काठमाडौँ २७ असार ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पार्नुभएको छ ।
उहाँले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताउनुभएको हो ।
प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने धारणा राख्नुभयो । “आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ ।” स्रोत साधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उहाँको भनाइ थियो ।
काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ थियो । जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उहाँले बताउनुभयो । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ छ । अब न्युज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उहाँको सुझाव छ । “मिडियामा नआउनुपर्ने समाचार बढी आएको पाइएकाले सम्पादकीय प्रक्रिया पूरा गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।









































