नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्। प्रेस युनियन गठबन्धनका उम्मेदवार पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छन्। अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन्।
महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन बनाएर लडेका थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन्।
जितपछि पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन्। नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए। उनले श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँ कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए।
अध्यक्षमा नेकपा एमालेको ओली समूहनिकट प्रेस चौतारी, जनता समाजवादीनिकट प्रेस मञ्च, विप्लवनिकट जनपत्रकार संघलगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।
अन्तिम नतिजा हेर्नुहोस्