– सुवास राई
म…
म कुराको भारी
मेरो मनमा
कुरा हुन्छ नानाथरी ।।
म एकान्तमा हुँदा
झ्यालबाट परपरसम्म
मन डुलाउँछु
घामका किरणहरुमा
कुरा सुकाउँछु
हावाका चालहरुसँगै
कुरा उडाउँछु
रुखका पातहरुमा
कुराकै पिङ्ग खेलाउँछु
नजिकैको पोखरीमा
कुरालाई पौडी खेलाउँछु
अझै के-के गर्छु गर्छु
एकाग्रता नतोडिन्जेलसम्म
म कुरा खेलाइरहन्छु ।
अतितहरु फिँजाएर सुकाउँछु
वर्तमानलाई केलाइ केलाइ
भुस उडाउँछु
भविष्यलाई श्रृङ्गार पटार पारेर
बेहुलीझैं बनाउँछु
मेरा परिवारलाई
आनन्दको संसारमा घुमाउँछु
कैले धनी हुन्छु
कहिले ज्ञानी हुन्छु त
कहिले नामी हुन्छु
शनिबार तन्ना धुँदा
बुढाबुढी मिलिमिली बटारेझैं
मन बटारी बटारी
कुराहरु मनमनै निख्य्राउँछु
कहिले भ्याइँदैन पनि
जे होस् मनभरी कुराहरु छन्
रहर पुगिन्जेल खेलाउँछु ।
एक्लो हुनै हुँदैन
मनमा कुराहरु आइहाल्छ
वर्षातको समयमा मूल फुटेझैं
बसन्तमा पाउला पलाए झैं
टिनेजर्समा माया मौलाए झैं
बिहानीपख असनका गल्लीमा
एकोहोरो भीडभाड बढे झैं
मेरो मनमा कुराहरु आउँछन्
खेल्छन्- तोडिन्छन्
मेरो मनमा
कुरा हुन्छन् नानाथरी ।।