नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता पोष्टबहादुर बोगटी पार्टीका डाक्टर र वैद्यभन्दा राम्रो नेता भएको स्मरण गर्नुभएको छ । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले नेता बोगटी धेरै पढेलेखेको नभए पनि पार्टभित्रका डाक्टर र वैद्यले भन्दा राम्रो काम गरेको बताउनुभयो । ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सँधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अद्भूत क्षमता उनको थियो ।’ उहाँले भन्नुभयो । डा. बाबुराम भट्टराई र मोहन वैद्यप्रति इङ्कित गर्दै उहाँले नेता बोगटी पार्टीमा दुवै नेतालाई मिलाउन सक्ने क्षमता भएका नेता भएको स्मरण गर्नुभयो । उहाँले पार्टीमा स्व. नेता बोगटीको अभाव दर्शाउँदै उहाँका स्वभाव भएका नेताको खाँचो औल्याउनुभयो ।
प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाउनुभयो । उहाँले एकअर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताउनुभयो । ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’ उहाँले भन्नुभयो ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’ ।
उहाँले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास व्यक्त गर्दै बोगटीको सोचलाई पार्टीभित्र फैलाउने बताउनुभयो । ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’ उहाँले भन्नुभयो ।
यसैबिच आज सम्पन्न सातौँ साधारण सभाले नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य, कोषाध्यक्षमा रुद्र ढुङ्गेल र सदस्यहरूमा राममाया बोगटी, ज्ञानु बस्नेत, रामकुमारी चौधरी, रामप्रसाद सापकोटा र रामशरण पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।