छ । कहीँकतै त्यस्तो प्रवृत्ति पनि नदेखिएको होइन । तर अधिकांश पीडित नै आउनुभयो । कतिपय ठाउँमा वितरणका लागि जाने सहयोगीहरूले पनि स्थानीयसँग बुझ्नुहुन्छ । हामीले सीधै सहयोग संकलन गरेनौं । माग्ने होइन कि अप्ठ्यारो परेकोलाई सोधी सोधी आफै सहयोग गर्ने बानीमा जोड दियौँ । मानौं बानेश्वरमा समस्या आयो भने त्यहीँ वरिपरिकै मान्छे सहयोगका लागि जान्छ, जाँदा टोलका मान्छे जम्मा भइहाल्छन् । त्यसरी पनि थाहा हुन्छ कि त्यहाँ समस्या छ/छैन । पहिलो चरणमा यसरी नै सहयोग भयो । यसो गर्दा एकै व्यक्तिलाई धेरै सहयोग जुट्यो भन्ने खबर पनि आयो । उता हाम्रो कार्यक्रम हेरेर लायन्स क्लब, कृष्णप्रणामी समाज, नेपाल अटो वर्कसपलगायतले सम्पर्क गरी जुन समस्या आउँछ, त्यो सहयोग गर्छौं है भन्न थाल्नुभयो । कोरोनाको यस्तो संक्रमणको जोखिमको बेला सहयोग गर्छु भनेरमात्र पनि भएन, सहयोग गर्नेहरूलाई तपाई नै जानुस् मात्र पनि भन्दैनथ्यौँ, उहाँहरूले नसकेको अवस्थामा अरु सहयोगीहरूलाई पठाउँछौँ भन्थ्यौँ । कतिले गुनासो पनि गर्नुभयो कि सहयोग गर्छु भनेको हो तर फलो गर्नुभएन भनेर ।
तर यो कर लगाउने बिषय त होइन । सरकारी प्रकृयाबाट, जनताले तिरेको करबाट दिने राहत होइन । सहयोग गर्दा नागरिकता वा मतदाता नामावली हेरेर सहयोग दिने कुरा होइन । चाहे स्वदेशी होस् वा विदेशी, जसलाई सहयोगको खाँचो छ उसलाई सहयोग गरिहाल्ने हो । हामीले स्पष्ट भन्यौँ पनि सहयोगापेक्षीहरूको स्वाभिमानको सम्मान गरौँ, जसले सहयोग गर्नुहुन्छ उहाँप्रति कृतज्ञता व्यक्त गरौँ । फोटो खिच्ने, प्रचार गर्ने होइन ।
सहयोगमा समस्या
धेरैपटक हामीसँग पालिकाप्रमुख र वडाअध्यक्षहरू विरोधमा आउनुभयो । एकद्वार प्रणालीबाट गर्ने भनेर सहयोग रोक्न पनि खोज्नुभयो । हामीले यो बुझायौँ कि एकद्वार नीति सही हो तर हामीले राहत उठाएर, डोनेसन ल्याएर बाँडेका होइनौं । एउटा छिमेकीको घरमा समस्या हुँदा अर्को छिमेकीलाई सहयोगको निम्ति अभिप्रेरित मात्र गरेका हौं । पहिला धेरै वडाध्यक्षले बुझ्नुभएन र हामी त्यसरी जाँदा अवरोध गर्नुभयो तर पछि उहाँहरू आफैले लौ न मेरो वडामा यति परिवारले खानै पाएका छैनन् भनेर सम्पर्क गर्न थाल्नुभयो ।
एकपटक झापाबाट खान पाइन भन्दै फोन आयो । लगत्तै एकजना म सहयोग गर्छु भनेर लाइभमै आउनुभयो । उहाँलाई स्थानीय पालिकाप्रमुखले राजनीतिक कारण हो या अन्य कारणले रोकावट गर्नुभयो । हामीले पालिकाप्रमुखलाई नै सम्पर्कमा ल्याएर हाम्रो अभियान यस्तो हो । यसरी सहयोग गर्दा तपाईंलाई सोध्नुपर्छ र भन्दा उहाँले हो, नसोधी कहाँ खान पाइन्छ भन्न थाल्नुभयो । त्यो लाइभ प्रशारण भएका कारण उहाँको व्यापक आलोचना भयो । त्यतिखेर हामीले स्थानीय तहहरूको दम्भ र अहंकारसँग पनि जुध्न पर्यो । तर अहिले थुप्रै पालिकाप्रमुखले हामीसँग सहकार्य गरिरहनुभएको छ । मेरो व्यक्तिगत कुरा भन्ने हो भने पत्रकारिता केवल तलवका लागि गर्ने पेसा होइन रहेछ । मैले यहाँ जागिरमात्र खाइराखेको छैन, पत्रकारिताको व्यवसायिक धर्मअन्तर्गत सामाजिक उत्तरदायित्व पनि वहन गरिरहेको छु । समाजलाई योगदान गरिरहँदा मलाई छुट्टै तलव चाहिन्छ भनेर दावी गरेको छैन र गर्दिन पनि । यदि म यही पेसामा मात्र निर्भर रहेको भए त्यो आवश्यकता पनि पथ्र्यो होला तर म यसमा मात्र निर्भर छैन । नियमित तलव पाइरहेको छु । यसबीच खाना र आरामका लागि समय व्यवस्थापनमै धेरै समस्या भयो । सब्क्रमणको जोखिम पनि उत्तिकै । कथमंकदाचित सब्क्रमण भएको भए पर्याप्त प्रोटिनयुक्त खाना, व्यायाम र आराम चाहिन्थ्यो । यद्यपि यी सबै कुराको पर्वाह नगरी यो विषम परिस्थितिमा पनि खटेर काम गरिरहेकै छौँ । कार्यालय आउजाउमा प्रेस पास वा अन्य झन्झट भने छैन । निजी सवारी प्रयोग गरेको छु । अन्य सहकर्मीको हकमा निजी साधन नभएकालाई कार्यालयले व्यवस्थापन गरेको छ । काम गर्दै जाँदा कतिपय समस्या आउँछन् । मेरै कार्यक्रमको बिषयलाई लिएर उजुरी र गुनासा आएका छन् । प्रेस काउन्सिल नेपालबाट पत्र काटिएको पनि छ । हामी गल्ती भएको खण्डमा सुधार्न र समन्वय गर्न सधैँ तत्पर छौँ नै । नियतवस गल्ती गर्दैनौं । कतिपय सञ्चारमाध्यम यो लकडाउनसँगै समस्यामा परेका छन् । पत्रकारहरू पनि अप्ठ्यारोमा पर्नुभएको छ र सहयोग गरिएको छ । कतिपय क्रियाशील पत्रकारहरूको परिचय नखुलाएर पनि सहयोग भएको छ । हामीले सहयोगवापत् कुनै चामल पठाउँदा म त यो खान्न, अर्को अलि महंगो मूल्यको खान्छु भन्नुभएको छ र उपलब्ध पनि गराएका छौँ । यतिबेला बिशुद्ध सञ्चारमाध्यममा निर्भर पत्रकारहरूमा समस्या छ । कतिपय सञ्चारमाध्यमले नियमित सुविधा रोकेका छन् । उहाँहरूलाई पनि सक्दो सहयोग जुटाएका छौँ । म आफै पनि यहाँमात्र निर्भर रहेको भए समस्यामा पर्ने थिएँ । हामीले नेपालमा रहेका भारतीय नागरिक र उता रहेका नेपालीहरूलाई विशेष प्राथमिकता दिएर सहयोग ग¥यौँ । कृष्णप्रणामी समाजमार्फत मुम्बईमा रहेका १३० जना नेपाली, जो अलपत्र परेर हामीलाई भाइबर कल गरेका थिए, उनीहरूलाई धनीमहाजनहरूको एउटा समूहमार्फत सहयोग गर्यौँ । त्यहाँको होटेलमा काम गर्ने धेरै अर्घाखाँची, गुल्मीतिरका नेपाली हुनुहुँदोरहेछ ।
(नोटः प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको कोरोना कहरमा काउन्सिल बुलेटिनका लागि लक्ष्मी पौडेलले गरेको कुराकानीको सम्पादित अंश हामीले सोही पुस्तकबाट साभार गरेका हौँ ।)








































